विश्व प्रसिद्ध ह्यागेन डाज पछ्याउँदै ऋषभले थालेको उद्यम, मल्टिनेशनल बनाउने लक्ष्य

बिजमाण्डू
२०८० जेठ २८ गते १६:१३ | Jun 11, 2023
विश्व प्रसिद्ध ह्यागेन डाज पछ्याउँदै ऋषभले थालेको उद्यम, मल्टिनेशनल बनाउने लक्ष्य


काठमाडौं। ६० वर्षअघि अमेरिका छिरेका दुई पोल्यान्डका आप्रवासीले आइसक्रिमको व्यापारमा केही प्रयोग गर्ने निर्णय गरे। सन् १९१२ मा एक्ली आमासँग न्युयोर्क आएका रुबेन म्याटस १० वर्षको उमेरदेखि ब्रुकलिनमा इटालियन लेमन-आइस व्यवसाय गर्दै आएका आफ्ना काकालाई सघाउँथे।

Tata
GBIME
NLIC

 सन् १९२० दशकको अन्तसम्म, रुबेन र उनकी आमा मिलेर आइस पप बनाउन थालिसकेका थिए। समयसँगै परिवारले चकलेट आइसक्रिम बार, स्यान्डविच सिनेटर फ्रोजन प्रोडक्ट्सको नामले ब्रोन्क्समा बग्गी (घोडाले तानेको ठेला)बाट बेच्न थाले। 

व्यापारले गति लियो, आइसक्रिममा उनीहरुले गरेको प्रयोग फाइदामा रह्यो। नाफामा रहेको उनीहरुको कम्पनी सेनेटर फ्रोजन प्रोडक्ट्सलाई सन् १९५० को दशकमा भने चुनौती आयो। ठूला उत्पादकहरूले सस्तो मूल्यमा आइसक्रिम बजारमा उपलब्ध गराउन सुरु गरे। बजार राम्रो देखेका कम्पनीबीच ‘प्राइसवार’ चल्यो। यसका बावजुद रुबेन र उनकी पत्नी रोज म्याटसले हाइ एण्ड हेवी आइसक्रिम बनाउने निर्णय गरे। सन् १९५९ मा यो जोडीले विश्वबजारमा ह्यागेन डाज आइसक्रिम लिएर आयो।

गुणस्तरीय सामाग्री प्रयोग गरेर बजारमा ल्याएको आइसक्रिमले आफ्नै किसिमका पारखी बनायो। भेनिला, चक्लेट र कफी गरी तीनवटा मात्रै फ्लेवरबाट सुरू भएको थियो ह्यागेन डाज ब्रान्ड। अहिले यसले संसारभर ९०० भन्दा बढी ठाउँमा पारखीलाई २४ फ्लेवरको आइसक्रिम चखाउँदै आएको छ। 

विश्व चर्चित ह्यागेन डाज आइसक्रिमको कथासँग केही मिल्दोजुल्दो छ, एक वर्षअघि मात्र काठमाडौँमा सुरू भएको आइसक्रिम ब्राण्ड सिल्क आर्टिसनल क्रिमरीको। देश, व्यक्ति र पुष्ठभूमि केही फरक भए पनि ह्यागेन डाजलाई पछ्याउँदै एक नेपाली युवाले उद्यम सुरु गरेका छन्।

सिल्क अर्टिस्नल क्रिमरीलाई २७ वर्षीय ऋषभ अग्रवालले रुबेन र रोज म्याटसले जस्तै नेपाली आइसक्रिम बजारमा नयाँ लक्जरी सिर्जना गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याएका हुन्। 

गत वर्ष मात्रै सुरू भएको यो ब्राण्ड आइसक्रिमका पारखीबीच निकै परिचित भइसकेको छ। नेपाली बजारमा उपलब्ध आइसक्रिमहरु अन्तर्राष्ट्रिय स्तरका ब्राण्डका स्वाद, फ्लेवर तथा टेक्स्चरको भेराइटीको नभएको ऋषभलाई महसुस भएपछि उनले त्यसको कमी पुरा गर्न उनले काम थालेका हुन्। 

