
काठमाडौं। बाराही हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाएको छ।
कम्पनीले आइपीओ बिक्री गरेको एक वर्ष पनि नपुग्दै हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाएको हो। कम्पनीले गएको मंसिर २६ गतेबाट सर्वसाधारणलाई आइपीओ बिक्री गरेको थियो।
कम्पनीको वैशाख २१ गते बसेको संचालक समितिको बैठकको निर्णयले हकप्रद सेयर जारी गर्ने प्रस्ताव अघि सारेको हो।
कम्पनीले ५१ प्रतिशत लगानी रहेको सिकोस खोला जलविद्युत आयोजना ३.४५ मेगावाट र कम्पनीको स्वामित्वमा रहने तल्लो ठेउले खोला जलविद्युत (क्यासडेक) आयोजना ०.७५ मेगावाट निर्माणका लागि हकप्रद सेयर जारी गर्ने भएको हो।
हाल बाराही हाइड्रोपावरको चुक्ता पुँजी २५ करोड रहेको छ। कम्पनीले शतप्रतिशत (१:१) अनुपातमा हकप्रद जारी गरेपछि चुक्ता पुँजी ५० करोड पुग्ने छ।
संचालक समितिबाट पास भइसकेको उक्त प्रस्तावलाई कम्पनीले पूर्व स्वीकृतीका लागि विद्युत नियमन आयोग लैजाने तयारी गरेको छ। नियामक निकायबाट पूर्व स्वीकृति पाएपछि वार्षिक साधारण सभाले पास गरेपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिका लागि आवेदन दिने छ।
तथापि बोर्डबाट निष्कासनको स्वीकृति पाएपछि मात्र सो हकप्रदको सार्वजनिक निष्कासन गर्नुपर्ने छ।