
काठमाडौं। अटो निर्माताहरू बीचको प्रतिस्पर्धा गाडीको डिजाइन र मूल्यमा मात्रै हुँदैन। विज्ञापनमा पनि हुन्छ, जहाँ आफ्नो उत्पादनलाई स्तरीय दाबी गर्न अर्काको उत्पादन ‘राम्रो छैन’ भन्न खोजिन्छ। वर्षौंदेखि यो प्रतिस्पर्धालाई अहिले भारतमा एमजी र टाटाबीच देख्न सकिन्छ।
दुवैले सस्तो विद्युतीय मोडल ल्याएका छन्। एमजीले इभीमा आफ्नो सबैभन्दा सस्तो गाडी कोमेट सार्वजनिक गरेपछि प्रतिस्पर्धा रोचक भएको हो।
उनीहरुले आ-आफ्नो विज्ञापनमा एक अर्काको गाडीलाई सांकेतिक तुलना गरेका छन्। कसैले कार्टुनसँग र कसैले ट्याक्सीसँग तुलना गरेको देखिन्छ।
फेसबुकमा टाटा डिलरशिपले प्रकाशित गरेको एउटा फोटोबाट यो प्रतिस्पर्धा सुरु भएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्। यसले सवारी निर्माता कम्पनीबीच विज्ञापनमार्फत् सवालजवाफ बढाएको छ। यसले गर्दा इलेक्ट्रिक कारहरूमा ग्राहकको ध्यानाकर्षण पनि गरेको छ।
दुवै कम्पनीहरूको तर्फबाट प्रयोग गरिएका मार्केटिङ सन्देशहरूले विद्युतीय सवारीसाधनको वरिपरि बढ्दो कुराकानी र बजारमा आफूलाई छुट्याउनुपर्ने आवश्यकता झल्काउँछ।
दुई कम्पनीहरुको हालै प्रकाशित विज्ञापनमा एमजीले टाटाको टियागोलाई ट्याक्सी भनेको छ भने टाटाले एमजीको कोमेटलाई कार्टुन भनेको छ।
उक्त ब्यानरमा एमजीले आफ्नो कोमेट इभी कार राम्रो छ भन्ने संकेत गर्दै ड्राइभ समथिङ सेक्सी भन्दै ‘से टाटा टु ट्याक्सी’ भनेको छ। यसले टाटाको टियागो इभीलाई ट्याक्सीको रुपमा संकेत गर्न खोजेको देखिन्छ।
यसैगरी, यसको जवाफमा टाटाले पनि आफ्नो टियागो इभी राम्रो भन्दै ओवन अ कार भन्दै ‘नट अ कार्टुन’ भनेको छ। यसले एमजीको कोमेट इभी कारलाई कार्टुन भन्ने संकेत गर्न खोजेको छ।
एमजीले उक्त ब्यानरमा अर्को कुरा आफ्नो कोमेट इभी कारलाई ‘द नो-ननसेन्स कार’ भनेको छ भने टाटाले टियागो इभीलाई ‘इम्ब्यारेस द फ्युचर वीथ टियागो इभी’ भनेको छ।
यस्तै एमजीले आफ्नो कोमेट इभीको मासिक चार्जिङ कष्ट भारु ५१९ रुपैयाँमा ड्राइभ गर्न सकिने बताएको छ। यस्तै, टाटाले एक पटकको फुल चार्जमा ३१५ किलोमिटरको रेन्ज प्रदान गर्ने बताएको छ।
भारतमा टियागो इभीको मूल्य भारु ८ लाख ६९ हजार रहेको छ। यस्तै, एमजीको कोमेट इभीको मूल्य ७ लाख ९८ हजार भारु तोकिएको छ।
अर्को ब्यानरमा एमजीले ‘ओल्ड स्कुल भर्सेज न्यु कूल’ भनेको छ। जसको अर्थ एमजीले कोमेट इभीलाई आधुनिक र चल्ती कारको रूपमा राख्ने अर्को प्रयास हो। ओल्ड स्कुल शब्दले टाटाका कारहरू परम्परागत, पुरानो र विगतको सम्झना गराउने सुझाव दिन सक्छ। जबकि न्यु कुल शब्दले एमजीका कारहरू आधुनिक र फेसनेबल छन् भनी बुझाउँछ।
यसैले आफ्नो व्यक्तित्व र शैलीको भावना झल्काउने कार खोज्ने ग्राहकहरूलाई लक्षित गर्न खोजेको देखिन्छ। एमजीले आफ्नो अर्को ब्यानरमा ‘ट्याक्सी अर टेक’ भन्ने धारणा देखाएको छ। एमजीले टाटाको गाडीहरु सबै व्यावसायिक प्रयोगका लागि मात्र राम्रो छन् भन्ने संकेत गर्न खोजेको छ।
एमजीले आफ्नो कारहरु हाई-टेक र ट्रेन्डी छन् भन्ने दाबी गर्न खोजेको छ।