सुकुमेलको भन्सार दोब्बर भएपछि व्यवसायी निराश, पहिले नै एलसी खोलेकाहरु तनावमा

अनन्तराज न्यौपाने
२०८० जेठ २३ गते ११:२० | Jun 6, 2023
सुकुमेलको भन्सार दोब्बर भएपछि व्यवसायी निराश, पहिले नै एलसी खोलेकाहरु तनावमा

विराटनगर। सुकुमेलको भन्सार मूल्यांकन घटाउनु पर्छ भन्दै लागिपरेका आयातकर्ता बजेटपछि छाँगाबाट खसेझैँ भएका छन्। अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमार्फत भन्सार महसुल दोब्बर बढाइदिएपछि सुकुमेल व्यवसायीहरू क्षुब्ध भएका हुन्।

Tata
GBIME
Nepal Life

विराटनगर र वीरगञ्जका व्यवसायीहरू ३ महिनादेखि सन्दर्भ मूल्यसूची (डेटाबेस)मा सुकुमेलको भन्सार मूल्यांकन घटाउन निरन्तर प्रयास गरिरहेका थिए। ग्वाटेमालामा नेपाल भित्र्याइने मध्यम स्तरको सुकुमेलको निर्यात मूल्य प्रतिकिलो ८ देखि ९ डलर छ।

नेपालमा भन्सार विभागले आफ्नो डेटाबेसमा प्रति किलो साढे १२ डलर मूल्यांकन गरेको छ। भन्सार विन्दुमा कार्यालयले सुकुमेलको जाँचपास गर्दा डेटाबेसको मूल्यलाई नै आधार बनाएपछि सुकुमेलका आयातकर्ता असन्तुष्ट रहँदै आएका छन्।

गत वैशाखमा भन्सार विभागले नयाँ सन्दर्भ मूल्यसूची प्रकाशित गर्नुपूर्व मूल्यांकन घटाउन व्यवसायीको सक्रियता धेरै बढेको थियो। तर विभागले नयाँ डेटाबेसमा मूल्यांकन घटाइदिएन। यसपछि निराश बनेका आयातकर्ताहरू नयाँ महसुल दर सुनेर अर्को तनावमा परेका छन्।

समुद्रपारका मुलुकबाट नेपाल ल्याएर भारततर्फ अनधिकृत निर्यात गरिने एक मुख्य वस्तुमा सुकुमेल पनि पर्छ। पछिल्लो बजेट भाषणले सुकुमेलको भन्सार महसुलमा दोब्बर वृद्धि भएको छ। बजेटमा सुकुमेलको साबिकको भन्सार महसुल १० प्रतिशतलाई २० प्रतिशत बनाइएको छ। यसका कारण एक कन्टेनर सुकुमेलमा १९ देखि २० लाख रुपैयाँ थप राजस्व लाग्ने भएको छ। २० फिटको एक कन्टेनरमा १० टन सुकुमेल हुन्छ।

व्यवसायीका अनुसार जेठ १४ सम्म १ किलो सुकुमेलको आयात गर्दा ४०२ रुपैयाँ राजस्व लाग्थ्यो। अब ५९० देखि ६०० सम्म लाग्नेछ। नेपालमा हाल डलरको मूल्य १३२ रुपैयाँ ५० पैसा छ। यो मूल्यअनुसार भन्सार विभागले कायम गरेको सुकुमेलको भन्सारमूल्य प्रति किलो साढे १२ डलरका हिसाबले यसको नेरु १ हजार ६५६ रुपैयाँ २५ पैसा हुन्छ।

यसमा जेठ १४ सम्मको भन्सार महसुल १० प्रतिशत भन्सार महसुल १६५ रुपैयाँ ६२ पैसा र १३ प्रतिशत मूअकर २३७ रुपैयाँ जोड्दा ४०२ रुपैयाँ हुन आउँछ। त्यस्तै सुकुमेलको आयात र कारोबार गर्दा कोलकाता बन्दरगाहमा प्रतिकिलो २० रुपैयाँ र नेपालमा आयकरमा प्रतिकिलो २० रुपैयाँ गरी ४० रुपैयाँको थप खर्च छ।

यही सुकुमेल नयाँ महसुल २० प्रतिशत तिरेर ल्याउँदा भन्सार महसुलवापत ३३१ रुपैयाँ २५ पैसा र भ्याटवापत २५८ रुपैयाँ ४० पैसा गरी ५९० रुपैयाँ राजस्व तिर्नुपर्ने हुन्छ। यसमा कोलकाता बन्दरगाह र आयकरको गरी प्रतिकिलो ४० रुपैयाँको थप खर्च छँदैछ।

विराटनगरमा सुकुमेलका आयातकर्ताहरू दिनेश राठी, हेमकरण दुगड, रतन अग्रवाल, विमल जाजोडिया अग्रवाल, जगदीश अग्रवाल, शंकरलाल अग्रवाल, नन्दकिशोर राठी, बजरंग बाहेती, खेमचन्द लालबानी, प्रियंक लालबानी लगायत छन्। मोरङ व्यापार संघका पूर्व अध्यक्ष एवम् आयातकर्ता खेमचन्द लालबानीले राजस्व वृद्धि गर्न आयात खुकुलो गर्ने नीति ल्याउने भनी दिएको वक्तव्य बेकार सिद्ध भएको टिप्पणी गरे।

व्यवसायी लालबानीले अन्तर्राष्ट्रिय बजारमा सुकुमेलको मूल्य प्रति किलो ६ देखि ९ डलर मात्र भएको उल्लेख गर्दै भन्सार विभागले साढे १२ डलरको मूल्य निर्धारण गर्नु युक्तिसंगत नहुने बताए। एक किलो सुकुमेल आयात गरेर गोदामसम्म ल्याउँदा प्रतिकिलो १ हजार ८५० पर्ने दाबी उनको छ।

यही सुकुमेलको बजार मूल्य अहिले १५ सयदेखि १६ सय मात्र भएको उनले जानकारी दिए। सुकुमेलको मुख्य खेती गरिने दक्षिण भारतमा २ महिनायता राम्रो वर्षा भइरहेको छ। यसले सुकुमेलको उत्पादन र गुणस्तर दुवै बढ्ने प्रक्षेपण भइरहँदा भारतमा मूल्य निरन्तर घटिरहेको छ।

व्यवसायी लालबानीले भने, ‘हामी भन्सार विभागलाई मूल्यांकन घटाइदिन अनुरोध गरिरहेका थियौं। उल्टो हामीलाई मार पर्ने गरी महसुलमा वृद्धि गरिएको छ, मूल्यांकन पनि यथावत् छ। यो वर्ष सुकुमेलको आयात गर्नेहरू सबै घाटामा पर्ने भएका छन्।’