
काठमाडौं। भर्खरैको कुरा हो, स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किदै गरेका तीर्थालु सवार कार दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भयो। यो गत जेठ २९ गते भएको घटना हो।
स्वर्गद्वारी आउजाउमा सवारी दुर्घटना भइरहन्छन्। अकालमा ज्यान गुमाउनेको सूची लामो छ। दुई-चार दिन चर्चा हुन्छ, अनि सबैले बिर्सन्छन्।
आखिर कस्तो छ दाङ-स्वर्गद्वारी सडक? जसका कारण दुर्घटनाको जोखिम कहिल्यै घटेन? चालु आर्थिक वर्षको ११ महिनामा मात्र यस्ता सडक दुर्घटनामा २ हजार २ जनाको मृत्यु भएको छ। दुर्घटनाका कारक के हुन्? जोखिम किन घट्दैन?
स्वर्गद्वारी दर्शनका लागि पुग्नेमा ६० प्रतिशत भारतीय र ४० प्रतिशत नेपाली पर्यटक हुने गरेका छन्। आन्तरिक र बाह्य गरी बर्सेनि करिब ३ लाख पर्यटक स्वर्गद्वारी पुग्ने गरेका छन्। १४/१५ किलोमिटर बाटो असजिलो छ, जसका कारण तीर्थ जानेहरु सकुशल घर फर्किन्छन् भन्नेमा परिवारले ढुक्क मान्न सक्दैनन्।
स्वर्गद्वारी मन्दिर पहाडको टाकुरामा छ, थुम्कोमा वरिपरि जंगल छ। जाने बाटो मोडैमोड भएको उकालो बाटो छ। दुई साता अघि दुर्घटना साँघुरो घुम्तीमा भएको थियो। साँघुरो सडक, उकालो ओरालोमा गति अनियन्त्रित हुँदा कार खसेको प्रहरीको प्रारम्भिक निष्कर्ष थियो।
स्वर्गद्वारी आउजाउको मुख्य सडक इन्जिनियरिङ अध्ययन र मापदण्डबिनै बनाइएकाले जोखिम रहेको प्राविधिक बताउँछन्। उक्त सडक निर्माण गर्दा विस्तृत परियोजना प्रतिवेदन बनाइएको थिएन। गाउँमा पहिले पहिले पैदल हिड्ने सानो गोरेटोलाई विस्तार गरेर पछि गाडी गुड्ने सडकमा रुपान्तरण गरिन्छ। स्वर्गद्वारीको भिंगृ सडकमा त्यही भएको प्राविधिक बताउँछन्।
वडा कार्यालय र गाउँपालिकाले विना अध्ययन डोजर लगाउने चलन यहाँ पनि हावी भएको हो। सडक बनाउने क्षेत्रको ढुंगा-माटोको अवस्था, मोड तथा चल्ने यातायातका साधन आदिको अध्ययन गरेर मात्रै सडक बनाउने योजना कार्यान्वयन नगरेसम्म समस्या नघट्ने विज्ञहरु बताउँछन्।
पूर्वाधार विज्ञ कमलराज पाण्डे नेपालमा धेरै सडकहरु गोरेटोबाट विस्तारित भएको भए पनि दुर्घटनाको जोखिम कम गराउन प्राविधिक अध्ययनलाई बेवास्ता गर्न नहुने बताउँछन्। ९ फीटको कच्ची सडक खुलाएर त्यसैलाई स्तरोन्नति गर्ने क्रममा हाइवेको अवधारणामा परिणत भएका ठाउँ धेरै छन्।

‘हामीले धेरै गोरेटो बाटोलाई सडक बनाएका छौं,’ उनले भने, ‘यस्तो गर्दा स्थानीय तहमा रहेका शाखा सडकहरु निर्माण गर्ने गरिन्छ। न इआइए हुन्छ न त इन्जिनियरिङ, तर त्यही सडक पछि गएर राजमार्गको रुपमा विकास हुँदा मात्र डिजाइनदेखि इआइए गर्ने गरिन्छ। तर आधार भनेको त्यही अगाडि निर्माण गरिएको गोरेटो नै हो।’
पञ्चवर्षीय योजनामा पनि सुरुदेखि नै ९ फिटको सडकलाई फिजिएबल बनाउदै, विस्तार गर्दै लग्ने भनिएको छ। ‘बेस सडकको नै डिजाइन तथा स्पिड लिमिट, सुरक्षाका सबै विषयमा री-डिजाइन गरिएन भने यस्तो समस्या भइरहन्छ,’ पाण्डे भन्छन्।
