१३ वर्षमै घुम्ती पसल थालेका शिवप्रसाद, जसको अहिले छ अर्बौको उद्योग व्यवसाय

बिजमाण्डू
२०८० जेठ १९ गते १७:२६ | Jun 2, 2023
१३ वर्षमै घुम्ती पसल थालेका शिवप्रसाद, जसको अहिले छ अर्बौको उद्योग व्यवसाय

काठमाडौं। उद्योगी शिवप्रसाद घिमिरेको आत्मकथा शुन्यबाट सुरु भएको व्यापार अपार पुस्तक सार्वजनिक भएको छ। पर्यटनमन्त्री सुदन किराँतीले शुक्रबार एक कार्यक्रमका बीच पुस्तक विमोचन गरेका हुन्।

Tata
GBIME
Nepal Life

उनको व्यवसायिक जीवनको सुरुवात २०३३ सालमा सानो घुम्ती पसलबाट सुरु भएको थियो। १३ वर्षको उमेरमा व्यवसाय थाल्दा धेरैले यति सानो फुच्चेले कत्रो ठूलो काम गरेको भन्दै उनको प्रशंशा पनि गर्थे।

सानो घुम्ती पसलमा ऐठे, बिस्कुट, पुष्टकारी, ललिपपजस्ता खानेकुरा राखेर सुरु गरेको फुच्चे व्यापारीबाट उनले अहिले व्यवसायिक साम्राज्य खडा गरेका छन्। उनले पुस्तकमा आफ्नो बाल्यकाल, व्यवसायको सुरुवात, पेट्रोल पम्प, ग्यासहुँदै जलविद्युतसम्मको लगानीका बारेमा सविस्तार उल्लेख गरेका छन्।

मकवानपुर जिल्ला आमभन्ज्याङ गाविसमा जन्मिएका घिमिरे अहिले राष्ट्रिय रुपमा चिनिएका व्यवसायी बनिसकेका छन्। नेपाल पेट्रोलियम डिलर्स एशोसिएनका अध्यक्ष, नेपाल ग्यास उद्योग संघका अध्यक्ष बनिसकेका घिमिरे अहिले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फबाट केन्द्रीय सदस्य हुन्।

उनी निडर व्यवसायीका रुपमा चिनिन्छन्। डिजल र मट्टितेलको मूल्य फरक गर्दा माफियागिरी सुरु भएको भन्दै एउटै मूल्य गर्न प्रमुख भूमिका उनले नै निभाएका थिए। यो मुद्दालाई समेत उनले कितावमा उल्लेख गरेका छन्। कार्यक्रममा घिमिरेका छोरा सुगमले काम र जीवनमा जोखिम उठाउन नडराउने भएकाले व्यवसायिक सफलता हासिल भएको बताए।

‘सय वटा काम गर्दा ९५ वटा गलत र ५ वटा सही भएपनि ती ९५ गलतलाई ५ सहीले जित्नेछन्,’ उनले बुबाले भनेको विषय उल्लेख गर्दै भने, ‘यसबाट मैले निर्णय लिन डराउनुहुन्न र कमजोर अवस्थामा पनि अघि बढ्ने हिम्मत राख्नुपर्छ भन्ने पाठ सिकेको छु।’ घिमिरेका जेठा छोरा सुदिपले व्यवसायमा बुबा हुँदा एउटा असल साझेदारको अनुभुति हुने गरेको बताए।

घिमिरे पुस्तकमा सेतो रङको हिरो होण्डा मोटरसाइकल किन्दा सबैभन्दा खुशीको क्षण भएको उल्लेख गर्दै भनेका छन्-‘आजभोलि आफैले चलाउने गाडी मात्रै चार/पाँच वटा छन्। तर त्यतिबेला किनेको मोटरसाइकलकोजस्तो खुशी कहिले पनि भएको थिईन्।’