आफ्नो सिकाईको उपयोग गर्दै‌ उनले एक वर्षदेखि उपत्यकाबासीलाई अन्तर्राष्ट्रिय स्तरको आइसक्रिम चखाउँदै आएका छन्। उनले भन्छन्, ‘सिल्क आइसक्रिमले कुनै पनि अन्तराष्ट्रिय ब्राण्डको स्वाद, टेक्स्चर र गुणस्तरसँग टक्कर दिन सक्नेछ।’

सन् १९५०को दशकमा अमेरिकामा आइसक्रिम कम्पनीहरूबीच छेडिएको पाइसवार जस्तै हाल नेपाली बजारमा पनि हाइ एण्ड आइसक्रिम ब्राण्डददेखि मध्यम आइसक्रिम कम्पनी र डेरीसम्ममा सामग्रीको गुणस्तरमा सम्झौता गर्नुको साथै आइसक्रिममा भारी मात्रामा हावा पम्प गर्ने प्रवृत्ति हावि छ। 

यसैलाई चिर्दै ऋषभलेसन् २०२२ मेमा लाजिम्पाटबाट सिल्क आइसक्रिमको आउटलेट सञ्चालनमा ल्याएका हुन्। अहिले यो आइसक्रिम ब्राण्ड विस्तार भएर झम्सिखेल र सानेपामा पनि सुरू भएको छ। आइसक्रिम पार्लरमा आइसक्रिम स्कुपको मज्जा लिइरहेका ग्राहकहरू दिनहुँ घुँइचो हुन्छ।

आफ्नो आइसक्रिम बजारमा उपलब्ध अरुभन्दा फरक रहेको उनको भनाइ छ। ‘हामीले कुनै पनि प्रोसेस्ड सामाग्री प्रयोग गर्दैनौँ, हरेक सामाग्री रअ नै प्रयोग गर्छौँ। भेनिला इसेन्सको सट्टा युगाण्डाबाट आएको भनिला पड नै प्रयोग गर्छौँ। कम्पाउण्ड चकलेट प्रयोग गर्दैनौँ,’ उनी भन्छन्, ‘आइसक्रिम स्टेबलाइज गर्न ३० प्रतिशत मात्र हावा प्रयोग गर्छौँ। जुन कमर्सियल रूपमा बनाइएको आइसक्रिममा ९० देखि २०० प्रतिशतसम्म हुन्छ।’

ऋषभले मोडेनाको जिलाटेरियामा सिकेको सीपलाई नै उपयोग गरेर जिलाटो (इटालियन आइसक्रिम) जस्तै सिल्की टेक्स्चरको हेवी आइसक्रिम पस्कदै आएका छन्।

‘पाम आयलको प्रयोग गर्दैनौं। हामीले नेपालमा उपलब्ध बेस्ट क्वालिटीको सामाग्री मात्र प्रयोग गर्छौँ। दूध पनि किसानकहाँबाट ल्याइने फ्रेस नै प्रयोग गर्छौँ। त्यसैले पनि हाम्रो आइसक्रिम हेवी र गुणस्तरीय बन्छ,’ उनले थपे।

पारिवारिक व्यवसाय त्यागेर कलिनरी वर्ल्डमा प्रवेश

काठमाडौंको व्यवसायिक मारवाडी परिवारका ऋषभका लागि सबै कुरा पहिले नै तय थियो। कहाँ पढ्ने, के पढ्ने, कति पढ्ने, के काम गर्ने, सबै नै फिक्स्ड जस्तै थियो।

उनले भने, ‘बच्चादेखि नै ठूलो भएर परिवारकै व्यवसाय सम्हाल्नुपर्छ भनेर म हुर्किएँ। त्यसै अनुसार नै मैले प्लस टुमा कमर्स विषय लिए र स्नातकमा बीबीएम गरेँ।

बैंगलोरमा स्नातक गर्दै गर्दा उनीले पहिलो पटक आफ्नो लागि खाना पकाउनु पर्‍यो। ‘त्यहाँबाट मलाइ किचन र विशेषगरी कुकिङमा रुचि बढ्यो। विस्तारै मैले महसुस गरेँ कि म यसमा राम्रो थिएँ। म हरेक हप्ता जस्तो बिदामा साथीहरूलाई खाना बनाएर चखाउँथेँ,’ उनले भने।

