औद्योगिक क्षेत्रलाई घेराबन्दी गर्दै संकटमा पारियो, ‘मजदुर किसान पार्टीले हैकम चलायो’

बिजमाण्डू
२०८० बैशाख १७ गते १४:५९ | Apr 30, 2023
औद्योगिक क्षेत्रलाई घेराबन्दी गर्दै संकटमा पारियो, ‘मजदुर किसान पार्टीले हैकम चलायो’

काठमाडौं। मुलुकभरका औद्योगिक क्षेत्र र त्यहाँ भएका उद्योगहरुमाथि घेराबन्दी गर्दै संकटमा पार्ने काम भएको उद्योगीहरुले आरोप लगाएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघको १८औं वार्षिक साधारणसभा तथा १०औं महाधिवेशनको उद्‍घाटनमा व्यवसायीले औद्योगिक क्षेत्रमा स्थानीयको अतिक्रमण तथा त्रास, राजनीतिक दलको हेपाहा व्यवहारदेखि स्थानीय सरकार र स्वयं औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडसमेतले अन्याय गरिरहेको बताएका हुन्।

नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले औद्योगिक क्षेत्रमा रहेको जग्गा तथा भवनको भाडामा उद्योगीमाथि अन्याय भइरहेको बताए।

दशक पहिले स्थापित गौरवशाली औद्योगिक क्षेत्रहरु सार्नुपर्ने दबाब विभिन्न क्षेत्रबाट आउने गरेको भन्दै सरकारले तत्काल उचित निर्णय लिन आवश्यक रहेको बताए।

‘औद्योगिक क्षेत्रलाई दिगो रूपमा सञ्चालन हुने वातावरण नदिएर उद्योगीलाई र निजी क्षेत्रलाई हतोत्साही गर्नु हुँदैन,’ उनले भने, ‘सरकारले यस्ता विषयमा स्पष्ट दृष्टिकोण र निर्णय गरेर उद्योगी व्यवसायीको संरक्षण गर्नुपर्छ।’

नेपालमा कुल ग्राहस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान अझै सीमित अवस्थामा रहेकाले यो बढाउने योजना आवश्यक रहेको उनको भनाइ थियो।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले पनि औद्योगिक क्षेत्र स्थापना हुने समयमा बस्तीबाट टाढा र सुरक्षित स्थानमा रहेको तर पछि मानव बस्ती स्थापना हुने र त्यही बस्तीले उद्योगलाई आँखी बनाउने गरेको भन्दै दुःख व्यक्त गरे।

कार्यक्रममा भक्तपुर औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष पवन मित्तलले भक्तपुर औद्योगिक क्षेत्रमा नेपाल मजदुर किसान पार्टीले हैकम मच्चाइरहेको आरोप लगाए।

‘दलका कार्यकर्ताले त्यहाँका उद्योगीलाई विस्थापित गर्ने मनसायले हतोत्सायी गर्छन, धम्क्याउछन्, सरकारले सुरक्षा प्रबन्ध नगरे काम गर्न सक्ने अवस्था छैन,’ उनले भने।

भक्तपुर महानगरपालिकाले पनि विभिन्न बहानामा चर्को कर असुल गरिरहेको आरोप लगाए।

महासंघका अध्यक्ष रामहिरा पाठकले उद्योग प्रवर्दनको भूमिका निर्वाह गर्नुपर्ने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड उद्योग प्रवर्द्धकको भूमिकामा नभएर नाफामात्र हेर्ने निकाय बनेको आरोप लगाए।

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानका निमित्त सरकार गम्भीर रहेको भन्दै आवश्यक उचित सहयोग गर्न तयार रहेको बताए।  साधारण सभाले रामहिरा पाठकको अध्यक्षतामा नयाँ कार्यसमिति समेत चयन गरेको छ।

कार्यसमितिमा एजाज आलम, बाबुराम पन्त, वीरेन्द्रनाथ भट्टराई, राजेश्वरलाल जोशी, सुदीप घिमिरे, कान्छा थापा र सुरेशकुमार शुक्ला सदस्य छन्। यस्तै, महासंघको पदाधिकारी छनोट भने आगामी बैठकबाट गरिने महासंघका अध्यक्ष पाठकले जानकारी दिए।