नागढुंगा-नौबिसेमा मुख्य सुरुङ खन्न अब ९७९ मिटर मात्र बाँकी, बलम्बु फ्लाइओभरको काम पनि धमाधम

शुक्र गिरी
२०८० जेठ ११ गते ०८:१० | May 25, 2023
नागढुंगा-नौबिसेमा मुख्य सुरुङ खन्न अब ९७९ मिटर मात्र बाँकी, बलम्बु फ्लाइओभरको काम पनि धमाधम

काठमाडौं। नागढुंगा-नौबिसे सुरुमार्गको मुख्य सुरुङ खन्ने कामको प्रगति ८२.२० प्रतिशत पुगेको छ। ५ हजार ४ सय ९९ मिटरमध्ये अब ९ सय ७९ मिटर मात्रै खन्न बाँकी छ।

Tata
GBIME
Nepal Life

‘मुख्य सुरुङ खन्ने काम अब धेरै बाँकी छैन,’ नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण आयोजनाका इन्जिनियर कल्याण खड्काले भने, ‘मुख्य सुरुङ र इभ्याकुएसन गरी ४ हजार ५ सय २० मिटर खनिसकियो।’

काठमाडौंतर्फ मुख्य सुरुङ ९ सय २५.८० मिटर र इभ्याकुएसन १ हजार २ सय २१.७० मिटर पुरा भएको जानकारी उनले दिए। धादिङतर्फ १०७६.८० मिटर मुख्य र १०८४.१० मिटर इभ्याकुएसन टनेल खन्ने काम पुरा भएको छ।

धादिङतर्फ १ सय २६ मिटर अडिट टनेल पूरा भएको छ भने ८६.२५ मिटर क्रस प्यासेज निर्माण भएको छ।

इभ्याकुएसन टनेल आपतकालीन अवस्थामा प्रयोगका लागि मुख्य सुरुङमार्गसँगै समानान्तर हुनेगरी बनाइने सुरुङ हो। यसरी समानान्तर हुनेगरी खनिने स्केप टनेललाई प्रत्येक ३७५ मिटरमा सहायक बाटो (क्रस प्यासेज) ले मुख्य सुरुङसँग जोड्छ।

सुरुङमार्गको फिनिसिङको काम पनि दुवैतर्फबाट भइरहेको खड्काले जनाएको छ। खड्काका अनुसार फिनिसिङको लागि कंक्रिट लाइनिङ गर्ने काम ३५.९० प्रतिशत अर्थात ९६५.७० मिटर सकिएको छ।

आयोजनाले हरेक महिना यसको काम १ सय मिटर पुरा गर्ने गरेको खड्का बताउँछन्। यो फिनिसिङ लाइनिङको काम पुरा भएको स्थानमा गाडी संचालन गर्ने सकिने अवस्थामा तयार पारिएको छ।

हालसम्म भौतिक रुपमा लगभग ५३.४२ प्रतिशत काम सम्पन्न भएको छ। जसमा आर्थिक रुपमा ५८.३२ प्रतिशत खर्च भइसकेको खड्काले बताए।

अहिले आयोजनाले निर्माण व्यवसायीलाई मासिक ५ करोडदेखि ६ करोडसम्म भुक्तानी गर्ने गरिएको छ। यसरी हालसम्म लगभग १२ अर्ब रुपैयाँ खर्च भएको आयोजनाले जनाएको छ।

यसैगरी आयोजनाको म्याद एक वर्षको लागि थप भएर आएको खड्का बताउँछन्। सन् २०२४ अप्रिल २५ सम्म म्याद थपिएको हो।

फ्लाइओभर निर्माणको काम पनि धमाधम

खड्काले यस आयोजनामा निर्माण गर्न लागिएको फ्लाइओभर निर्माणको कामले पनि तीव्रता पाएको बताए। उनका अनुसार अहिले यस फ्लाइओभर निर्माणमा ३ वटा फाउन्डेसनको काम सम्पन्न भएको छ।

यस्तै ५ वटा सबस्ट्रक्चर निर्माण गर्नुपर्नेमा २ वटाको काम सम्पन्न भएको खड्का बताउँछन्। यसमा अहिलेसम्मको भौतिक प्रगति ५२ प्रतिशत सकिएको छ।

यसैगरी, ३ वटा अन्डरपास, ४ वटा बक्स कल्भर्ट, एउटा ओभरपास र ३ वटा साना पुलहरु निर्माण गर्ने काम सम्पन्न भइसकेको खड्काले बताए।

खड्काका अनुसार यसका लागि जग्गा अधिग्रहण गर्न मुआब्जा वितरणको काम पनि ९६ प्रतिशत सम्पन्न भएको छ। अब केही समस्या भएकाहरुको मात्र वितरण गर्न नसकिएको खड्का बताउँछन्।

‘हामीले अहिले मुआब्जा निर्धारण समितिको बैठकको लागि सीडीओसँग अनुरोध गरिएको छ। बाँकी मुआब्जा दिनलाई पैसाको समस्या छैन,’ उनले भने ‘मुआब्जा वितरणको लागि केही व्यवहारिक बाधा रहेका छन्। जसमा कसैको पुर्जामा जग्गा धेरै नक्सामा कमी हुने र एउटाको नाममा घरजग्गा हुने अर्को घरमा बस्ने जस्ता समस्या छन्।’

यसैगरी पहिरो आउने ठाउँतिरको लागि कस्तो स्ट्रक्चर बनाउने कति जग्गा आवश्यक पर्ने भनेर आयोजनाले फाइल उठाएर मन्त्रालय पठाइएको खड्काको भनाइ छ। यसलाई मन्त्रीपरिषद्‍बाट स्वीकृत भएपछि मात्र काम अगाडि बढ्ने खड्का बताउँछन्। खड्काका अनुसार यसका लागि १४ आना जग्गा आवश्यक पर्ने देखिएको छ।

यो फ्लाइओभर काठमाडौंबाट सुरुङमार्ग जान र सुरुङमार्गबाट काठमाडौं आउनको लागि प्रयोग गरिन्छ। बिचमा फ्लाइओभर हुन्छ। फ्लाइओभरको दुई साइडतिर भने सडक नै हुन्छ। यही सडकले सब वे जोड्ने काम गर्छ। यस्तै थानकोटबाट जाने र छिर्ने बाटो भने फ्लाइओभरको दायाँ साइडबाट प्रयोग गरिन्छ।