
काठमाडौं। कास्कीमा ४.५ मेगावाटको जलविद्युत आयोजना थपिने भएको छ। निको इनर्जी प्रालिले माथिल्लो भुरुण्डी खोलामा बन्ने भुरुण्डी-ए जलविद्युत आयोजना निर्माणको अनुमतिपत्र मागेको छ।
विद्युत विकास विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवालालाई अनुरोध गरेको छ।
प्रस्तावित आयोजना कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने भुरुण्डी खोलामा निर्माण हुनेछ। यो नदी प्रवाहमा आधारित आयोजना हो। यसको डिजाइन बहाव १.८० घनमिटर प्रतिसेकेण्ड छ।
आयोजनाको सम्भाव्यता अध्ययन र प्रारम्भिक वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन तयार भइसकेको छ। आयोजनाको हेडवर्क्स र विद्युतगृह भुरुण्डी खोलाको दायाँ किनारमा रहनेछ। २०४० मिटरको हेडरेस पाइप राखिनेछ।
उत्पादित विद्युत ऊर्जालाई ९.६ किलोमिटर ३३ केभी प्रसारणलाइन निर्माण गरेर १३२ र ३३ केभीको दुमुवा सबस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ।
हालको डिजाइन अनुसार निर्माण सुरु भए २०८४ कात्तिक ७ गतेदेखि विद्युत उत्पादन हुनसक्ने प्रस्तावमा छ।