
काठमाडौं। नागरिक पत्रिका प्रकाशन गर्दै आएको नेपाल रिपब्लिक मिडियाले आजबाट प्राथमिक सेयर (आइपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ।
कम्पनीले आजबाट पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिइ वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि सेयर निष्कासन गरेको हो।
कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ छ। कम्पनीले यसको कुल ४४.९९ प्रतिशतले हुन आउने ४३ करोड ५४ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता सेयर जारी गर्ने छ। यसैबाट रोजगारीमा गएका नेपालीलाई दिने लागेको हो।
कुल जारी गर्न लागेको सेयरमध्ये ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ।
यस्तै १० प्रतिशतले हुन आउने ४ लाख ३५ हजार ३०० कित्ता सेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिन सक्नेछन्।
बाँकी रहेको ३५ लाख २५ हजार ९३० कित्ता सेयर भने धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ (छैटौं संशोधन) र धितोपत्र निष्कासन तथा बाँटफाँट निर्देशिका २०७४ को अधीनमा रहि दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन गर्ने कम्पनीको तयारी छ।
वैदेशिक रोजगारीमा गएका नेपालीले वैशाख ३१ गतेबाट जेठ १४ गतेसम्म सेयर खरिदका लागि आवेदन दिन सक्ने छन्। आवेदन न्यूनतम १० कित्ता र अधिकतम ५०० कित्ताका लागि दिन पाइने सेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले जनाएको छ।
प्रकाशन गरिएको विवरण अनुसार आर्थिक वर्ष २०७६/७७ मा कम्पनी ४१ करोड ४५ लाख नोक्सानीमा थियो। यस्तै २०७७/७८ मा ४६ करोड ३५ लाख र गत आर्थिक वर्ष २०७८/७९ मा कम्पनी ५१ करोड ८ लाख नोक्सानीमा थियो।
चालु आर्थिक वर्षको चैत मसान्तसम्मकै वित्तीय विवरण हेर्दा पनि कम्पनी ४७ करोड नोक्सानीमा छ। कम्पनीले चुक्ता गर्नुपर्ने दायित्व बढी भएसँगै आम्दानीको मुख्य स्रोतमा रहेको विज्ञापनमा नै गिरावट आउँदा नाफा प्रभावित भएको हो। यस अवधिमा कम्पनीको प्रति सेयर नेटवर्थ ८६.१३ रुपैयाँ र प्रति सेयर आम्दानी ७.२२ रुपैयाँ छ।
यसका साथै रुस-युक्रेन युद्धका कारण कागजको मूल्य अत्यधिक महँगिएको बताइएको छ। संसारभर पत्रिका छाप्न प्रयोग हुने कागजको ठूलो आपूर्तिकर्ता रुस हो।
१४ वर्षअघि स्थापना भएको यो कम्पनीका प्रबन्ध निर्देशक विनोद ज्ञवाली र निर्देशकमा शोभा ज्ञवाली छन्। कान्तिपुर पब्लिकेसन्सबाट साझेदार छुट्टिएर खडा भएको यो कम्पनीमा एग्रेसिभ लगानी भएको थियो।
सुन्धाराको जेडीए कम्प्लेक्समा कम्पनीको कर्पोरेट कार्यालय छ। यस्तै इमाडोल, विराटनगर र नेपालगंजमा छापाखाना छ।
कम्पनीले आइपीओ जारी गर्न आइआरएस बी प्लस रेटिङ पाएको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ।