राजस्व अनुगमन गर्न वडालाई काठमाडौं महानगरको पत्राचार, अनलाइनबाट कर बुझाउन प्रोत्साहन

बिजमाण्डू
२०८० जेठ १२ गते ०९:१३ | May 26, 2023
राजस्व अनुगमन गर्न वडालाई काठमाडौं महानगरको पत्राचार, अनलाइनबाट कर बुझाउन प्रोत्साहन


काठमाडौं। काठमाडौं महानगरपालिकाको राजस्‍व विभागले वडास्तरीय राजस्व अनुगमनका लागि वडा कार्यालयहरुलाई पत्र पठाएको छ।

Tata
GBIME
NLIC

महानगरले बुधबार पठाएको पत्रमा वडाभित्र रहेका सम्पत्ति कर र बहाल कर बुझाए/नबुझाएको, व्यवसाय दर्ता र नवीकरण भए/नभएको हेर्नका लागि अनुगमन गर्न भनेको छ। अनुगमनको क्रममा अनलाइन राजस्‍व दाखिला प्रणालीबाट कर दाखिला गर्न प्रोत्साहन गर्न, प्रणाली सञ्चालनका विषयमा जानकारी गराउन अनुरोध गरिएको छ।

जेठ १ गते बसेको महानगर कार्यपालिकाको बैठकले राजस्व अनुगमन गर्ने निर्णय गरेको थियो। त्यसलाई कार्यान्वयन गर्न अनुगमन टोली बनाइएको छ। टोलीमा जनप्रतिनिधि र कर्मचारी रहनेछन्।

अनुगमन टोलीको छनोट वडा अध्यक्षले गर्नेछन्। तोकिएको दिनमा सम्बन्धित करदाताहरु भएको स्थानमा पुगेर सम्पत्ति कर, बहाल कर र व्यवसाय दर्ता नवीकरणको फारम भरिनेछ। यस क्रममा आवश्यक कागजातहरुको प्रतिलिपि समेत लिइने छ। यसरी भरिएका विवरण फारमहरु हरेक दिन वडा कार्यालयमा बुझाइनेछ।

वडा कार्यालयमा प्राप्त भएका फारामहरु कम्प्युटरमा इन्ट्री गराएर प्रमाणपत्र तथा कर चुक्ता जारी गरिनेछ। यसबापत तिर्नुपर्ने कर तथा राजस्व सम्बन्धित करदाताहरुलाई अनलाइन प्रणालीबाट तिर्न लगाइने छ। यसपछि प्रमाणपत्र स्थलगत रुपमा उपलब्ध गराइनेछ।

अनलाइन प्रणालीबाट राजस्व भुक्तानी नगर्ने करदाताहरुलाई कर बुझाउन र प्रमाणपत्र तथा कर चुक्ता बुझ्न वडा कार्यालयमा नै बोलाइनेछ। अनुगमन टोलीले दैनिक ८ घण्टा काम गर्ने महानगरले जनाएको छ।