५० लाख रुपैयाँभन्दा बढी कमाउने व्यक्तिको संख्या ६५२, अर्को वर्षदेखि ३९% कमाइ सरकारलाई

बिजमाण्डू
२०८० जेठ २१ गते १०:५४ | Jun 4, 2023
५० लाख रुपैयाँभन्दा बढी कमाउने व्यक्तिको संख्या ६५२, अर्को वर्षदेखि ३९% कमाइ सरकारलाई


काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षदेखि धेरै कमाउनेहरुको कर बढाइदिएका छन्।

Tata
GBIME

वार्षिक ५० लाख रुपैयाँभन्दा बढी कमाउनेहरुको आयकर थप वृद्धि भएको छ। डा. महतले उनीहरुको कर ३ प्रतिशतले थप बढाइदिएका हुन्। अहिले अधिकतम कर ३६ प्रतिशतसम्म छ। अब ३ प्रतिशतले उनीहरुको कर बढेको छ। यसो हुँदा उनीहरुले ३९ प्रतिशत कर तिर्नुपर्छ।

५० लाख रुपैयाँभन्दा बढी कमाउनेको संख्या भने धेरै छैन। आन्तरिक राजस्व विभागले तयार पारेको सूची अनुसार ५० लाख रुपैयाँभन्दा बढी कमाउने व्यक्ति तथा प्रोप्राइटर फर्मको संख्या ११ सय हाराहारी छ। यसमध्ये ६५२ जना व्यक्तिहरु छन्।

अहिले जतिसुकै कम कमाउनेले पनि १ प्रतिशत कर तिर्नैपर्छ। यो सामाजिक सुरक्षा कर हो। एकलको हकमा ५ लाख र दम्पतीको हकमा ६ लाख कमाउनेले १ प्रतिशत कर तिर्नैपर्छ।

त्यसभन्दा माथि २० हजार कमाउनेले १० प्रतिशत कर थप तिर्नुपर्छ। यसबाहेक अर्को ६० हजार कमाउनेले २० प्रतिशत कर तिर्नुपर्छ। ६० हजारपछि अर्को ३ लाख कमाउनेले ३० प्रतिशत तिर्नुपर्छ। ३० प्रतिशत कर तिर्दा आम्दानी २० लाखसम्मको पुगिसकेको हुन्छ।

२० लाखभन्दा माथि जतिसुकै कमाउनेले अर्को ६ प्रतिशत गरेर कुल ३६ प्रतिशत कर भुक्तानी गर्नुपर्छ। अब भने ५० लाखभन्दा बढी कमाउनेले अर्को ३ प्रतिशत कर तिर्नुपर्ने भएको छ।

बढेको करले बैंक तथा वित्तीय संस्थाका माथिल्ला तहका कर्मचारी, कर्पोरेटका हाकिम, बीमा कम्पनीका प्रमुख लगायतलाई भार परेको छ। सेयर र घरजग्गालाई व्यवसाय बनाएर वार्षिक ५० लाख रुपैयाँ कमाउनेले पनि ३९ प्रतिशत तिर्नुपर्ने हुन्छ। तर यो कर आगामी वर्षदेखि लागू हुन्छ। त्यसो हुँदा ६ सय ५२ जनाको संख्या बढ्न सक्छ। साथै प्रोप्राइटरको संख्यामा पनि वृद्धि हुने अनुमान विभागको छ।

विभागका महानिर्देशक दीर्घराज मैनालीले अहिले थपिएको ३ प्रतिशत सरचार्ज भने सधैंलाई नभएको बताए। सरकार आम्दानीका रुपमा कमजोर अवस्थामा रहेकाले केही समयका लागि कर लगाइएको उनको भनाइ छ। ‘यो बढेको कर मलाई पनि मन परेको थिएन। तर अहिले स्रोत कम छ। भोलि बलियो भएपछि हटाउन सकिन्छ,’ उनले बिजमाण्डूसँग भने।