नेपाल टेलिकममाथि कर्पोरेट जगत र कूटनीतिक नियोगको ठूलो अविश्‍वास, डेटा सुरक्षामा छैनन् विश्‍वस्त

बिजमाण्डू
२०८० जेठ २२ गते १५:३१ | Jun 5, 2023
नेपाल टेलिकममाथि कर्पोरेट जगत र कूटनीतिक नियोगको ठूलो अविश्‍वास, डेटा सुरक्षामा छैनन् विश्‍वस्त

काठमाडौं। नेपाल राष्ट्र बैंकले जारी गरेको कुनै पनि निर्देशनका बारेमा अचेल बैंकरहरु फोनमा (सिमकार्डमार्फत) कुराकानी गर्न रुचाउँदैनन्।

Tata
GBIME
NLIC

अझ निर्देशन जारी गरेकै दिन त उनीहरु कुरा गर्नै चाहँदैनन्। बैंकरलाई ‘अनौपचारिक मात्र कुरा गरौं न, नाम उल्लेख गर्दिन’ भन्दासमेत उनीहरु ‘ह्‍वाट्स एप’ वा अन्य कुनै ट्रयाक ‍नहुने (इन्ड टु इन्ड इन्क्रिप्सन) एपहरुमार्फत मात्र कुरा गर्छन्।

उनीहरुको डर हो- राष्ट्र बैंकको विरोधमा कतै समाचार आयो भने सम्बन्धित समाचार लेख्‍ने पत्रकारसँग कसले कुरा गर्‍यो भनेर उसले गर्ने फोन ट्रयाकिङ।

कानुनत: कुनै पनि नागरिकको फोन टेपिङ वा ट्रयाक गर्न पाइँदैन। अदालती प्रक्रिया पुर्‍याएर आपराधिक अनुसन्धान गर्दा भने फोन ट्रयाक गर्न पाइन्छ। तर, सरकारी स्वामित्वको नेपाल टेलिकममा पहुँचका भरमा सजिलै कसले कोसँग कति मिनेट कुरा गर्‍यो भन्ने थाहा पाउन सकिन्छ।

विगतमा मौद्रिक नीतिका व्यवस्थाहरु पहिले नै ‘लिक’ हुँदा समाचार लेख्‍ने पत्रकारसँग कसले कुरा गर्‍यो भनेर राष्ट्र बैंकले खोजेको थियो।

अहिले नेपाल टेलिकमको नेटवर्कबाट हुने कुराकानी ट्रयाक गर्न सजिलो छ। त्यसैले अचेल बैंकर र व्यवसायी टेलिकम बाहेकका नेटवर्कको सिम पनि अनिवार्य बोक्छन्। राष्ट्र बैंक त एउटा प्रतिनिधि उदाहरण मात्रै हो।

टेलिकममाथि डेटा सुरक्षामै प्रश्‍न उठेको यो नयाँ घटना भने होइन। डेटा सुरक्षामै प्रश्‍न उठाउँदै अमेरिकाले टेलिकमको फाइभजी परीक्षणप्रति असन्तुष्टि जनाउँदै आएको छ। उसैको दबाबमा टेलिकमले अहिलेसम्म फाइभजी परीक्षणलाई औपचारिकरुपमा सुरु गर्नै सकेको छैन। न त प्रयोगकर्ताहरुले नै फाइभजी परीक्षणको स्वाद चाख्‍न पाएका छन्।

पछिल्लो समय टेलिकमको सिमलाई पन्छाउँदै ठूला, मध्यम तथा साना धेरै व्यवसायिक संस्थाहरुले निजी दूरसंचार सेवा प्रदायक एनसेलको सिमकार्ड प्रयोग बढाएका छन्। व्यक्तिगत गोपनीयतामै खलल पुग्ने देखेर अधिकांश कर्पोरेटहरु एनसेलतर्फ आकर्षित भइरहेका छन्।

केही कम्पनीहरुले टेलिकमभन्दा एनसेलको कर्पोरेटसहित अन्य सिम पाउन धेरै सहज भएकाले प्रयोग गरिरहेको बताएका छन्। एनसेलको कस्टमर केयरदेखि प्याकेजहरु टेलिकमको भन्दा किफायती भएको भन्दै उनीहरु त्यसको प्रयोगमा अभ्यस्त भइरहेको बताएका हुन्। पछिल्लो समय टेलिकमको नेटवर्कमा पटकपटक समस्या आइरहेका घटनाहरुले समेत उपभोक्तालाई टेलिकमको सेवाप्रति विश्वास जगाउन सकेको छैन।

