
काठमाडौं। नेपालमा कति थरीका कफी उत्पादन र बिक्री हुन्छन् ? गुणस्तरीय उत्पादनसँगै निर्यात बढाएर आम्दानी राम्रो लिन केके गर्ने ? यी प्रश्नमाथि आगामी शनिबारदेखि काठमाडौंमा बहस चल्दैछ। सँगै कफी प्रदर्शनी पनि हुँदैछ।
नेपाल कफी व्यवसायी महासंघले काठमाडौंमा राष्ट्रिय कफी सम्मेलन तथा प्रदर्शनी २०८० आयोजना गर्ने भएको हो। असार २ देखि ५ गतेसम्म नयाँ बजारस्थित सासा बैंक्वेट चल्ने सम्मेलनमा कफी उत्पादकदेखि व्यवसायी र उपभोक्तासम्मको सहभागिता रहने छ।
महासंघले तीन दिने सम्मेलनलाई कृषि तथा पशुपक्षी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल चिया तथा कफी विकास बोर्ड, अन्तर्राष्ट्रिय ट्रेड सेन्टर र युरोपियन युनियनको सहकार्यमा आयोजना गर्न लागेको हो।
सम्मेलनमा ४० भन्दा बढी कफी प्रदर्शकहरूको सहभागिता रहने छ भने राष्ट्रिय लाट्टे आर्ट च्याम्पियनसिप, राष्ट्रिय कपिङ प्रतियोगिता, राष्ट्रिय बरिस्ता च्याम्पियनसिप र राष्ट्रिय ब्रुइङ च्याम्पियनसिप लगायतको प्रतियोगिता पनि हुने महासंघले जनाएको छ।
सम्मेलनमा हरेक दिन दुई वटा प्यानल बहस हुनेछन्। पहिलो दिन कफी आयात र निर्यातको वर्तमान अवस्था, चुनौती र अवसरमा र कफी क्षेत्र विकास, प्रवर्द्धन र लगानी मा छलफल हुनेछ भने दोस्रो दिन नीति, ऐन, र वकालत र नयाँ नवीन प्रविधि, अनुसन्धान र बीमामा छलफल हुने छ।
अन्तिम दिन भने स्थानीय सरकार र निजी क्षेत्र बीचको समन्वय र सहयोग, उद्यमी अनुभव, युवा र महिला लक्षित कफी कार्यक्रमको विषयमा वृहत छलफल हुनेछ।
राष्ट्रिय कफी सम्मेलन तथा प्रर्दशनी २०८० ले नेपालको कफी वृद्धिलाई बढावा दिने, स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय मान्यताका लागि बलियो बनाउने र कफी उत्पादनको क्षेत्रलाई प्रवर्द्धन गर्ने महासंघका महासचिव सन्तोष पोखरेलले बताए।
उनले भने, ‘यसले ज्ञान-साझेदारी, सहयोग र नवीनताको लागि अवसरहरु सिर्जना गर्नेछ। सबै सरोकारवालाहरुलाई फाइदा पुर्याउँछ।’