
काठमाडौं। आङछिरिङ शेर्पाको हेलिकोप्टर दुर्घटनामा असामयिक निधनपछि कमजोर बन्दै गएको यती एयरलाइन्सले कम्पनीलाई आर्थिक टेवा दिन नयाँ साझेदार खोजिरहेको छ।
उसले केही व्यवसायिक घरानादेखि उड्डयन क्षेत्रमा लागेकाहरुसम्म कुराकानी गरिरहेको छ।
लामो समयदेखि एकपछि अर्को सम्भावित लगानीकर्तासँग कुराकानी गरिरहेको नयाँ व्यवस्थापनले अहिले ऊर्जा क्षेत्रमा सक्रिय दीपककुमार श्रेष्ठलाई नयाँ साझेदारका रुपमा भित्र्याउन छलफल गरिरहेको छ। उनी एसियन लाइफ इन्स्योरेन्सका अध्यक्ष हुन्।
चाचन र सरावगी समूहको अधिकांश सेयर खरिद गरेर एसियन लाइफको स्वामित्व उनको नियन्त्रणमा आइसकेको छ। व्यक्तिगत नाममा भने उनको सेयर कम देखिन्छ। उनको लगानी केही जलविद्युत कम्पनीमा पनि छ। उनी सेयर लगानीमा पनि सक्रिय छन्।
यती एयरलाइन्सले ४९ प्रतिशत सेयर बिक्री गर्न खोजेको छ। स्रोतहरुका अनुसार सेयर खरिदबिक्रीका लागि भएको कुराकानी निकै सकारात्मक छ। अन्य कुनै व्यवधान नआए चाँडै नै सम्झौता हुनसक्छ। दुवैबीच सहकार्य गर्ने मोटामोटी सहमति भएको छ तर मूल्यको विषय भने टुंग्याउन बाँकी रहेको स्रोतहरुको भनाइ छ।
यती एयरलाइन्स ऋणले थलिँदै गएको छ। घट्दो व्यापार र बढ्दो ब्याजको भारीका कारण समस्यातिर यती एयरलाइन्स गएको छ। उसलाई ऋण घटाउन पनि बैंकहरुले ताकेता गरिरहेका छन्।
आधा दर्जन बैंकको सहवित्तीयकरणमा करिब ६ अर्ब रुपैयाँ हाराहारी ऋण छ। यसबाहेक विभिन्न परियोजनका लागि समूहले छुट्टाछुट्टै बैंकबाट पनि ऋण लिएको छ।
गत माघमा ७२ सिट क्षमताको एटीआर विमान पोखरामा दुर्घटना भएपछि यती एयरलाइन्सको व्यापार निरन्तर घटिरहेको छ। त्यो दुर्घटनाले यतीको समग्र हवाई सेवा व्यवसाय प्रभावित भएको थियो। अझै व्यापार लयमा फर्किसकेको छैन। अन्य विमानहरुको व्यापारमा पनि कमी आएको कम्पनीको वित्तीय तथ्यांकले देखाउँछ।
यती एयरलाइन्सको सेयर बिक्री (डाइभेस्ट) का लागि समूहले बैंकहरुसँग पनि कुराकानी गरेको थियो। यतीका सञ्चालक सोनमका नजिकका केही व्यवसायीले पनि सम्भावित खरिदकर्ताहरुसँग कुराकानी गरिदिएका थिए। तर, यती सञ्चालकहरुले ‘जातीयता’ लाई केन्द्रमा राख्दा त्यो ‘डिल’ अगाडि बढ्न सकेन। अहिले श्रेष्ठसँग भने यती सञ्चालक लचक छन्।

कम्पनीको सुरुआत लाक्पा सोनाम शेर्पा र स्वर्गीय आङछिरिङ शेर्पाले गरेका थिए। लाक्पा सोनाम शेर्पा कम्पनीको अध्यक्ष हुन् भने आङछिरिङकी श्रीमती चन्दा शेर्पा प्रबन्ध निर्देशक हुन्।
आङछिरिङको निधनपछि पारिवारिक रुपमा पनि केही समस्या देखिएको स्रोतहरुको दाबी छ।
कम्पनीको पछिल्लो क्रेडिट रेटिङ अनुसार सन् २०२१/२२ को नौ महिनामा २ अर्ब ७४ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो। कम्पनीले त्यो समयमा पाँचवटा एटीआर ७२-५०० जहाजको हवाई सेवाबाट यो रकम बराबरको कारोबार भएको थियो। २०२१ मा कम्पनीले १ अर्ब ३९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो।
२०२० मा कम्पनीले २ अर्ब ६६ करोड, २०१९ मा ३ अर्ब ४३ करोड र २०१८ मा ३ अर्ब १३ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो। आङछिरिङको निधन २०७५ फागुनमा भएको थियो। उनको निधनपछि नै यतीको कारोबारमा निरन्तर गिरावट छ। यद्यपि यो बीचमा कोभिड-१९ को महामारी पनि सुरु भएको थियो। महामारी हटेपछि पनि हवाई सेवा व्यापारमा केही सुधार भए पनि यतीको कारोबार पुरानै लयमा भने फर्किन सकेको थिएन।
क्रेडिट रेटिङ इक्रा नेपालका अनुसार दुई वर्षअघि यतीको हवाई बजारमा हिस्सा २५ प्रतिशत थियो। त्यसयताको तथ्यांक भने सार्वजनिक भएको छैन।