
काठमाडौं। बजेट आउनुअघि अर्थमन्त्री डा. प्रकाशशरण महत, अर्थसचिव अर्जुन पोखरेल र राजस्व सचिव रामप्रसाद घिमिरेलाई भेट्न अटोमोबाइल व्यवसायीको दौडधुप थियो।
त्यो दौडधुपबाट केही गाडी बिक्रेता ‘विनर’ भएका छन् भने केही ‘लुजर’। बजेटबाट हुन्डाई गाडी बेच्ने लक्ष्मी इन्टरकन्टिनेन्टल, कियाको गाडी बेच्ने कन्टिनेन्टल ट्रेडिङ, टोयोटाको गाडी बेच्ने युनाइटेड ट्रेडिङ सिन्डिकेट, सुजुकी गाडी बेच्ने सीजी अटोमोटिभ्स, टेस्ला गाडी बेच्ने अरिती ट्रेडिङ र सिट्रोन गाडी बेच्ने सांग्रिला मोटर्स विनर बने।
टाटाको नेक्सन र साइमेक्स इंकले ल्याएको बीवाइडी र पारामाउण्टको एमजीको एग्रेसिभ मुभ र मार्केट ध्वस्त बनाउन लक्ष्मी, कन्टिनेन्टल, युनाइटेड ट्रेडिङ, सीजी र सांग्रिला मोटर्स एकै ठाउँमा थिए।
टाटाको गाडी बेच्ने सिप्रदी ट्रेडिङ, बीवाइडी बेच्ने साइमेक्स इंक, एमजी गाडी बेच्ने पारामाउण्ट मोटर्स, नेटा भी बेच्ने सीजी मोटर्स र मित्सुवित्सी गाडी बेच्ने लियोन मोटर्स लुजर भएका छन्।
आर्थिक मन्दीले गाडीको व्यापार नाजुक भएका कारण व्यापारीबीच करको दर घटबढमा उछलकुद थियो। त्यो उछलकुदमा ५० देखि १०० किलोवाटको विद्युतीय गाडीमा भन्सार थप ५ प्रतिशत र १० प्रतिशत अन्त:शुल्क लगाइयो भने सयदेखि २ सय किलोवाटको गाडीमा भन्सार र अन्त:शुल्क दुवै १० प्रतिशत घटाइयो। त्यस्तै डिजल भेरियन्टको हाइब्रिड २० प्रतिशत बढाएर ६० प्रतिशत पुर्याइएको छ। डिजल हाइब्रिडमा यो कर बढाउनेबित्तिकै टोयोटाको कोरोलालाई फाइदा हुनेछ।

यो करको दरले विद्युतीय गाडी नेक्सन, बीवाइडी, एमजी जेडएस र नेटाभी सरदरमा ६ देखि १२ लाख रुपैयाँ महँगो भएको छ। यो महँगिदा पेट्रोलियम इन्जिनका क्रेटा, ब्रेजा, सेल्टोस, भेन्यु, सोनेटको भाउ यथावत छ। अब बीवाइडीको एटो-३ को मूल्य ७५ लाख रुपैयाँसम्म पर्छ। क्रेटा भने ५२ लाख रुपैयाँमै पाइन्छ।
बीवाइडी २० लाखसम्म महँगो पर्नेबित्तिकै उपभोक्ता क्रेटामा सिफ्ट हुन्छन्। त्यस्तै अहिले सबैभन्दा बढी बिक्री हुने नेक्सन इभीको मूल्य ४६ लाख रुपैयाँ पुगेको छ। यो मूल्यपछि भेन्यु र ब्रेजा प्रति उपभोक्ता आकर्षित हुन्छन्। त्यसमा पनि सांग्रिला मोटर्सले ल्याउन लागेको सिट्रोन इ-३ ले नेक्सन इभीलाई अप्ठेरो पार्नेछ।
यो महँगो हुँदा एक सय किलोवाटदेखि २ सय किलोवाटका टेस्ला र आयोनिक-५ क्रमश; ५२ र २१ लाख रुपैयाँसम्म सस्तो भएको छ। बजेटमा विद्युतीय गाडीमा नयाँ सेग्मेन्ट शून्यदेखि ५० किलोवाटसम्म बनाएर सांग्रिला मोटर्सले ल्याउन लागेको सिट्रोन इ-३ लाई सस्तो बनाइएको छ। यो गाडी ४२ किलोवाटको हो। यसमा १० प्रतिशत मात्रै भन्सार लाग्छ।

