
काठमाडौं। २७.९ मेगावाटको मिडल इन्खु जलविद्युत आयोजना निर्माणका लागि ६ अर्ब ४४ करोड रुपैयाँ लाग्ने भएको छ।
विद्युत विकास विभाग प्रवर्द्धक रहेको यो आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ३५ लाख ५० हजार रुपैयाँ रहेको छ। ७० प्रतिशत ऋण र ३० प्रतिशत इक्विटीबाट जुटाउने तयारी छ।
प्रस्तावित आयोजना सोलुखुम्बुको सोताङ गाउँपालिका-२ र माप्य दुधकोसी गाउँपालिका-७ मा निर्माण हुनेछ। आयोजना जलप्रवाहमा आधारित प्रकृतिको रहेको छ।
विभागले सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन (इआइए) तयार भइसकेको छ। विभागले प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइसकेको छ। वन मन्त्रालयले स्वीकृति दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।

सम्भाव्यता अध्ययन अनुसार जलविद्युत आयोजनाको ग्रस हेड ४२३ मिटर रहेको छ। वार्षिक सरदर १६४.११ गिगावाट आवर विद्युतीय ऊर्जा उत्पादन गर्नेछ।
आयोजनामा ८० मिटर लम्बाईको एप्रोभ कल्भर्ट,. ४१४६.३५ मिटरको हेडरेस टनेल र ५ मिटर व्यास भएको सर्ज साफ्ट, ७६० मिटरको पेनस्टक पाइप रहनेछ। आयोजनाबाट उत्पादित विद्युत प्रस्तावित स्वीचयार्डदेखि २५ किमी लम्बाईको १३२ किलोभोल्ट सिंगल सर्किट विद्युत प्रसारणलाइन मार्फत तिङला सबस्टेसन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिनेछ।

सतही खालको विद्युत गृह हुनेछ। आयोजनाको हेडवर्क्स जुँगे गाउँमा र विद्युतगृह चेपेलमा रहनेछ। निर्माण थालेको ४ वर्षमा व्यवसायिक उत्पादन थाल्ने लक्ष्य छ।
आयोजना निर्माणका लागि १७.४१ हेक्टर जग्गा आवश्यक पर्छ। जसमध्ये ११.४१ हेक्टर स्थायी रुपमा र ६ हेक्टर अस्थायी रुपमा प्रयोग गरिनेछ। राष्ट्रिय वनबाट ८.३८ हेक्टर जग्गा प्रयोग गरिनेछ। ९.०३ हेक्टर निजी जग्गा प्रयोग गर्नुपर्छ।