
विराटनगर। इन्डोनेसियामा यो वर्ष सुपारीको मूल्य टनमै १४ सय डलर घटेको छ। इन्डोनेसियाबाट आर्थिक वर्ष २०७७/७८ मा एक टन सुपारीको निर्यात मूल्य २३ सय डलर थियो।
अहिले घटेर ९ सय डलरमा झरेको छ। सुपारीको भाउ घटेपछि व्यवसायीले आयात खोल्न माग गरेका छन्। इन्डोनेसियाबाट सुपारी नेपाल ल्याएर भारत निकासी गर्दा हुने मुनाफा देखेर आयात खोल्न व्यवसायीले माग गरेका हुन्।
भन्सार विन्दुमा अहिलेकै महसुल तिरेर यो सुपारी नेपालमा भित्र्याउने हो भने व्यवसायीका गोदाममा आइपुग्दा एक किलो सुपारीको मूल्य बढीमा ४ सय रुपैयाँ पर्छ। अहिले पनि व्यवसायीले सुपारी आयातमा इन्ट्रेस्ट देखाउनुमा भारतसँगको भन्सार दर कम हुनु हो।
उता भारतमा एक किलो सुपारीको बजार मूल्य भारु ४ सय अर्थात् नेरु ६४० रुपैयाँ छ। यही अन्तरका कारण इन्डोनेसियाबाट अहिलेको महँगो महसुल तिरेर पनि व्यवसायीले सुपारीको आयात गर्न पाए भने नोक्सान हुने स्थिति छैन। सुपारीको मुख्य खरिदकर्ता र उपभोक्ता रहेको पाकिस्तानमा यो वर्ष आर्थिक मन्दी र चरम गरिबीका कारण सुपारीको आयात नगण्य छ। भारत सुपारीमा आफू आत्मनिर्भर भएको दाबी गरिरहेको छ।
यसका साथै भारतमा सुपारी आयात गर्दा चर्को महसुल छ। भारत सरकारले आफ्ना किसानलाई संरक्षण गर्न सुपारीको आयातमा राजस्वको चर्को दर निर्धारण गरेको हो। भारतमा सुपारीको भन्सार मूल्यांकन प्रति टन २६ सय डलर छ। यसमा ११० प्रतिशत भन्सार महसुल र ५ प्रतिशत जीएसटी छ। यही चर्को शुल्कका कारण भारतका व्यवसायी इन्डोनेसियाबाट सुपारीको आयात गरिरहेका छैनन्।
सुपारीको अर्को मुख्य खरिदकर्ता नेपालमा पनि विगत ३ वर्षदेखि यसको आयातमा परिमाणात्मक बन्देज लगाइएको छ। साथै सरकारले कोटा वितरण पनि गरेको छैन। यसैका कारण इन्डोनेसियामा यस वर्ष ऐतिहासिक रूपमा सुपारीको मूल्यमा ह्रास आएको हो।
व्यवसायीका अनुसार इन्डोनेसियामा एक टन सुपारीको निर्यातमूल्य सीआइएफ कोलकाताको ९ सय डलर भनेको एक डलरको १३२ रुपैयाँ ५० पैसाका दरले १ लाख १९ हजार २५० रुपैयाँ हो। यस हिसाबले एक किलो सुपारीको मूल्य ११९ रुपैयाँ २५ पैसा हुन्छ।
यो सुपारी आयात गर्दा भन्सार विन्दुमा भन्सार महसुल किलोको १०० रुपैयाँ, अन्तःशुल्क १०० रुपैयाँ र भ्याट १३ प्रतिशत तिर्नुपर्छ। यो महसुल दर पूर्व अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेटमा निर्धारण गरेका थिए। यसअघि सुपारीको आयात शुल्क प्रति किलोमा भन्सार महसुल ४५ रुपैयाँ अन्तःशुल्क २५ रुपैयाँ र भ्याट थियो।
शर्माले यही दरलाई वृद्धि गरेका थिए। व्यवसायीका अनुसार एक किलो सुपारीको आयात गर्दा भन्सार विन्दुमा कुल २२८ रुपैयाँ महसुल तिर्नुपर्ने देखिन्छ। प्रति किलो १ सय रुपैयाँ भन्सार महसुल, १ सय रुपैयाँ अन्तःशुल्क र १३ प्रतिशत भ्याटको हिसाबले २२८ पर्ने देखिएको हो। सिधा हिसाब गर्दा २२६ पर्न आउँछ।
