राष्ट्र बैंकको संचालक समिति बन्यो पूर्व क्याडरको भर्ती केन्द्र, निर्णय प्रभावकारिता हरायो

बिजमाण्डू
२०८० बैशाख २६ गते १२:१४ | May 9, 2023
राष्ट्र बैंकको संचालक समिति बन्यो पूर्व क्याडरको भर्ती केन्द्र, निर्णय प्रभावकारिता हरायो

काठमाडौं। नेपाल राष्ट्र बैंकको संचालक समितिमा अर्थसचिव बाहेक जम्मै त्यहीँका पुराना कर्मचारी-पदाधिकारी छन्। रिक्त रहेको एक संचालकका लागि पनि राष्ट्र बैंककै पूर्व क्याडरहरुले दाबी गरिरहेका छन्।

Tata
GBIME
Nepal Life

अर्थसचिवमा अर्जुनप्रसाद पोखरेल आउनुअघिको संचालक समितिमा ६ जनानै राष्ट्र बैंकका पूर्व क्याडर थिए। अघिल्ला अर्थसचिव तोयम राया राष्ट्र बैंकका पूर्व कर्मचारी थिए। उनी त्यहाँ छाडेर निजामतीतिर आएका हुन्।

राजनीतिक नियुक्ति भए पनि कार्यकारी निर्देशकबाट दुई जना डेपुटी गभर्नरमा बढुवा भएका छन्। डा. निलम ढुंगाना र बमबहादुर मिश्र डेपुटी गभर्नरका हिसाबले पदेन संचालक हुन्। गभर्नर महाप्रसाद अधिकारी पनि राष्ट्र बैंककै कर्मचारी हुन्। उनी डेपुटी गभर्नर भएर अवकाश भएका थिए।

अन्य दुई संचालक चिन्तामणि शिवाकोटी यसअघि डेपुटी गभर्नर थिए भने डा. शंकरप्रसाद आचार्य कार्यकारी निर्देशकबाट अवकाश भएका हुन्।

अहिले एउटा संचालक पद रिक्त छ, जसमा पनि राष्ट्र बैंककै क्याडरहरुले दाबी गरिरहेका छन्। संचालक हुन जोडतोडले  लागिपरेकामा एक नम्बरमा आउँछन् पूर्व डेपुटी गभर्नर शिवराज श्रेष्ठ। उनलाई विगतमा सरकारले नै आर्थिक अनियमिततामा संलग्न रहेको भनेर कारवाही गरेको थियो। पछि उनलाई सफाइ दिइयो।

नेपाल राष्ट्र बैंक ऐनको १७ नम्बर दफाले संचालक नियुक्तिको व्यवस्था गरेको छ। त्यसको उप दफा ‘२’ मा ‘अलग-अलग क्षेत्रको प्रतिनिधित्व हुने गरी नियुक्त गर्नु पर्ने’ उल्लेख छ।

ऐनको २० नम्बर बुँदाको ‘ग’ ले  विश्वविद्यालयका प्राध्यापक, वाणिज्य बैंकहरुका कार्यकारी प्रमुख भइसकेका, अन्तर्राष्ट्रिय संघसंस्थाको कार्यकारी तहको पदमा काम गरेको व्यक्तिलाई संचालक बनाउने बाटो दिएको छ। तर, राष्ट्र बैंकको जागिरबाट अवकाश भएको केही समयमै संचालक दाबी गर्नेहरुको भीड ठूलो देखिएको छ। राष्ट्र बैंकका क्याडरहरु भिडेपछि स्वतन्त्र रुपमा काम गरेकाहरुले दाबी छाडिदिएका छन्।

यदि सरकारले राष्ट्र बैंककै क्याडरबाट कसैलाई संचालक बनाएमा त्यो राष्ट्र बैंक ऐनको बर्खिलाप देखिने विज्ञहरु बताउँछन्।

‘संचालक समितिमा विविधता चाहिन्छ। त्यसो भयो भने फरक-फरक विचारहरु आउँछन्,’ राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका नरबहादुर थापाले बिजमाण्डूसँग भने, ‘त्यहीँबाट हुर्किएकाहरु सञ्चालक समितिमा भेला भए भने फरक धारणा आउँदैन। अर्को विचार आउँदैन। राष्ट्र बैंकको निर्णय एकांकी हुन्छ र त्यो वास्तविकताभन्दा पर हुन जान्छ।’

