अन्नपूर्ण आरोहण दिवसमा म्याराथन हुँदै, म्याराथनका लागि विदेशी धावकसहित ५६ जनाको अभ्यास

बिजमाण्डू
२०८० जेठ २० गते ०७:४३ | Jun 3, 2023
अन्नपूर्ण आरोहण दिवसमा म्याराथन हुँदै, म्याराथनका लागि विदेशी धावकसहित ५६ जनाको अभ्यास

पोखरा। पर्यटकीय नगरी पोखराको विश्वव्यापीरुपमा चर्चासँगै जोडिएको हिमाल हो, अन्नपूर्ण। हिमाल आरोहणको क्षेत्रमा जेठो हिमालका रुपमा अन्नपूर्ण प्रथमलाई लिइन्छ। सन् १९५० जुन ३ मा फ्रान्सका मोरिस हर्जोगले अन्नपूर्णको सफल आरोहण गरेसँगै विश्वमा नै हिमाल आरोहणतर्फ आकर्षण बढेको हो।

Tata
GBIME
Nepal Life

पर्यटकीय नगरी पोखराको पहिचानसँग अन्नपूर्ण हिमाल प्रत्यक्ष जोडिएका कारण पनि अन्नपूर्ण आरोहण दिवसलाई पोखरा र आसपासका क्षेत्रमा विभिन्न कार्यक्रमका साथ मनाउने गरिएको ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए।

पहिलो पटक आरोहण गरेको दिन जुन ३ लाई प्रत्येक वर्ष टान गण्डकीले निरन्तररुपमा विभिन्न कार्यक्रमका साथ अन्नपूर्ण आरोहण दिवस मनाउँदै आएको उनको भनाइ छ।

‘टान गण्डकीको स्थापनाको ३० वर्षयता अन्नपूर्ण आरोहण दिवस विभिन्न कार्यक्रमका साथ मनाउँदै आइएको छ’, उनले भने, ‘अन्नपूर्ण आरोहण दिवस नेपालकै पर्वतीय पर्यटनको विशिष्ट दिन हो।’

नेपालमा आउने विदेशी पर्यटकमध्ये करिब ७० प्रतिशत पर्यटक पदयात्राका लागि आउने गरेको र जसमध्ये औसतमा १० प्रतिशत हिमाल आरोहण गर्न आउने गरेका छन्।

अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै नेपाल विश्वमा नै पर्वतीय पर्यटनको विशिष्ट आकर्षण बन्दै गएको बताउँदै अध्यक्ष पन्थीले यस दिवसको गरिमा र महत्वलाई जीवन्त राख्नु अपरिहार्य भएको बताए।

फ्रान्सेली टोलीद्वारा आरोहण गरिएको अन्नपूर्ण प्रथम हिमालको उचाइ आठ हजार ९१ मिटर रहेको छ। अन्नपूर्ण हिमाल आरोहणको सफलतासँगै सन् १९५३ मे २९ तारिखमा विश्वको सर्वोच्च शिखर सगरमाथामा सर्वप्रथम स्व तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले सफल आरोहण गरी कीर्तिमान कायम गरेका थिए।

सर्वोच्च शिखर सगरमाथाभन्दा अन्नपूर्ण प्रथम हिमालको उचाइ कम भएको र आरोहणका दृष्टिले कठिन भएका कारण अन्नपूर्ण आरोहणको सफलताले त्यति ख्यातिप्राप्त गर्न नसके पनि यसले पर्वतारोहणका क्षेत्रमा विश्वकै जेठो हिमालको उपाधि हासिल गरेको टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्व अध्यक्ष सोम थापा बताउँछन्।

विश्वबजारमा अन्नपूर्ण हिमालको महत्वलाई अझै उजागर गर्दै यसको पर्वतीय पर्यटनका क्षेत्रमा बजारीकरण गर्नु जरुरी रहेको उनले बताए। अन्नपूर्ण हिमालको आरोहणपछि नै पोखराले पर्यटकीयस्थलका रुपमा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा थप चासो र चर्चा पाएको उनले बताए।

सन् १९५० अघि पोखरामा आउने विदेशी पर्यटकको सङ्ख्या नगन्य मात्र रहेकोमा अन्नपूर्ण हिमालको आरोहणसँगै यहाँको पर्यटकीय विकासको औपचारिक सुरुआत भएको देखिन्छ।

हर्जोगले पोखरासहित नेपाललाई विश्वभर चिनाउने काम गरेको बताउँदै थापाले त्यसपछि मात्र नेपालका हिमालबारे अध्ययन-अनुसन्धान सुरु भएको बताए। अन्नपूर्ण आरोहण दिवसका दिन टान गण्डकीले प्रत्येक वर्ष अन्नपूर्ण हिमालका काखमा अवस्थित एक पर्यटकीय गाउँको प्रवर्द्धन गर्दै आएको छ।

यस वर्ष मर्दी हिमाल पदमार्गअन्तर्गत हेम्जा मेलबोटदेखि आस्तामसम्म छोटो दूरीको पदयात्रासँगै पदमार्गको सरसफाइसमेत गरिने टान गण्डकीका अध्यक्ष पन्थीले जानकारी दिए।

अन्नपूर्ण हिमाल र यस आसपासको सात हजार छ सय २९ वर्ग किमीलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामार्फत संरक्षण गरिएको छ। जसअन्तर्गत मनाङ र मुस्ताङसहित म्याग्दी, कास्की र लमजुङका विभिन्न क्षेत्रलाई समेटिएको छ।

अन्नपूर्ण आरोहण दिवसलाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का संरक्षित क्षेत्रअन्तर्गतका स्थल घान्द्रुक, ल्वाङ, सिक्लेस, भुज्रुङ, जोमसोम, लोमान्थाङ र मनाङस्थित इलाका कार्यालयमा पनि विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ।

दिवसकै अवसरमा अन्नपूर्ण सेञ्चुरी पर्यटन समितिको आयोजनामा शनिवार अन्नपूर्ण आधार शिविर (एबीसी) देखि घान्द्रुकसम्म (४२.१९५ किमिको)अन्नपूर्ण म्याराथन हुने भएको अन्नपूर्ण सेञ्चुरी पर्यटन महोत्सवका संयोजक ललित गुरुङले जानकारी दिए।

म्याराथनका लागि विदेशी धावकसहित ५६ जना अन्नपूर्ण आधार शिविर पुगी पूर्व अभ्यास गरिसकेको उनले बताए। अन्नपूर्ण आरोहण दिवसको गरिमा र महत्वसँगै समग्र अन्नपूर्ण पदयात्रा क्षेत्रको प्रवर्द्धनका लागि म्याराथन आयोजना गरिएको उनले बताए।