इप्पानको निर्वाचन जेठ ३२ गते गर्ने निर्णय, अध्यक्षमा कार्की र मल्ल प्रतिष्पर्धी

बिजमाण्डू
२०८० जेठ ८ गते १६:०५ | May 22, 2023
इप्पानको निर्वाचन जेठ ३२ गते गर्ने निर्णय, अध्यक्षमा कार्की र मल्ल प्रतिष्पर्धी

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) को आगामी साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएको छ।

Tata
GBIME
Nepal Life

इप्पानको आइतबार बसेको कार्यसमितिको बैठकले जेठ ३२ गते २१ औं साधरणसभासंगै नयाँ नेतृत्वका लागि निर्वाचन गर्ने निर्णय गरेको हो। निर्वाचन प्रक्रियामा भाग लिनका लागि जेठ २५ गतेभित्र सदस्यता नविकरण गर्नुपर्नेछ।

साधारणसभाको तयारीका लागि उपाध्यक्ष मोहनकुमार डाँगीको संयोजकत्वमा समिति बनाइएको छ। समितिमा सचिव रामप्रसाद आचार्य र सदस्य प्रकाश दुलाल रहेको छन्।

अध्यक्षका लागि दुई प्रतिस्पर्धी ?

इप्पान अध्यक्षका लागि सुरुमा वर्तमान कार्यसमितिका तीन उपाध्यक्ष मोहन कुमार डाँगी, आशिष गर्ग, गणेश कार्की र किरण मल्ल गरी चार जना इच्छुक देखिएका थिए।

तर डाँगीले गणेश कार्कीलाई समर्थन गर्ने भएका छन् भने गर्गले अहिलेसम्म तयारी नै थालेका छैनन्। त्यही भएर अध्यक्षमा कार्की र मल्लबीच प्रतिष्पर्धा देखिएको छ। ‘सकेसम्म हामी सर्वसम्मत गर्छौं,’ इप्पानका एक अधिकारीले भने,’ चुनाव हुने सम्भावना कम छ।’

मल्ल हाइ हिमालयन हाइड्रो कन्स्ट्रक्सन प्रालिका अध्यक्ष हुन्। उनी युनियन मेवा हाइड्रोमा पनि अध्यक्ष छन्। उनी इप्पानको कार्यसमिति सदस्यमा निर्वाचित भइसकेका छन्। उनले बुटवल पावर कम्पनीमा समेत काम गरिसकेका छन्।

कार्की वर्तमान कार्यसमितिका उपाध्यक्ष हुन्। उनी सिंगटी हाइड्रोपावर, बेनी हाइड्रोपावर, अपर खुदी हाइड्रोपावरमा प्रबन्ध निर्देशकका रुपमा कार्यरत छन्। सिंगटी हाइड्रोपावरले दोलखामा २५ मेगावाटको सिंगटी खोला जलविद्युत आयोजना निर्माण गरेको छ। पिपुल्स हाइड्रोपावरका निर्देशक समेत छन्।