समयसँगै कुकिङ उनको लागि सोख बन्यो। सन् २०१६ मा स्नातक सकेर उनी तय भएअनुसार नै नेपाल फर्किए। बाबुको तयारी पोसाकको व्यवसाय हेर्नतिर लागे। सँगै उनी स्नातकोत्तर पनि गर्दै थिए।

काम र पढाइको व्यवस्ताको बीच पनि खाना बनाउने आफ्नो रुचिलाई समय निकालिरहेका हुन्थे। करिब तीन वर्ष जस्तो बुबाको व्यवसायमा व्यवस्ततापछि उनले आफ्नै रहरलाई पछ्याउने निधो गरे। मुम्बईमा कलिनरी आर्टको कोर्स गर्ने निर्णय लिए।

‘मेरो यो निर्णयबाट घरमा कोही पनि खुसी हुनुहुन्थेन, जुन स्वाभाविक पनि थियो। फेमिली बिजनेस छाडेर हलुवाई बन्ने? जस्ता प्रश्‍नहरू पनि आए। तर उहाँहरूले मेरो प्यासन बुझ्नु भयो,’ उनले सुनाए।

त्यहाँ उनले तीन महिनाको कलिनरी कोर्स गरे।’म प्रोफेसनल किचनमा काम गर्न सक्छु कि सक्दिन भनेर हेर्नको लागि पनि मैले त्यो कोर्स ज्वाइन गरेँ। सोखका रूपमा र व्यावसायिक रूपमा खाना पकाउने दुई फरक कुरा हुन्,’ उनले भने।

तर लकडाउनका कारण कोर्स सकिन नपाउँदै उनी घर फर्किने अवस्था आयो। उक्त कोर्स सकाएर भारतकै होटलमा काम गर्ने मनसाय पनि बनिसकेको थियो। तर महामारीले योजना पुरा हुन दिएन। करिब सात महिना उनले घरमा अनलाइनबाट विभिन्न कुकिङमा तालिमहरू लिँदै बिताए।

यो समयसम्म उनले आफ्नो तालिमलाई गति दिन आवश्यक रहेको कुरा बुझिसकेका थिए। त्यसैको लागि उनी नौ महिने कलिनरी आर्ट्समा डिप्लोमा गर्न फ्रान्समा गए। त्यहाँ विश्वचर्चित सेफ एलन दुकासको कलेज एक्वल दुकासमा भर्ना भए।

युरोपको सिकाइ

त्यहाँको सिकाइलाई उनी यसरी वर्णन गर्छन्, ‘हामीलाई रेसिपी कहिल्यै घोटाइएन। विशेषगरी, हरेक सामाग्रीबाट कसरी फ्लेवर कसरी निकाल्ने भनेर सिकाइन्थ्यो।’

कोर्स पुरा गर्न खर्च घरैबाट थियो। तर बस्न-खानका लागि उनले आफैं जोहो गरे। यसका लागि उनले सन्डे इन सोहो नामक पेरिसको क्याफेमा पार्टटाइम काम गरे।

कोर्स पुरा गरेपछि उनले दुई वर्षको अन्तरालमा पेरिस, मड्रिड र मोडनाको विभिन्न चारवटा रेस्टुरेन्टमा काम गर्ने अवसर पाए। मोडनास्थित एक जिलाटेरियामा भने उनले आइसक्रिम बनाउन सिके।

आफ्नो प्रशिक्षण पुरा गरेर उनी गत वर्ष मार्चमा काठमाडौं फर्किए। ‘युरोपबाट फर्केर आउँदा दिमाग केही पनि प्लान थिएन। आएर म क्याफे वा रेस्टुरेन्ट खोल्छु भनेर ठाउँहरू हेर्दै थिएँ। म यो ठाउँ, टुक्की घर रेस्टुरेन्ट हेर्न आएको थिएँ। यो बिक्रीमा थियो। तर भाडा महँगो लाग्यो र कुरा मिलेन,’ उनी भन्छन्।

