
काठमाडौं। संचालनमा रहेका जहाज मर्मतको ठूलो रकम जुटाउन छाडेर नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी नयाँ जहाज किन्न दौडधुप गरिरहेका छन्। अधिकारीको दौडधुपमा पर्यटनमन्त्री सुदन किरातीले पनि साथ दिएका छन्।
अध्यक्ष अधिकारीसँग ‘होहोमा होहो’ मिलाउँदै पर्यटनमन्त्री किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)सम्मलाई लविङ गरिरहेका छन्।
तर, निगम अध्यक्ष अधिकारीले संचालनमा रहेका जहाजको मर्मतसम्भारका लागि सवा ४ अर्ब रुपैयाँमा न्यारोबडी र वाइडबडी गरी सातवटा इन्जिन ओभरहल एक वर्षभित्रै गर्नुपर्ने समय आइसकेको छ।
निगमका एक प्राविधिक कर्मचारीका अनुसार न्यारोबडी जहाजको तीनवटा इन्जिन ओभरहल मेन्टेनेन्सका लागि १ अर्ब २० करोड रुपैयाँ लाग्छ। एउटा इन्जिन ओभरहलका लागि ४० करोड रुपैयाँ लागत रहेको उनले जानकारी दिए। यसअघि न्यारोबडीको एउटा इन्जिन इजरायलमा लगेर ओभरहल गरिएको थियो।
पछिल्लो समय ओभरहलका लागि जर्मनी पठाइएको जहाजको रकम भुक्तानी गर्न भने बाँकी छ। यसैगरी पाँच वर्ष अगाडि ल्याइएको एयरबसको दुईवटा ब्राण्ड न्यु वाइडबडी जहाजको इन्जिन ओभरहल समय अर्को वर्ष छ। निगमका एक इन्जिनियरका अनुसार एउटा इन्जिन ओभरहल र अतिरिक्त निरीक्षणका लागि डेढ अर्ब रुपैयाँ लाग्छ।
सामान्यतया एयरबसको वाइडबडी जहाज ‘३३०’ को एउटा इन्जिनमा १८०००-२३००० घण्टा उडान क्षमता हुन्छ। रोल्सरोयस अन्तर्गत ट्रेन्ट इन्जिन क्षमता तुलनात्मक रुपमा उच्च हुन्छ।
निगमको दुईवटा वाइडबडी जहाजको चारवटा इन्जिन १२ हजार घण्टा उडान गरिसकेको छ। ‘पहिला इन्जिन र ल्याण्डिङ गियरको छुट्टाछुट्टै गन्ती हुन्थ्यो। तर अहिले एक पटकको उडान र अवतरण बराबर एक साइकलको गन्ती हुन्छ,’ निगमका ती इन्जिनियरले भने,’जस्तै चार घण्टा उडान दुरी रहेको काठमाडौं-दिल्ली-काठमाडौंको एक साइकल गन्ती हुन्छ। यसैगरी काठमाडौं-नारिता-काठमाडौं १४ घण्टा उडान दुरी बराबर एक साइकल गन्ती हुन्छ।’
जहाजको क्षमता अनुसार लामो दुरीको उडान नै कम हुँदा उडान साइकल अनुसार उडान समय निकै कम देखिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार यतिखेर दुईवटा वाइडबडीको चारैवटा इन्जिनले ३२ सय उडान साइकल पार गरिसकेको छ।
‘हाम्रो अधिकांश सेक्टर छोटो दुरीको छ। अहिले फ्लाइङ आवर र साइकलको आधारमा ओभरहल गर्ने समय आइसकेको छ। यो साइकलका आधारमा यतिखेर जहाजको इन्जिनले २० हजार घण्टा भन्दा बढी उडान गरिसक्नुपर्ने थियो,’ उनले भने,’तर यो हुन सकेको छैन।’
दिल्ली, बैंकक लगायत छोटो गन्तव्यमा उडान गरिएको कारण साइकल छिट्टै वृद्धि भएको उनले जानकारी दिए। सामान्यतया यो क्षमताको जहाजले प्रति वर्ष ४००० घण्टा उडान क्षमता राखेको छ। पाँच वर्ष अगाडि खरिद गरिएको जहाजले हालसम्म २० हजार घण्टा भन्दा बढी उडान गर्नुपर्नेमा करिब ५० प्रतिशत भन्दा कम क्षमतामा उडान गरेको छ।
एमआरओ नियुक्तिमा ढिलाइ
प्रत्येक पाँच-पाँच वर्षमा हुनुपर्ने ओभरहल मेन्टिनेन्सका लागि आवश्यक एमआरओ गठनका लागि निगम व्यवस्थापन गैरजिम्मेवार देखिएको छ। केही समयअघि दोहामा एउटा न्यारोबडी जहाज ५२ दिनसम्म ग्राउण्डेड भयो। त्यतिबेला नै एमआरओ नियुक्त गर्नुपर्थ्यो।
जहाज ५२ दिन ग्राउण्डेड गराएर दैनिक ७ लाख रुपैयाँ तिर्नुपरेको थियो। एमआरओ नहुँदा ओभरहलको ४० करोडसँगै लिजवापतको दोहोरो खर्च पनि ब्योहोर्नुपर्यो।
इन्जिन लिज र एमआरओबीच के फरक छ ?
इन्जिन ओभरहलका लागि एमआरओको टेण्डर गरिन्छ। टेण्डर गरेर बिडीङबाट छनोट भएको कम्पनीले जहाज बिग्रिएको जुनसुकै स्थितिमा पनि मर्मत गर्नैपर्छ। यसका लागि ८ महिनाअघि नै थाल्नुपर्ने प्रक्रियाप्रति निगमले चासो नदेखाएको हो।
एमआरओ खडा गर्दा इन्जिन लिजको झन्झटसँगै दोहोरो खर्च नहुने स्रोतले जनाएको छ। निगम अन्तर्गत जहाज स्वामित्व र जहाज मर्मतसम्भार गरी दुईवटा विभाग छन्। कन्टिन्यु एयर वर्दिनेस म्यानेजमेन्ट सिस्टमले जहाजको एओसी, उडान अनुमति दिने काम गर्छ। अर्को विभागले मर्मत सम्भारको काम गर्ने हो। एमआरओ खडा गर्नका लागिस निगमअन्तर्गत कन्टिन्यु एयर वर्दिनेस म्यानेजमेन्ट डिपार्टमेन्टको भूमिका रहे पनि नेतृत्वकै कारण प्रक्रिया अगाडि बढ्न नसकेको स्रोतले जनायो।
‘यतिखेर एमआरओ नहुँदा सुरुमा इन्जिन मर्मतसम्भार गर्नका लागि टेण्डर आह्वान गर्नुपर्ने देखिएको छ। यसपछिको प्रक्रिया इन्जिन लिजमा र इन्जिन परिवर्तन गर्नुपर्ने हुन्छ। तर, एमआरओ ल्याउँदा सबै उसको जिम्मा हुन्थ्यो,’ स्रोतले भन्यो,’तर फितलो नेतृत्वका कारण सहज बाटो अपनाइएन।