भारतको केन्द्रीय बैंकदेखि अमेरिकाको फेडरल रिजर्भसम्मको उदाहरण दिँदै भने उनले फरक विचारको प्रतिनिधित्व होस् भनेर संचालक समितिमा फरक पृष्ठभूमिका विज्ञहरुलाई ल्याइने बताए। भारतमा संचालक मात्र होइन डेपुटी गभर्नरसमेत बाहिरबाट नियुक्त गर्ने गरिन्छ। 

‘अरु देशमा विश्वविद्यालयको प्राध्यापक, अन्तर्राष्ट्रिय एक्सपोजर भएको व्यक्तिहरुलाई लगिन्छ र मौद्रिक नीतिलाई यथार्थपरक बनाउने प्रयास गरिन्छ,’ थापाले भने, ‘तर यहाँ त के भएर के भएर एकांकी हुँदै गएको छ।’

उनका अनुसार, अहिले राष्ट्र बैंक संचालक समितिको गरिमा खस्किन थालेको छ। ‘समाजमा अलिकति योगदान गरेको, ख्याति प्राप्त व्यक्ति आएको भए  त्यसको गरिमा पनि बढ्थ्यो र अर्को दृष्टिकोण पनि आउँथ्यो,’ उनले भने, ‘तर, यहाँ भने जागिर सकिएपछि संचालक हुने लोभ धेरै देखियो।’

राष्ट्र बैंकका पुराना केही क्याडरले यसपाली दाबी छाडिदिएका छन्। उनीहरुलाई लागेको छ- संचालक समिति भनेको राष्ट्र बैंकका पूर्व कर्मचारी गएर भीड गर्ने ठाउँ होइन।

पूर्व बैंकर भुवन दहालका अनुसार उनले केही दिनअघि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकहरुसँग कुराकानी गरेका थिए। ती पूर्व कार्यकारीले ‘संचालक हुने चाहना आफूलाई भएको तर त्यहाँ जम्मै राष्ट्र बैंकको क्याडरले भरिएका कारण रिक्त एउटा पदमा पनि दाबी गर्दा अन्याय हुने’ बताएको दहालले बिजमाण्डूलाई सुनाए।

‘अहिले जहाँ पनि विविधताको कुरा छ। विविधता भयो भने न तयाँ कुरा आउँछ। यसको अर्थ यो होइन कि मैले संचालकका लागि लोभ गरिरहेको छु,’ उनले भने, ‘एउटै संस्थाका मान्छेहरु तलदेखि माथिसम्म हुँदा त्यहाँ नयाँ आइडियाहरु, नवीन सोचहरु आउँदैन।’

उनले विविधतायुक्त विचार जन्मिँदा नै निर्णय परिपक्व र प्रभावकारी हुने बताए। ‘बाहिरका केन्द्रीय बैंकहरुमा पनि कम्पोजिसन मिलाइएको हुन्छ,’ उनले भने, ‘त्यसो भयो भने केन्द्रीय बैंक थप प्रभावकारी हुन्छ।’

बजारको चर्चा अनुसार, अहिले राष्ट्र बैंकको संचालक लागि नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल, प्रभु बैंकका अध्यक्ष लीलाप्रकाश सिटौला र सिटिजन्स बैंकका अध्यक्ष राजनसिंह भण्डारीले पनि आकांक्षी छन्। उनीहरु दुबै राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त हुन्। डा. रवीन्द्र पाण्डे, दीलिपकुमार ढुंगानाले समेत आकांक्षा प्रकट गरेका छन्। उनीहरु पनि त्यहीँभित्रका क्याडर हुन्। 

अहिले सञ्चालक हुनका लागि केहीले तीव्र लबिङ थालिसकेका छन्। राष्ट्र बैंकका पूर्व क्याडरलाई संचालक बनाउन हुँदैन भनेर पनि लबिङ भइरहेको छ।