झण्डै ३५ अर्ब लागतमा बन्ने बुटवल-गोरुसिङ्गे- चनौटा सडक निर्माणको काम शुभारम्भ

बिजमाण्डू
२०८० जेठ २८ गते १८:४१ | Jun 11, 2023
झण्डै ३५ अर्ब लागतमा बन्ने बुटवल-गोरुसिङ्गे- चनौटा सडक निर्माणको काम शुभारम्भ


काठमाडौं। पूर्व-पश्चिम राजमार्गको बुटवल-गोरूसिङगे- चनौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नतिको शुभारम्भ भएको छ।

Tata
GBIME
NLIC

आइतबार विश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) मा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र विश्व बैंकका दक्षिण एसिया क्षेत्रीय उपाध्यक्ष मार्टिनज राइजरले यो आयोजनाको शुभारम्भ गरेका हुन्।

आयोजनाको लागत २७ करोड ५० लाख डलर अर्थात आजको रेटमा लगभग ३५ अर्ब रुपैयाँ हो। यो आयोजनाले नेपालमा छानिएका व्यापारिक कोरिडोरमा व्यापार, यातायात लागत र पारवहन समय घटाएर व्यापार र आवद्धता सुधार गर्ने विश्व बैंकले जनाएको छ।

यसको सन् २०२२ सेप्टेम्बर १८ मा नेपाल सरकार र विश्व बैंकबीच हस्ताक्षर भएको थियो। यसमा नेपाल करिब ४ अर्ब लगानी हुनेछ। र, बाँकी सबै विश्व बैंकले ब्योहोर्नेछ।

कार्यक्रममा मन्त्री ज्वालाले नेपालमा उत्थानशील पूर्वाधारको विकासमा यो आयोजनाले सहयोग गर्ने बताए। आयोजनाबाट नेपालका विभिन्न प्रदेश र छिमेकी मुलुकसँग यातायात र व्यापार आवद्धता बढाउने भन्दै यसले नयाँ आर्थिक सम्भावनाको ढोका खोल्ने समेत उनले बताए।

दुई लेनमा रहेको पूर्व- पश्चिम राजमार्गलाई अहिले धमाधम स्तरोन्नति गर्ने काम भइरहेको छ। यसबाट सडकमा यात्रा गर्ने समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ। जसका कारण भारतको पश्चिमी बन्दरगाहसम्म नेपालको पहुँच सहज हुने छ।

अहिलेसम्म परामर्शदाता नियुक्ति चलिरहेको र ठेक्का आह्वान प्रक्रिया अगाडि बढेको विकास सहायता कार्यान्वयन महाशाखाका सीडीइ त्रिलोकनाथ घिमिरेले बताए।

बंगलादेश-भुटान-भारत-नेपाल सडकअन्तर्गत महेन्द्र राजमार्गमा पनि पर्ने यो सडक खण्ड यसभन्दा अघि पनि विश्व बैंककै ऋण सहुलियतमा निर्माण भएको थियो। हाल यही सडकलाई विश्व बैंकको सहयोगमा विस्तार गर्न लागिएको हो। आयोजनामा पार्क लगायत सहरी विकासका विभिन्न पूर्वाधार पनि सडकसँग निर्माण गर्ने योजना तथा डिजाइन छ।

यो सडक बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेदेखि चनौटासम्म १९ किलोमिटर गरी कुल ६९ किलोमिटरको बनाउने योजना रहेको छ।

बहुवर्षीय योजनाअनुसार यो सडक आयोजनामा निर्माण हुनेछ। यसमा दुईवटा खण्ड रहेका छन्। जसमा एउटा बुटवलदेखि चनौटासम्मको सडक चारलेनमा विस्तार गर्ने र अर्को तिनाउमा सिग्नेचर ब्रिज निर्माण गर्ने रहेको छ।