प्राधिकरणले शनिबार भारतलाई बेच्यो २५ मेगावाट बिजुली, आन्तरिक उत्पादनले धान्‍न थाल्यो

बिजमाण्डू
२०८० जेठ १४ गते १०:२१ | May 28, 2023
प्राधिकरणले शनिबार भारतलाई बेच्यो २५ मेगावाट बिजुली, आन्तरिक उत्पादनले धान्‍न थाल्यो

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले शनिबार भारतीय प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्जमा करिब २५ मेगावाट विद्युत बेचेको छ।

Tata
GBIME
Nepal Life

प्रि-मनसुन सुरु भएर उत्पादन बढ्न थालेसँगै प्राधिकरणले विद्युत निर्यात थालेको हो। प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईका अनुसार शुक्रबार भारतीय प्रतिस्पर्धी बजारमा २५ मेगावाट (६०० मेगावाट आवर) विद्युत बेच्नका लागि बिडिङ भएको थियो।

उक्त परिमाणको विद्युत इण्डियन इनर्जी एक्सचेन्जनमा बिक्री भएको बताए। ‘पानी परेर विद्युत उत्पादन बढेका कारण शनिबार बिक्री भयो। अहिले उत्पादन कम भएको छ। उत्पादन बढेपछि पुन: बिक्री थाल्छौं,’ उनले भने, ‘अहिले आयात गर्नुपरेको छैन। आन्तरिक उत्पादनले धानेको छ।’ आवश्यकता अनुसार खरिदबिक्री भइरहने उनले बताए। आइतबार भने बिक्रीका लागि विद्युत नै नभएको उनको भनाइ छ।

भारतीय प्रतिस्पर्धी बजारको डे-अहेड बजारमा ४.६४ रुपैयाँ भारु अर्थात ७.४२४ रुपैयाँ प्रतियुनिट औसत मूल्य छ।

नेपालको जडित क्षमता करिब २७ सय मेगावाट पुगेको छ। यही बर्खामा ३ हजार मेगावाट पुग्ने प्रक्षेपण प्राधिकरणको छ। पिक डिमान्ड १८ सय मेगावाट पुगेको भए पनि औसत माग १४ सयदेखि १५ सय मेगावाटसम्म मात्रै छ। भारतले करिब ४ सय मेगावाट विद्युत निर्यातका लागि स्वीकृति दिएको छ।

यस हिसाबले करिब १००० मेगावाट विद्युत यही बर्खामा सरप्लस हुने अवस्था छ। आन्तरिक खपत अपेक्षाकृत नभएका कारण  भारत निर्यातको विकल्प छैन। नेपालको भारतसँग मात्रै विद्युत व्यापार सम्झौता छ। भारतले यही बर्खा बिजुली नकिन्ने हो भने ठूलो समस्या निम्तिन सक्छ।

नेपाल र बंगलादेशबीच भर्खरै सम्पन्‍न ऊर्जा सचिवस्तरीय बैठकमा ४० मेगावाट विद्युत व्यापार सुरु गर्न सम्झौता भएको छ। नेपालबाट उत्पादित विद्युत बंगलादेश लैजान भारतको प्रसारण प्रणाली प्रयोग गर्नुपर्छ। प्रयोगका लागि भारतले अहिलेसम्म स्वीकृति दिइसकेको छैन।  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्‍न भारत भ्रमणमा जलविद्युतका दर्जनौं एजेण्डामा छलफल हुँदैछ। नेपालले भ्रमणका दौरान सरप्लस हुने सम्पूर्ण बिजुली किनिदिन प्रस्ताव गर्न लागेको ऊर्जा मन्त्रालयका एक अधिकारीले बताए।

उनले भारत भ्रमणको क्रममा विद्युत व्यापार प्राथमिकतायुक्त एजेण्डा हो। ढल्केबर-मुजफ्फरपुर ४०० केभी प्रसारणलाइनबाट मात्रै नेपालले विद्युत निर्यात गर्न पाउँछ। जसबाट अधिकतम ८०० मेगावाट प्रसारण हुन सक्छ। बिहारसँग १३२ केभीका दुईवटा लाइन जोडिएका छन्। जसबाट विद्युत आयात हुने भए पनि निर्यातको स्वीकृति छैन।

नेपालले बिहारसँग जोडिएको १३२ केभी प्रसारणलाइनबाट समेत निर्यातको प्रस्ताव गर्न लागेको छ। यो लाइनबाट निर्यातको अनुमति पाउने हो भने थप ४०० मेगावाट बिजुली भारत पठाउन सकिन्छ। ढल्केबर-मुजरफ्फरपुर ४०० केभी प्रसारणलाइन र दुई लाइन गरि जम्मा १२०० मेगावाटसम्म बिजुली भारत निर्यात गर्न सकिन्छ।