तर भन्सार कार्यालयले कोलकाता बन्दरगाहदेखि नेपालको भन्सारविन्दुसम्मको ढुवानी खर्च र वीमाको रकममा पनि मूअकर लिन्छ। त्यसैले भ्याटको रकम २६ का सट्टा २८ रुपैयाँ हुन आउँछ। यसबाहेक १ किलो सुपारीको कोलकातादेखि नेपालसम्मको ढुवानी खर्च, आयकर, भन्सार दस्तुरी र अन्य फुटकर खर्च गरी थप ४० रुपैयाँको खर्च छ।
यसप्रकार एक किलो सुपारीलाई इन्डोनेसियामा तिरिएको ११९ रुपैयाँ २५ पैसा, प्रतिकिलो भन्सार विन्दुमा लागेको रकम २२८ र अन्य खर्च थप ४० रुपैयाँसमेत हिसाब गर्दा प्रतिकिलो ३८७ रुपैयाँ २५ पैसामा नेपालका व्यवसायीका गोदाममा आइपुग्ने देखिएको छ। भारतमा यही सुपारीको खुद्रा मूल्य अहिले प्रतिकिलो ६४० रुपैयाँ छ।
यसरी प्रतिकिलो २४० रुपैयाँको नाफा देखेपछि व्यवसायीहरू सुपारीको आयातका लागि कोटा लिन लामो समयदेखि प्रयासरत छन्। यो प्रयास गत मंसिरमा सम्पन्न आमनिर्वाचनभन्दा पहिलेदेखिकै हो। मंसिरको आमनिर्वाचनभन्दा पहिले आरजु देउवाले वाणिज्य मन्त्रालयमा सुपारीको कोटा वितरण गर्न दबाब दिएकी थिइन्। तर त्यस बेलाका वाणिज्य सचिव तोयम रायाले कोटामा हस्ताक्षर नगर्ने अड्डी लिएपछि सुपारी गिरोहको प्रयास विफल भएको थियो।
स्रोतका अनुसार सुपारी कारोबारीले अझै पनि कोसिस गरिरहेका छन्। उनीहरू अहिले पनि सुपारीको कोटा लिन विभिन्न शक्तिकेन्द्रमा धाइरहेकै छन्। तर कोटाको स्वीकृतिका लागि यसपटक पनि वाणिज्य सचिव नै बाधक देखिएका छन्। अहिलेका वाणिज्य सचिव मधुकुमार मरासिनी आफू कुनै हालतमा सुपारीको कोटामा हस्ताक्षर नगर्ने अडान लिएका छन्। सुपारीको आयात नै गर्नु छ भने ओजीएल (खुला आयात प्रणाली) अन्तर्गत गर्नुपर्छ, कोटाबाट होइन भन्ने अडानमा उनी देखिएका छन्।
कोटाको दौडमा नलागेका व्यवसायी भने सुपारीको आयातलाई ओजीएल नै गर्नुपर्छ भन्ने पक्षमा छन्। मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवम् आयातकर्ता खेमचन्द जैनले सरकारले सुपारीको आयातका लागि कोटा वितरण नगरी ओजीएलको नीति जारी गर्नुपर्ने आग्रह गरे।
व्यवसायी जैनका अनुसार सरकारले सुपारीको आयातमा ओजीएल गरेमा सरकारलाई ६ सय सय करोडभन्दा बढी राजस्व संकलन हुनेछ।
‘सरकारले ओजीएल गर्दा पनि नेपालमा आयात हुने सुपारी २५ हजार टन नै हो,’ उनले भने, ‘एक किलो सुपारीको आयात गर्दा भन्सार विन्दुमा २२८ रुपैयाँ राजस्व तिर्दा २५ हजार टनमा ५७० करोड रुपैयाँ तिर्नुपर्छ। यसबाहेक सुपारीको कारोबारपछि व्यवसायीले ४० करोडभन्दा बढी आयकर बुझाउँछन्। यसरी २५ हजार टन सुपारीमा ६१० करोड राजस्व प्राप्त हुने सिधा हिसाब छ।’