सुरुमा सडक खोल्दा नै प्राविधिक अध्ययन गरे जोखिम घटाउन सकिन्छ। स्वर्गद्वारी आउजाउको सडकमा त्यसरी ध्यान नपुग्नुले जोखिमपूर्ण बनेको प्राविधिकको भनाइ छ।
स्वर्गद्वारी पुग्न यात्रुले दुईवटा सडक प्रयोग गर्छन्। पूर्व-पश्चिम राजमार्गअन्तर्गत दाङको भालुवाङबाट प्यूठानको भिंगृहुँदै र दाङको घोराहीबाट। भालुवाङबाट करिब ५५ किलोमिटर पक्की सडक हुँदै स्वर्गद्वारीको आधार शिविर (स्वर्गद्वारी गेट) भिंगृमा पुगिन्छ।
भिंगृबाट साढे १३ किलोमिटर उकालो सडक पार गरेपछि धरमपानी बजार पुगिन्छ। यही सडक अहिलेको जोखिमपूर्ण रुट हो। यो सडकलाई २०७४ मा नै सरकारले बजेट विनियोजन गरेर विस्तारसँगै कालोपत्रे गरेको थियो। त्यसअघि यो ट्रयाक मात्र खोलिएको रुट थियो।
यसैगरी, अर्को घोराही-होलेरीबाट स्वर्गद्वारी पुग्न ५६ किलोमिटर यात्रा गर्नुपर्छ। होलेरीसम्मको सडक कालोपत्रे भइसकेको छ।यो सडक अवरुद्ध हुने भएकाले धेरैजसो पर्यटक भालुवाङ-भिंगृ सडकलाई नै रोज्छन्। भिंगृबाट जाने सडक कालोपत्रे भएपछि करिब ९० प्रतिशत तीर्थयात्री यही रुट भएर स्वर्गद्वारी पुग्छन्।

उक्त खण्डमा स्वर्गद्वारीतर्फ जाँदा उकालोसहितको घुम्ती पर्छ, फर्किँदा ओरालो घुम्ती। सानो असावधानी पनि दुर्घटनाको कारक हुने गरेको छ। स्वर्गद्वारीमा बर्सेनि हुँदै आएका दुर्घटनाको मुख्य कारक सडकलाई मानिए पनि सजिलो बनाउन जनप्रतिनिधिसँगै सम्बद्ध निकायको ध्यान गएको छैन।
सडक डिभिजन प्यूठानका प्रमुख राजीव श्रेष्ठका अनुसार यो सडक निर्माण गर्दा नै समस्या थियो। इआइए र इन्जिनियरिङ नभएको र जोखिमपूर्ण तरिकाले निर्माण गरिएको उनले बताए। ‘हिजोआज भूबनोट हेरेर सडकको डिजाइन र निर्माणको काम हुन्छ। यस्तो प्राविधिक उपाय सुरु हुनुअघि नै स्वर्गद्वारीको सडक बनेको हो,’ उनले भने, ‘चलेकै सडकलाई सामान्य विस्तार गरेर काम चलाइएको छ।’
यसलाई राजमार्गमा जोड्ने सडकहरु भने राम्रो इन्जिनियरिङ गरेर बनाइएको उनले बताए। ‘१४ किलोमिटर ठाडो उकालो सडकमा मात्र समस्या हो,’ उनले भने। उक्त सडक हाइ ग्रेडिङमा निर्माण गरिएको छ। ‘सडक सानो छ, माथिबाट आउने गाडीका चालकले टर्निङ लिँदा तलबाट आउने गाडी नै देख्तैनन्,’ उनले भने, ‘किनभने माथि जानेका लागि एकनासको उकालो मात्र र तलतिर जाने गाडीहरुको लागि एकनास १४ किलोमिटर ओरालो मात्र छ। यो सडक हेर्दा गोरेटो वा ट्रेकिङ ट्रेल जस्तो देखिन्छ। मोडहरु कति हो कति।’
यो रुटमा तलबाट भारतीय धेरै आउँछन्। उनीहरुलाई यो सडक जोखिमपूर्ण छ भनेर थाहा नहुँदा पनि दुर्घटनामा पर्ने गरेको श्रेष्ठ बताउँछन्। स्थानीय गाडीचालकहरुले भने यो रुट बुझेका छन्।
बारम्बार दुर्घटना भइरहँदा अहिले यो सडकलाई कसरी सुरक्षित बनाउने भन्ने बहस छ। ‘यो सडक अहिले पनि अलपत्र छ। कुन निकायले हेर्ने भन्ने कुरा अझै टुंगो छैन,’ डिभिजन प्रमुख श्रेष्ठले भने, ‘धेरै दुर्घटना भएको भएर मात्र काम हामीले हेरिरहेका हौं।’