भारत भ्रमण उपलब्धिहीन भनेपछि पर्यटनमन्त्रीसँग प्रचण्ड क्रुद्ध, मन्त्रीबाट फायर गर्ने तयारी

बिजमाण्डू
२०८० जेठ २४ गते १८:२५ | Jun 7, 2023
भारत भ्रमण उपलब्धिहीन भनेपछि पर्यटनमन्त्रीसँग प्रचण्ड क्रुद्ध, मन्त्रीबाट फायर गर्ने तयारी

काठमाडौं। आफ्नो भारत भ्रमणका बारेमा नकारात्मक कुराकानी गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पर्यटनमन्त्री सुदन किरातीसँग क्रुद्ध छन्। उनले किरातीलाई हटाउनका लागि आफ्नो नजिकको ‘टिम’ सँग कुराकानी गरेका छन्।

Tata
GBIME
Nepal Life

आफ्नै दलबाट पर्यटनमन्त्री बनेका किरातीको क्रियाकलापबाट प्रचण्ड असन्तुष्ट छन्। त्यसमाथि आफ्नो भारत भ्रमणलाई लिएर किरातीले नकारात्मक टिप्पणी गरेपछि उनी थप क्रुद्ध भएका छन्। प्रचण्ड निकट एक सचिवालय सदस्यका अनुसार, एक/दुई दिनभित्रै किरातीलाई मन्त्री पदबाट हटाएर नयाँ पर्यटनमन्त्री नियुक्त गर्ने संभावना उच्च छ।

पर्यटनमन्त्री किरातीले मंगलबार खिजीदेम्बा हुँदै नयाँ पदमार्ग शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण उपलब्धिविहीन भएकोतर्फ संकेत गर्दै भनेका थिए-‘मैले दुई देशबीचको सम्झौता उपलब्धिमूलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको थिए। त्यही भएर भारत नगएको हो।’

उनले अझ अघि बढ्दै पर्यटनमन्त्री पद सवारीमन्त्री जस्तो भएको बताउँदै भनेका थिए-‘सिभिल एभिएसन पनि यसकै थियो। गएर केही हुनेवाला छैन भनेर आफ्नो भूमिकै हुँदैन भने किन जाने? त्यस कारण म जान सकिन। ठुलो मान्छे भएर त्यहाँको नागरिकले मन दुखाईदिन भएन। क्षमा प्रार्थी छु।’

सार्वजनिक कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य त्यो पनि आफ्नै दलका नेताले ‘आफ्नो प्रतिष्ठाको भ्रमण’ विरुद्ध बोलेको जानकारी पाउनेवित्तिकै प्रचण्ड रिसले चुर भएका थिए।

मंगलबार प्रचण्ड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल खप्तडको गङ्गा दशहरा मेला उद्घाटन गर्न गएका थिए। त्यसपछि प्रचण्डले त्यहीबाट मन्त्री किरातीलाई टेलिफोन गरेर हप्काएका थिए। हप्कीदप्कीपछि किरातीले कारवाही गरे राष्ट्रिय स्वतन्त्र पार्टीमा जाने प्रचण्डलाई धम्की पनि दिएका थिए।

प्रधानमन्त्रीको हप्कीकै कारण मंगलबार साँझ काठमाडौंको मेरियट होटलमा भएको हिमालयन ट्राभल मार्टमा किराती सहभागी भएनन्। यो कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड प्रमुख अतिथि र विशेष अतिथिमा किरातीलाई आमन्त्रण गरिएको थियो। प्रचण्डले हप्काएपछि किराती कार्यक्रममा गएनन्।

पर्यटन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी कार्यक्रममा सहभागी भएकी थिइन्। स्रोतका अनुसार, पर्यटनमन्त्री किरातीसँग केही महिना अघिदेखि नै प्रचण्ड असन्तुष्ट थिए। किरातीले सस्तो लोकप्रियताका लागि मनलाग्दी मन्तब्य दिएको भन्दै साह्रै बचकना हर्कत प्रस्तुत गरेको प्रचण्डको ठम्याई थियो।

 ‘राम्रै काम गर्लान्। डेलिभरी देलान भनेर पर्यटनमन्त्रीजस्तो शक्तिशाली मन्त्रालयमा नियुक्त गरियो,’ प्रचण्डले आफ्ना निकटलाई भनेका थिए, ‘उनी साह्रै बच्चा रहेछन्। लोकप्रियताका लागि जस्तो पनि भाषण दिएर हिड्ने र डेलिभरीतर्फ कुनै ध्यान नदिने रहेछन्।’

स्रोतका अनुसार यही क्रियाकलापका कारण प्रचण्डले भारत भ्रमणमा किरातीलाई सामेल नगराएका हुन्। ‘नेपाल-भारतबीच उड्डयन क्षेत्रमा धेरै ठुला एजेण्डा थिए। यस्तो एजेण्डामा पर्यटनमन्त्रीको भूमिका रहन्थ्यो। तर प्रधानमन्त्रीले किरातीलाई राख्नै चाहनुभएन,’ प्रधानमन्त्री कार्यालयका एक सचिवले भने, ‘त्यही रिस सार्वजनिक रुपमा असन्तुष्टीका रुपमा किरातीले पोखेको हुनसक्छ।’