बजेटपछि कसको कति बढ्यो र घट्यो मूल्य ?
सरकारले ५० किलोवाटदेखि १०० किलोवाट सेग्मेन्टको विद्युतीय गाडीमा करको दर बढाएका कारण इभीको मूल्य ६ देखि १२ लाख रुपैयाँसम्मले बढ्ने भएको छ।
सरकारले ५० किलोवाटदेखि १०० किलोवाटसम्मको विद्युतीय गाडीमा ५ प्रतिशत भन्सार शुल्क बढाएर १५ प्रतिशत पुर्याउनुका साथै यो सेग्मेन्टमा १० प्रतिशत अन्त:शुल्क थपिएको छ।
यसले गर्दा यो वर्षको लागि सरकारले ५० देखि १०० किलोवाट सेग्मेन्टको गाडीमा कुल १५ प्रतिशत कर बढेको हो। यसमा सबै कार्गोदेखि अन्य सबै जोड्दा बढेको कर १८ प्रतिशतसम्म पुग्ने व्यवसायीहरुको भनाइ छ। त्यहीअनुसार अब इभीको मूल्य घट्ने र बढ्नेछ।
यसले गर्दा अब नेपालमा ४६ लाखमा बिक्री हुँदै आएका गाडीहरुको मूल्य ५२ लाख, ३६ लाखमा बिक्री गर्दै आएको गाडीको मूल्य ४३ लाख, ४८ लाखमा बिक्री हुँदै आएको इभीको मूल्य ५६ लाख र ६४ लाखमा बिक्री हुँदै आएका इभीको मूल्य ७५ लाख रुपैयाँ हाराहारीमा हुने छ।
५० देखि १०० किलोवाटसम्ममा बीवाइडीको एटो-३, नेक्सन, हुन्डाईको कोना, एमजी जेडएस इभी, नेटाभी पर्छन्। पछिल्लो समय पेट्रोलबाट चल्ने गाडीको विकल्पमा यी गाडीको बिक्री बढेको थियो।
सरदरमा यो गाडी ३५ लाखदेखि ६५ लाख रुपैयाँमा बिक्री भइरहेको थियो। अब यी सबै इभीहरुको मूल्य बढ्ने छ। चालु आर्थिक वर्षमा १०० किलोवाटभन्दा माथिको इभीमा कर बढेपछि मोटर पावर घटाएर गाडी ल्याउन थालेका थिए। तर, सो गाडीहरुको पनि मूल्य बढ्ने भएको छ।

टेस्ला र आयोनिक ५ को मूल्य ५२ लाखसम्म घट्ने
सरकारले लक्जरी इभीमा लाग्दै आएको करको दर घटाएपछि आयोनिक -५ र टेस्लाको मूल्य ५२ लाखसम्मले घट्ने भएको छ।
बजेटबाट १ सय किलोवाटदेखि २ सय किलोवाटसम्मको गाडीको भन्सार र अन्त:शुल्क १०/१० प्रतिशत घटाइएको छ। यो सेग्मेन्टमा भन्सार ३० प्रतिशत र अन्त:शुल्क ३० प्रतिशत लाग्दै आएको थियो। यसैगरी २०० देखि ३०० किलोवाट सेग्मेन्टमा पनि ५ प्रतिशत भन्सार शुल्क घटाएको छ।
यो सेग्मेन्टमा टेस्ला र आयोनिक-५ नेपालमा बिक्री भइरहेको छ। यो लक्जरी सेग्मेन्टमा पर्थ्यो। अहिले आयोनिक १ करोड १७ लाख रुपैयाँ र टेस्ला २ करोड ९० लाख रुपैयाँसम्ममा बिक्री भइरहेको थियो। यसले टेस्ला र आयोनिक गाडीको मूल्य घट्ने भएको हो।
आयोनिक ५ को मूल्यमा २१ लाख रुपैयाँको हाराहारीमा घट्ने भएको छ। यसले यो गाडीको मूल्य ९६ लाख रुपैयाँ पर्ने अनुमान गरिएको छ।
यस्तै टेस्लाको मूल्य धेरै घट्नेछ। यो गाडीमा पनि सेग्मेन्ट अनुसार २२ लाखदेखि ५२ लाख रुपैयाँसम्म मूल्य घट्ने भएको छ। १ करोड ४५ लाख रुपैयाँमा बिक्री गर्दै आएको टेस्ला मोडेल ३ को मूल्य लगभग २६ लाख रुपैयाँले घट्ने भएको छ। अब यो गाडीको मूल्य १ करोड १९ लाख रुपैयाँ कायम हुने अनुमान गरिएको छ।

कुन गाडी कति किलोवाट क्षमताका छन् ?
अहिले नेपालमा १०० किलोवाटभन्दा कम क्षमताका धेरै गाडीहरु बिक्री भइरहेका छन्। बीवाइडीको एटो -३ दुई वटा भेरियन्टमा उपलब्ध रहेका छन्। जसमा एउटा १०० किलोवाट र अर्को १५० किलोवाटमा उपलब्ध छ। यसको १०० किलोवाटको मूल्य बढ्छ भने १५० किलोवाट क्षमताको एटो-३ को मूल्य घट्छ।
एमजी जेडएसमा पनि ९९ किलोवाटको छ। यस्तै एमजीको लङ रेन्ज जेडएस इभीमा १२५ किलोवाटमा पनि उपलब्ध छ।
यसैगरी टाटाको नेक्सन इभी म्याक्स ९९ किलोवाट र नेक्सन इभी ९५ किलोवाट क्षमताका छन्। टाटा टिगोर ५५ किलोवाट आवरको मोटरमा उपलब्ध छ।
हुन्डाईको आयोनिक ५, १२५ किलोवाटको छ। यसैको कोना इभी भने १०० किलोवाट क्षमताको छ। टेस्ला १९८ किलोवाट रहेको छ। यस्तै अर्को २९८ किलोवाटसम्मको छ।