नेपालमा रहेका कूटनीतिक नियोगका कार्यालयहरुले समेत आफ्ना कर्मचारीलाई नेपाल टेलिकमको सिम प्रयोग नगर्न अघोषित निर्देशन गरेको जस्तो देखिएको छ। अमेरिकी, चिनियाँ राजदूतावासहरुले एनसेलकै सिम आफ्ना कर्मचारीलाई प्रयोग गराइरहेका छन्। यसको मुख्य विषय भनेकै सुरक्षा मानिएको छ। टेलिकमको प्रणालीमाथि विश्‍वास नगरेकै कारण कूटनीतिक नियोगहरु एनसेलको सेवा प्रयोग गरिरहेका छन्।

टेलिकमका एक पूर्व प्रबन्ध निर्देशकले समेत नेपाल टेलिकममाथि नेपालका व्यवसायिक क्षेत्रसहित कूटनीतिक नियोगहरुले त्यति भर गर्ने नगरेको बताए।

‘म प्रबन्ध निर्देशक हुँदा नै विभिन्न व्यापारिक संस्थाका पदाधिकारीदेखि कूटनीतिक व्यक्तिहरुसँग टेलिकमको सिमका विषयमा छलफल गर्न आउँथे। उनीहरुले टेलिकममा विभिन्न पक्षबाट सरकारी हस्तक्षेप हुने गरेको आफूहरुले सुन्दै आएको भन्दै त्यसमा स्पष्ट हुन चाहेका थिए,’ उनले बिजमाण्डूसँग भने, ‘सरकारी हस्तक्षेपका कारण आफूहरुको गम्भीर र महत्त्वपूर्ण सूचना तथा जानकारी सहजै चुहिनेमा उनीहरु टेलिकम प्रति डर मान्दै आएका छन्। यसले पनि उनीहरुमा टेलिकमको डेटा सुरक्षा माथि संशय रहेको मैले बुझें। हामीले यही विश्वास दिलाउन नसक्दा क्रमश: ग्राहकहरु अरु कम्पनीतर्फ सिफ्ट भइरहेका छन्।’

त्यसैगरी, टेलिकमकै एक उच्च तहका अधिकारीले भनसुनकै भरमा टेलिकममा केही नम्बरहरु ब्लकसम्म गर्ने भइरहेको घटना सुनाए।

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारी भने जसले यस्ता समस्या बारे कुरा गरेका छन् त्यो त्यो उनीहरुको शंका मात्रै भएको दाबी गर्छन् । ‘टेलिकममा कसले कसलाई फोन गरेको छ त्यो रेकर्ड देखिन्छ भनेर भन्‍नु भ्रम मात्रै हो। त्यस्तो काम टेलिकमबाट भएको छैन। अनुसन्धानको दौरान अदालतको आदेशपछि मात्रै हामीले विवरणहरु उपलब्ध गराउने हो,’ उनले भने, ‘धेरै जनालाई लाग्दो रहेछ टेलिकमले प्रयोगकर्ताहरुको गोपनीयता कायम गर्दैन भनेर। त्यो शंका मात्रै हो। यथार्थमा त्यस्तो भएको छैन।’

टेलिकममा एकदमै सानो टिमले सुरक्षासम्बन्धी मामिला हेर्ने भन्दै अधिकारीले इमेलमार्फत मात्रै प्रहरी तथा अदालतसँग सम्पर्क हुने उनले बताए। धेरैजना त्यसमा संलग्न हुने भएको भए जोखिम हुन सक्ने भएपनि सानो टिमले त्यसमा काम गर्ने जिकिर उनले गरे।

धेरै जनालाई लाग्दो रहेछ टेलिकमले प्रयोगकर्ताहरुको गोपनीयता कायम गर्दैन भनेर। त्यो शंका मात्रै हो, यथार्थमा त्यस्तो भएको छैन।

शोभन अधिकारी, प्रवक्ता, नेपाल टेलिकम

‘३-४ जनाको टिम त्यसमा संलग्न हुन्छन्। उनीहरुलाई मैले भन्दासमेत मलाई पनि भन्दैनन्। त्यो मेन्टेन त गर्नैपर्छ। उहाँहरुको शंका मात्रै हो त्यो अनावश्यक हो भन्‍ने हाम्रो भनाइ हो। सीयुजी ग्राहकहरुको संख्या घटेको जस्तो पनि मलाई लाग्दैन,’ अधिकारीले भने।

नेपाल दूरसंचार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार टेलिकमका २ करोड बढी र एनसेलका १ करोड ३५ लाख जीएसएम मोबाइल प्रयोगकर्ता छन्। यी कम्पनीहरुले कति कर्पोरेट प्रयोगकर्ता छन् भनेर तथ्यांक सार्वजनिक गरेका छैनन्।