कोभिड-१९ को मापदण्ड परिमार्जन : अब मास्क स्वैच्छिक, खोप कार्ड नचाहिने

बिजमाण्डू
२०८० जेठ २० गते ०७:४५ | Jun 3, 2023
कोभिड-१९ को मापदण्ड परिमार्जन : अब मास्क स्वैच्छिक, खोप कार्ड नचाहिने


काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को संक्रमण दर घटदै गएपछि स्वैच्छिक रुपमा मास्कको प्रयोग गर्न आग्रह गरेको छ।

Tata
GBIME

मन्त्रालका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. समिरकुमार अधिकारीले सूचना जारी गर्दै संक्रमण दर घट्दै गएपछि कोभिड-१९ को मापदण्ड परिमार्जन गर्दै मास्कको प्रयोगलाई स्वैच्छिक बनाएको बताएका छन्। यसअघिसम्म मास्क प्रयोग अनिवार्य थियो।

संक्रमण दर न्यून भएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले कोभिड-१९ को परीक्षण गरेको र खोप लगाएको प्रमाण आवश्यक नभएको पनि उनले जनाएका छन्। अब कोभिड-१९ को मापदण्डलाई खुकुलो पारिएको भन्दै अन्तर्राष्ट्रिय नाकामा खोप कार्ड र परीक्षण कार्ड आवश्यक नपर्ने जानकारी उनले दिए।

मन्त्रालयका अनुसार कोभिड-१९ को संक्रमण दर र अस्पतालमा भर्ना दरमा उल्लेखनीय कमी आएको छ। अधिकांश मानिसले कोभिड-१९ को पूर्णमात्रा खोप लगाइसकेको अवस्था र भारतमा पनि संक्रमण दर न्यून रहेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय यात्रुले परीक्षण र खोप लगाएको प्रमाणपत्र चाहिने व्यवस्था हटाएको हो।

मन्त्रालयले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका तत्कालिन निर्देशक डा. चुमनलाल दास संयोजकत्वमा गठित विज्ञ टोलीले अर्को सूचना नभएसम्मका लागि कोरोना परीक्षण र खोप लगाएको प्रमाणपत्र नचाहिने सिफारिस गरेको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका बिरामीलाई नियमित निगरानी र जोखिममा रहेका शंकास्पद यात्रुको स्क्रिनिङ भने गरिने उल्लेख गरेको छ। महामारी रोकथाम, नियन्त्रण र उपचार व्यवस्थापनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट भएको सहयोगप्रति मन्त्रालयले कृतज्ञता व्यक्त गरेको छ। रासस