इटहरीमा सोल्टीको व्यवस्थापनामा दोस्रो हाइ इण्ड होटल, सोल्टी वेस्टेण्ड जेठ ३ गतेदेखि संचालनमा आउने



२०८० बैशाख १४ गते ०८:३८
इटहरीमा सोल्टीको व्यवस्थापनामा दोस्रो हाइ इण्ड होटल, सोल्टी वेस्टेण्ड जेठ ३ गतेदेखि संचालनमा आउने


काठमाडौं। सोल्टी होटल लिमिटेडअन्तर्गत दोस्रो हाइ इण्ड होटल ‘सोल्टी वेस्टेण्ड इटहरी’ आउँदो जेठ ३ गतेबाट संचालनमा आउने भएको छ। कम्पनीको आफ्नै व्यवस्थापनमा संचालन हुने चितवनको पटीहानीपछिको यो दोस्रो होटल हुनेछ।  

Tata
GBIME

भारतीय र आन्तरिक पर्यटकलाई मध्यनजर गर्दै यो होटल संचालनमा ल्याउन लागिएको सोल्टीका उपाध्यक्ष सुदर्शन चापागाईँले बताए।

‘इटहरीको होटल संचालन मिति फाइनल भएको छ। जेठको ३ गतेदेखि यो होटल औपचारिक रुपमा संचालनमा आउनेछ। ग्र्याण्ड ओपनिङसँगै हामी त्यही दिनदेखि बुकिङ खुला गर्नेछौं।’ उपाध्यक्ष चापागाईँले भने।

आठ वर्ष अघि निर्माण सुरु गरिएको होटल गरिमाको व्यवस्थापनको जिम्मा सोल्टीले पाएसँगै यो होटल सोल्टी वेस्टेण्ड इटहरी’ को नाममा संचालनमा आउन लागेको हो।

कुल एक बिघा क्षेत्रफलमा रहेको होटलको डिजाइन भारतीय इन्जिनियरिङ कन्सल्टेन्सीले गरेको हो। होटलमा कुल ९० वटा कोठा छ। होटलमा एउटा प्रेसिडेन्सियल सुइट, आठवटा सुइट रुम, १२ वटा एक्जुक्युटिभ रुम, २२ वटा डिलक्स रुम र ४७ वटा स्ट्यान्डर्ड रुम समावेश गरिएको छ।

कम्पनीका अनुसार दुईवटा ब्यांक्वेट, तीनवटा सेमिनार हल, स्पा, जिम, रेष्टुरेण्ट, लाउन्ज लगायत विभीन्न सुविधा रहेको छ।

होटलले बिजनेस लक्जरी र ट्रान्जिट होटलको रुपमा सेवा संचालन गर्ने उनले जानकारी दिए। इटहरी आफैंमा बिजनेस हब भइसकेका कारण आन्तरिक र बाह्य पर्यटकको माग अनुसार सेवा दिइने उनले बताए।

होटलमा ४० जना अटाउने एक रुफ टप रेस्टुरेन्ट छ,  १०० जना क्षमताको फाइन डाइनिङ र  ४० जनाको क्षमताको क्याफे एन्ड बेकरी रहेको छ भने एक हजार क्षमताको एक र ७ सय क्षमताको एक गरी दुई वटा ब्यांक्वेट हल समावेश गरिएको छ।

होटलमा स्विमिङ पुल, हेल्थ क्लब, स्पा लगायतका अन्य सुविधा राखिएको जनाइएको छ।