
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले अर्थतन्त्रमा सुधार देखिएको भन्दै ब्याजदरमा सुधार आएको र लगानीको वातावरण तयार हुँदै गएको बताएका छन्।
शुक्रबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपतिले निजी क्षेत्रको बलियो साझेदारीबाट उत्पादकत्व वृद्धि गर्ने सरकारको योजना रहेको बताए।
उनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राजस्व प्रशासनलाई चुस्त बनाउँदै राजस्वको दायरा फराकिलो बनाइने बताए।
राष्ट्रपतिले आर्थिक प्रशासनलाई थप पारदर्शी बनाउँदै सरकारी खर्चलाई मितव्ययी बनाइने बताए। विद्युतीय खरिद प्रणालीलाई क्रमश: अनिवार्य बनाइँदै लगिने बताए।
वित्तीय संघीयताको प्रभावकारी कार्यान्वयन गरिने भन्दै उनले आन्तरिक ऋणको सीमालाई बढी यथार्थपरक बनाइने बताए। तीनै तहका सरकारको कार्यक्रमलाई सामजस्यता मिलाएर लगिने बताए। उनले बजारमा तरलता समस्याको अवस्था आउन नदिने बताए।
बैंक तथा वित्तीय संस्थाका बचतकर्ताको हित संरक्षण गर्दै ऋण लगानी उत्पादनमूलक क्षेत्रमा गरिने व्यवस्था मिलाइने बताए। राष्ट्रिय सहकारी नीतिमा परिमार्जन गरिने भएको छ।
पुँजी बजारको विकास र विस्तारका लागि संरचनागत सुधार गरिने भएको छ। गैरआवासीय नेपालीलाई पुँजी बजारमा खुला गरिने बताए।
राष्ट्रपतिले पुरानै कार्यक्रमहरुलाई वाचन गरेका छन्। उनले देशभर बीमाको पहुँच विस्तार गरिने बताए। लघुबीमा गर्न सहजीकरण गर्ने बताए। १६औं आवधिक योजना तर्जुमा गरिने बताए।
राष्ट्रपति अस्वस्थ भएका कारण उनलाई नीति तथा कार्यक्रम वाचन गर्न गाह्रो भएको देखिन्छ। उनलाई सहयोगीले समाएर संसद भवनभित्र ल्याउनु परेको थियो। उनी भर्खरै दिल्लीमा स्वास्थ्य उपचार गराएर फर्किएका हुन्। उपचारपछि पहिलोपटक राष्ट्रपति पौडेल सरकारको नीति तथा कार्यक्रमका लागि सार्वजनिक रुपमा देखापरेका हुन्।