
काठमाडौं। आन्तरिक हवाई उडानमा बुद्ध एयरको बर्चस्व झन् बढ्दै गएको देखिएको छ। आन्तरिक उडानमा रहेका अरु कम्पनीलाई धेरै पछि छाड्दै बुद्धको व्यापार आकासिएको छ।
फिक्सविङ्सतर्फ बुद्धवाहेक यती, श्री, सौर्य, सीता, समीट र नेपाल वायुसेवा निगमले उडान गर्छन्। अरु कम्पनीको व्यापार घटेको देखिन्छ भनेसँगै बुद्धको व्यापारमा भने उछाल देखिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले मे महिनामा तयार पारेको तथ्यांक अनुसार फिक्सविङ्समा बुद्धले ४ हजार ७५ उडान गरेर २ लाख २९ हजार ५ सय ५२ यात्रु बोकेको छ।
बुद्धपछि धेरै उडान गर्ने यतीले महिनाभरीमा १२ सय ३४ उडान गरेर जम्मा ६८ हजार ७ सय १० यात्रु मात्रै बोकेको छ। विमानस्थल स्रोतका अनुसार यतीको पोखरामा एटीआर जहाज दुर्घटनापछि बुद्धमा यात्रा गर्ने झन् ओइरिएका छन्।
‘बुद्धको बर्चस्व रहेको धेरै भइसकेको छ। तर यतीको पोखरामा जहाज दुर्घटनापछि बुद्धमा यात्रु झन् ओइरिए,’ विमानस्थलका एक कर्मचारीले भने, ‘त्यो दुर्घटनाले यती धेरै ठूलो समस्यामा परेको छ।’ यतीपछि तेस्रोमा श्री एयरलाइन्सको हिस्सा छ। विस्तारै श्री एयरलाइन्सले आफ्नो बजार विस्तार गरिरहेको छ। श्रीले मे महिनामा ८ सय ९१ उडान गरेर ५५ हजार ८ सय ५२ जना यात्रु बोकेको छ।
चौथोमा रहेको सौर्य एयरलाइन्सले जम्मा ३ सय १० उडान गरेर १३ हजार ३ सय १२ यात्रु बोकेको छ। रोटरविङतर्फ एयर डाइनेष्टीको व्यापार सबैभन्दा बढी छ। यो हेलिकोप्टरले एक महिनामा ३ सय २९ उडान गरेर ११ सय १० यात्रु बोकेको छ। दोस्रोमा कैलाश हेलिकोप्टरले १ हजार १० यात्रु बोकेको छ। एक महिनाको अवधिमा ३ लाख ८३ हजार ९ सय ८९ यात्रुले आन्तरिक हवाईमा उडान गरेका छन्।
कुन कम्पनीले कति यात्रुलाई दिए सेवा ?
वायुसेवा कम्पनीको नाम | उडान-अवतरण संख्या | यात्रु संख्या |
अल्टिच्युड एयर | २०९ | ७५३ |
एयर डाइनेष्टी | ३२९ | १११० |
अन्नपूर्ण हेलिकोप्टर | १११ | ४०२ |
बुद्ध एयर | ४०७५ | २२९५५२ |
फिस्टेल एयर | २२९ | ७०१ |
हेलि एभरेष्ट | १८३ | ५६४ |
कैलाश हेलिकोप्टर | ३५६ | १०७० |
मनाङ एयर | १९० | ६९० |
माउन्टेन हेलिकोप्टर | १६० | ५७१ |
प्रभु हेलिकोप्टर | १२३ | ३९८ |
मुस्ताङ हेलिकोप्टर | ५४ | १३१ |
नेपाल एयरलाइन्स | ७० | ७७५ |
यती एयरलाइन्स | १२३४ | ६८७१० |
सौर्य एयरलाइन्स | ३१० | १३३१२ |
श्री हेलिकोप्टर | १२० | ५०६ |
श्री एयरलाइन्स | ८९१ | ५५८५२ |
सिम्रिक एयर | १३९ | ४९८ |
समीट एयर | २०३ | २८५२ |
सीता एयर | २६२ | २८२२ |
तारा एयर | २०६ | २७२० |
आन्तरिक उडान अन्तर्गत सुगम गन्तब्यमा नेपाल र भारतीय पर्यटकको सहभागिता रहेको वायुसेवा कम्पनीले जनाएका छन्।
हिमाल आरोहीको संख्या वृद्धि भएसँगै सिजनमा हेलिकोप्टर उडानको माग पनि उल्लेख्य रुपमा वृद्धि भएको उनीहरुले बताए। मे महिनामा हवाई मार्गबाट ७८ हजार भन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका थिए।