वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार, कर्मचारी पनि चोखा छैनन् : पर्यटनमन्त्री



२०८० बैशाख १४ गते २१:२०
वायुसेवा निगम बिग्रनुमा राजनीतिक नेतृत्व जिम्मेवार, कर्मचारी पनि चोखा छैनन् : पर्यटनमन्त्री


काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) बिग्रनुमा राजनीतिक नेतृत्व नै जिम्मेवार भएको बताएका छन्।

Tata
GBIME

उनले नयाँ विभागीय मन्त्री आएपछि निगमको कार्यकारीदेखि लिएर विभागीय प्रमुख नियुक्ति गर्दा आर्थिक चलखेलसमेत हुने गरेको दाबी गरे। नेपाल वायुसेवा निगमको वार्षिक समीक्षा बैठकका अवसरमा पर्यटनमन्त्री किरातीले निगम सुधार्ने व्यावसायिक कार्ययोजना बनाउने नभई पैसा असुल्ने कार्ययोजना बनाउने गरेको आरोपसमेत लगाएका छन्।

उनले भने, ‘वायुसेवा निगम कमजोर बनाउने नेतृत्व नै रहेछन्। म मन्त्री भएको सय दिन भयो। यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो, वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन राजनीतिक नेतृत्वकै ठूलो हात रहेछ। निगमका कर्मचारी पनि चोखा छैनन्।’

किरातीले आफू कुनै पनि आर्थिक प्रलोभनमा नपरी निगमलाई सुधार्न भरपुर प्रयत्न गर्ने बताए।

‘विगत जे भयो, अब निगमलाई टुलुटुलु हेरेर बस्न सक्दिनँ। तपाईंहरूसँग मलाई विश्वास छ। अब निगमलाई यो भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छेजस्तै डिस्चार्ज गर्नुपर्छ’, उनले भने।

निगमलाई सुधार्न जस्तोसुकै जोखिम मोल्न तयार रहेको भन्दै किरातीले आफूलाई कुनै पनि दबाब र प्रभावले फरक नपर्ने जिकिर गरे। उनले निगम सुधार्ने मौखिक प्रतिबद्धताको व्यावहारिक कार्यान्वयन गर्न पनि निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निर्देशनसमेत दिए।

उनले निगमको संचालक समिति सदस्यहरू सुविधाका लागि प्रतिस्पर्धा गरिरहेको सुनेको भन्दै सुविधाका लागि राजनीतिक नियुक्तिको दुरुपयोग हुन नहुने उल्लेख गरेका छन्।