कुरा गरेर फर्किदै गर्दा उनले हाल यो आइसक्रिम पार्लर भएको ठाउँ खाली रहेको याद गरेँ। देख्‍नेबित्तिकै त्यो ठाँउलाई उनले आइसक्रिम पार्लरका रूपमा कल्पना गरिसकेका थिए। उनी फेरि त्यो स्पेसको बारेमा बुझ्न गए र ठाउँ पाए पनि।

सिल्क अर्टिस्नल क्रिमरीको सुरूवात

आइसक्रिम ब्राण्ड सुरू गर्नु अघि उनले आफूलाई एउटै प्रश्‍न सोधेका थिए, ‘के म काठमाडौंमा सबै भन्दा बेस्ट आइसक्रिम सस्तो मूल्यमा दिन सक्छु ? सक्छु भन्ने लागेपछि मैले पछाडि फर्केर हेरिँन।

उनले घरमा नै केही ब्याच आइसक्रिम बनाउँथे। परिवारलाई चखाउँथेँ र प्रतिक्रिया अनुसार सुधार गर्थे। केहि समयको ट्रायलपछि उनले गत वर्ष लाजिम्पाटबाट सिल्क अर्टिस्नल क्रिमरी नामक आइसक्रिम ब्राण्ड तथा पार्लर सुरु गरे।

परिवार र साथीभाइको उपस्थितिले सिल्कको ओपनिङ भव्य नै भयो। त्यसपछि भने दिनमा १०/१५ जना मात्रै आइसक्रिम खान आउने ऋषभ बताउँछन्। सुरू गर्दा भेनिला, रासबेरी, चकलेट, कफी, स्ट्रबेरी, सोर्बे गरी जम्मा ६ फ्लेवर थियो। एक स्कुपको २९० रूपैयाँ पर्थ्यो।

उनले सुरूवाती संघर्ष सुनाए, ‘सुरूमा त प्राइस जस्टिफाइ गर्न नै गाह्रो भयो। तर हाम्रो आइसक्रिम चाखिसकेपछि उहाँहरूले कम्प्लेन गर्नु हुन्न। यो क्वालिटीको प्रिमियम आइसक्रिमलाई यति रूपैयाँमा दिनु रिजनेबल भएको पनि कतिले भन्नुहुन्छ।’

विस्तारै कस्टमर फ्लो बढ्दै गयो। हाल सिल्कको एक आउटलेटमा दिनभरिमा एक सयभन्दा बढी ग्राहक आउने ऋषभ बताउँछन्, ‘वर्ड अफ माउथले गर्दा नै हाम्रो कस्टमर बेस बढेको हो।’

सिल्क आर्टिसनल क्रिमरीले हाल २० फ्लेवरको आइक्रिम बिक्री गर्दै आएको छ। फलफूलको सिजनअनुसार सिल्कले केही फ्लेवर हटाउने र थप्ने गरेको छ। सिल्कको किचनमा पाँच जना र सेल्स टीममा नौ जना कर्मचारी छन्।

सिल्क आइसक्रिमको माग बढेसँगै ऋषभले चार महिनाअघि मात्रै झम्सिखेलमा नयाँ आउटलेट खोलेका छन्। साथै यसै हप्ता सानेपामा पनि तेस्रो आउटलेट खोल्ने तयारीमा छन्।

यस बाहेक, ऋषभले यसै वर्ष उपत्यकामा थप दुई ठाउँमा आउटलेट विस्तार गर्ने योजना बनाएका छन्। उनले भने, ‘हामीले उपत्यका बाहिर पोखरा, विराटनगर लगायतका सहरमा पनि सिल्क आइसक्रिमलाई लान खोजिरहेका छौं। तर हाल नेपालमा कोल्ड चेन लजिस्टिक सुविधा नरहेकाले हामी बाहिर जान पाएको छैनौं।’

ऋषभको चाहना देशभित्र मात्रै होइन वाहिरसम्म लैजाने लक्ष्य राखेका छन्। ‘हाम्रो गुणस्तर कुनै बहुराष्ट्रिय कम्पनीको भन्दा कम छैन। त्यसैले यो ब्राण्डलाई विदेशसम्म लैजान सकिन्छ भन्नेमा म विश्वस्त छु,’ उनले कुराकानीलाई विट मार्दै भने।