
काठमाडौं। नाफा बढेसँगै तारागाउँ रिजेन्सी होटल लिमिटेडको प्रति सेयर आम्दानीमा निकै सुधार छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी गत वर्षको सोही अवधिको तुलनामा १० रुपैयाँले बढेको हो।
यो त्रैमाससम्म कम्पनीको प्रति सेयर आम्दानी १२.६६ रुपैयाँ छ। गत वर्ष सोही अवधिमा २.२० रुपैयाँ थियो। कम्पनीले नाफामा छलाङ मार्दा प्रति सेयर आम्दानी बढेको हो। वित्तीय विवरण अनुसार कम्पनीले चालु आव चैत मसान्तसम्म २३ करोड ८८ लाख खुद नाफा कमाएको छ। गत वर्ष सोही अवधिमा कम्पनीको खुद नाफा ४ करोड १४ लाख थियो।
कोभिड-१९ को प्रभाव घट्दै जानुका साथै मुलुकमा पर्यटन गतिविधिमा सुधार आउँदा कम्पनीको नाफा बढेको हो।
चैत मसान्तसम्म कम्पनीको प्रति सेयर नेटवर्थमा पनि सुधार देखिएको छ। हाल कम्पनीको प्रति सेयर नेटवर्थ १३१.६९ छ। गत वर्ष ११८.२१ थियो।
यस्तै मूल्य आम्दानी अनुपात ३६.७३ छ। कम्पनीको चुक्ता पुँजी हाल १ अर्ब ८८ करोड छ भने जगेडा कोषमा ५१ करोड बराबर रकम सञ्चित छ।