
रसियाले अमेरिकामाथि हजारौं आइफोन ‘ह्याक’ गरि सूचना चोरी गरेको आरोप लगाएको छ। रुसको संघीय सुरक्षा सेवा (एफएसबी) ले अमेरिकाले जासुसी सफ्टवेयरको प्रयोग गरेर आइफोन ह्याक गरेको दाबी गरेको हो।
एफएसबीले रसियाली नागरिकका साथै रसियामा रहेका विदेशी कूटनीतिज्ञहरुको एप्पल डिभाइसहरु ह्याक भएको दाबी गरेको हो।
‘अमेरिकाको स्पेसल सर्भिसले एप्पल मोबाइल डिभाइस प्रयोग गरेर इन्टेलिजेन्स् एक्सन गरेको फेला पारेको छ,’ एफएसबीले भनेको छ।
एप्पल र अमेरिकाको नेसनल सेक्युरिटी एजेन्सी (एनएसए) बीच यो प्रकरणमा निकै नजिकको सहकार्य भएको दाबी एफएसबीले गरेको छ। एप्पलले भने रुसको उक्त आरोपको खण्डन गरेको छ।
‘हामीले एप्पलका उत्पादकमार्फत यस्तो कार्य गर्न कुनै पनि सरकारसँग काम गरेका छैनौं र गर्ने पनि छैनौं,’ एप्पलले विज्ञप्ति जारी गर्दै भनेको छ।
अमेरिकाको एनएसएले भने यी आरोपबारे बोल्न अस्वीकार गरेको रोयटर्सले जनाएको छ।
मस्कोमा रहेको साइबर सेक्युरिटी र एन्टी भाइरस प्रदायक मल्टिनेसनल कम्पनी क्यास्पर्स्की ल्याबमा काम गर्ने दर्जनौं कर्मचारीहरुको मोबाइल डिभाइस पनि ह्याकरहरुको निसानामा परेको जनाएको छ। क्यास्पर्स्कीका सीइओ युजेन क्यास्पर्स्कीले यो कार्यलाई ‘व्यवसायिक रूपमा लक्षित साइबर आक्रमण’ भनेका छन्।
क्यास्पर्स्कीका अनुसन्धानकर्ता इगोर कुचनेटशोभले आफ्नो कर्पोरेट नेटवर्कमा यो वर्षको सुरुवातदेखि नै असामान्य ट्राफिक देखेको पनि बताएका छन्। यसबारेमा क्यास्पर्स्कीले बिहीवारमात्रै रसियाको कम्प्युटर एमर्जेन्सी रेस्पोन्स टिमलाई आफ्नो अनुसन्धानबाट प्राप्त नतिजाहरु प्रदान गरेको थियो। यद्यपि, यसमा अमेरिकाकै संलग्नता रहेको नरहेकोबारे भने आफूले भन्न नसक्ने उनले बताएका छन्।
एफएसबीका अनुसार रसियामा रहेका इजरायल, सिरिया,चीन र नाटो राष्ट्रका कूटनीतिज्ञहरुको मोबाइलहरु अमेरिकी ह्याकरहरुले ह्याक गरेका थिए। यसबारेमा रोयटर्सले ती देशका अधिकारीहरुसँग कुरा गर्न खोजेको थियो। इजरालयले यस विषयमा बोल्न नचाहेको र अन्य देशका अधिकारीहरु उपलब्ध नभएको जनाइएको छ।