
‘काठमाडौं। आन्तरिक उडानको भाडादर र जहाज, इन्जिन, पार्टपुर्जा आयातमा सरकारले लागु गरेको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) प्रति वायुसेवा संचालक संघले असन्तुष्टि जनाएको छ। आओनले पूर्व तयारीविनै लागु गरिएकाले यसवाट व्यवसायलाई निरुत्साहन हुने जनाएको छ।
संघले हवाई यात्रु र पर्यटक निरुत्साहित गर्ने किसिमको नियम लागू गरेको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गर्ने भएको छ।
‘सरकारले भ्याट लागू गर्नु स्वाभाविक हो। तर अहिलेको परिस्थितिमा पर्यटन र उड्डयन क्षेत्र सामान्य अवस्थामा आइसकेका छैनन्,’ संघका अध्यक्ष रामेश्वर थापाले भने,’भ्याट लगाउँदा यात्रुमा पर्ने मारले त पर्यटक नै निरुत्साहित हुन्छन् नि। पूर्व तयारीविना घोषणा गरिएको यो निर्णयले पर्यटन उद्योगमै नकारात्मक प्रहार गर्छ।’
सरकारले पर्यटन र उड्डयन क्षेत्र प्रवर्द्धन लक्षित बजेट ल्याउन सरकार बेमतलबी रहेको उनले बताए। यतिखेर भ्याटमा दर्तै नभएका हवाई उद्योगलाई तत्काल भ्याट प्रणालीमा जान निर्देशन दिए पनि प्रक्रियागत रुपमा अगाडि बढ्दा न्यूनतम छ महिना समयावधि लाग्ने उनले जानकारी दिए।
‘महिनौंदेखि हवाई टिकट व्यवस्थापन गरिएको हुन्छ। अब भ्याटमा दर्ता नभएको हवाई उद्योगलाई तत्काल भ्याट लागू गर्न निर्देशन दिनु भनेको त उद्योगलाई नै प्रभावित पार्ने लक्ष्य राखिएको जस्तो देखियो’ अध्यक्ष थापाले भने।
सरकारले नयाँ आथिक वर्षको बजेट पहिला इन्जिन प्रोपेलर लगायत विभिन्न पार्टपुर्जामा १ प्रतिशत भन्सार शुल्क लिँदै आएको थियो भने हवाई भाडादर पनि भ्याटरहित निर्धारण गर्दै आएको थियो।
हाल आन्तरिकतर्फ नियमित उडान गर्दै आएका बुद्ध, यती, श्री, सौर्य, गुण, तारा, सीता, समिट लगायत वायुसेवा कम्पनीले फ्युल सरचार्ज, विमानस्थल सेवा शुल्क, हवाई भाडादरलाई गाभेर शुल्क लिँदै आएको छ।