नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष किन गएका थिए मलेसिया ? यस्तो छ कारण

वसन्तराज उप्रेती
२०८० जेठ २ गते १८:४५ | May 16, 2023
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष किन गएका थिए मलेसिया ? यस्तो छ कारण

काठमाडौं। नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी मलेसिया गएर फर्किएका छन्। निगमबाट फरेन एयरक्राफ्ट अपरेसन सर्टिफिकेटमा आएको समस्या हल गर्न भन्दै उनी मलेसिया गएका हुन्।

Tata
GBIME
Nepal Life

निगममा मलेसियाको उड्डयन प्राधिकरणसँग छलफल गर्न गएको उल्लेख गरेपनि अष्ट्रेलिया उडानका लागि जनरल सेल्स एजेन्ट नियुक्तिका लागि नेगोसिएसन गर्न गएको स्रोतले बतायो।

‘निगममा कार्यकारी अध्यक्षले मलेसियाको उड्डयन प्राधिकरणसँग छलफल गर्न जाने भन्नुभएको छ। तर यो विशुद्ध अष्ट्रेलियाको लागि जिएसए नियुक्ति बारे छलफल गर्न कुनै पार्टीसँग छलफल गर्न जानुभएको हो,’ निगमका एक कर्मचारीले बिजमाण्डूसँग भने, ‘दुबै पक्षका लागि सबैभन्दा सुरक्षित मिटिङ प्वाइन्ट मलेसिया तय भएर उहाँ जानुभएको हो।’

अधिकारीले व्यवसायिक योजना बनाउँदै अष्ट्रेलिया उडानको प्रक्रिया थालेका छन्। नयाँ पर्यटनमन्त्री सुदन किराँतीलाई प्रभाव पार्न अष्ट्रेलिया उडानको प्रक्रिया अधिकारीले थालेका थिए। त्यही योजना अनुसार जिएसए नियुक्तिको प्रक्रिया अगाडि बढाउन खोजिएको हो।

तर अधिकारी अष्ट्रेलियाका लागि जिएसए नियुक्तिका बारेमा छलफल गर्न नगएको जिकिर गर्दै कुनै एउटा समूहले अफवाह फैंलाइरहेको बताउँछन्। ‘जिएसए नियुक्ति ग्लोबल टेण्डरमार्फत हुने हो। यो निगमको संचालक समितिबाट निर्णय भएरपछि मात्रै अगाडि बढ्छ,’ उनले बिजमाण्डूसँग भने, ‘केही स्वार्थ बाझिएका व्यक्तिबाट दुस्प्रचार गरिएको छ।’

घाटाको बिजनेश

निगमसँग भएको एयरबस ३३०-२०० सिरिजको जहाजबाट काठमाडौं-अष्ट्रेलिया ननस्टप फ्लाइट उडान सम्भव हुँदैन। यो गन्तब्यमा सिंगापुरमा स्टपओभर गर्नुपर्छ।

‘३३०-२०० सिरिजको यो जहाज अन्तर्गत २४२ टन क्षमताको अर्डर गरिएको थियो। तर हाम्रो जहाज २३० टनको आइपुग्यो। यदि अतिरिक्त १२ टनको क्षमता भएको भए ननस्टप फ्लाइट उडान गर्न सकिन्थ्यो,’ निगमका एक इन्जिनियरले भने,’लोड कम कायम गर्नु पर्ने भएका कारण यो जहाजमार्फत ननस्टप उडान सम्भव छैन।’

यो जहाज एक पटकमा अधिकतम १४ घण्टा उड्न सक्छ। तर पूर्ण रुपमा इन्धन र प्यासेन्जर लोडमा कम्प्रमाइज हुन्छ। प्रतिघण्टा चार हजार लिटर इन्धन खपत हुने यो गन्तब्य करिब १४ घण्टा दुरी रहेको छ।

‘फुल लोडमा काठमाडौं-सिड्नी उडान गर्दा २७४ सिट क्षमता भएको वाइडबडी जहाजमा १२५ जना भन्दा बढी यात्रु राख्न मिल्दैन,’ती प्राविधिकले भने, ‘ननस्टप फ्लाइट गर्दा यात्रु अकुपेन्सी नै कम हुँदा निगमलाई नोक्सानी नै हुन्छ। अब यो भन्दा बढी अकुपेन्सीमा उडान गर्नका लागि सिंगापुरमा टेक्निकल ल्याण्डlङ गर्न पर्ने हुन्छ।’

यस अघि निगमले कोभिडको समयमा गरेको उद्धार उडानमार्फत अष्ट्रेलिया-नेपाल तीनवटा ननस्टप फ्लाइट गरेको थियो भने दुईवटा उडान मलेसियामा टेक्निकल ल्याण्डिङ गरेर आएको थियो।

वाइडबडी सिरिजको जहाजमार्फत टेक्निकल ल्याण्ड गरेर उडान गर्दा अतिरिक्त संचालन खर्चमा वृद्धि हुने उनले बताए। ‘टेक्निकल ल्याण्डका लागि एक घण्टा जति समय लाग्छ। ल्याण्डिङ, पार्किङ, ग्राउण्ड ह्याण्डलिङ चार्ज लाग्छ। चार देखि पाँच जना डेडिकेटेड स्टाफ राख्नुपर्ने हुन्छ। यसका लागि कार्यालय  पनि स्थापना गर्नुपर्ने हुन्छ,’ उनले भने।

हाल काठमाडौं-अष्ट्रेलिया थाइ एयरवेज, मलेसिया एयरलाइन्स, क्याथे प्यासिफिक, मलिन्दो लगायत विभिन्न वायुसेवा  कम्पनीले ट्रान्जिट हुँदै उडान सेवा दिँदै आएका छन्।

भीआइपी लगेर उद्घाटन गरेको काडमाडौं-रियाद सिधा उडानमा ठूलो धक्का

एक वर्ष अगाडि निगमले भीआइपी टोलीसहित उद्घाट्न गरेको रियाद उडान पनि व्यवसायिक रुपमा असफल भएको छ।

‘यो व्यवसायिक योजनामा व्यवस्थापन पक्षनै फेलर भएको हो। करिब ७ घण्टाको उडानमा एक सय यात्रु अकुपेन्सी कायम गर्न धौधौ रहेको छ,’ उनले भने,’डाइरेक्ट फ्लाइट छ भन्दैमा मान्छे सबैले निगमकै जहाज प्रयोग गर्छन् भन्ने त यहीँबाट देखिएन। त्यही भएर अब रियाद बन्द गरेर निगम दमाम जाँदै छ।’

सिधा उडानका लागि प्रयोग गरेको १५८ सिट क्षमताको न्यारोबडी जहाजमा १०० जना यात्रु अकुपेन्सी  कायम गर्न कठिन छ।