कोरियन कन्टेन्टको लोकप्रियतापछि दक्षिण कोरियामा २.५ अर्ब डलर लगानी गर्दै नेटफ्लिक्स

बिजमाण्डू
२०८० बैशाख १२ गते १६:११ | Apr 25, 2023
कोरियन कन्टेन्टको लोकप्रियतापछि दक्षिण कोरियामा २.५ अर्ब डलर लगानी गर्दै नेटफ्लिक्स


काठमाडौं। स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले आगामी चार वर्षमा दक्षिण कोरियामा २.५ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ। उक्त घोषणा कम्पनीका सह-प्रमुख कार्यकारी टेड सारान्डोसले वासिङटनमा दक्षिण कोरियाका राष्ट्रपति युन सुकयोलसँग भेटेपछि गरेका हुन्।

Tata
GBIME
Nepal Life

सब्स्क्रिप्सन जोगाउने र बढाउने होडमा रहेको नेटफ्लिक्सले दक्षिण कोरियाली कन्टेन्ट प्रोडक्सनको अतुलनीय सफलता देखेको छ, जसमा नेटफ्लिक्सको सर्वाधिक लोकप्रिय शो स्क्‍विड गेम रहेको छ। स्क्‍विड गेम सन् २०२१ मा नेटफ्लिक्सको अहिलेसम्म कै सबैभन्दा लोकप्रिय सिरिज बन्यो। 

यो सिरिज रिलिज भएको २८ दिनमा नै १ अर्ब ११ करोड नेटफ्लिक्स प्रयोगकर्ताले हेरेका थिए। नेपालमा पनि यो शो निकै लोकप्रिय बन्यो।

शोले घातक ट्विस्टका साथ ऋणमा डुबेका मानिसहरू दक्षिण कोरियामा बालबालिकाहरूले खेल्ने खेलहरूको शृङ्खलामा ठूलो नगद पुरस्कारको लागि प्रतिस्पर्धा गरिरहेको कथा बताउँछ।

त्यस्तै यसै वर्षको सुरुमा दक्षिण कोरियाली रियालिटी शो फिजिकल १०० प्लेटफर्मको विश्वव्यापी रूपमा सबैभन्दा धेरै हेरिने गैरअंग्रेजी भाषाको शो बन्यो।

दक्षिण कोरियाली शोको सफलतालाई सारान्डोसले एसियाको चौथो ठूलो अर्थतन्त्रमा चलचित्र र टेलिभिजन कार्यक्रमहरू निर्माण गर्नमा २.५ अर्ब डलर खर्च गरिने बताए।

‘कोरियन क्रिएटिभ उद्योगले उत्कृष्ट कथाहरू ल्याउनेमा हामी विश्वस्त भएर नै हामीले यो निर्णय लिएका हौं,’ उनले भने।

भिडियो स्ट्रीमिङ प्लेटफर्महरु बीचको चर्को प्रतिस्पर्धामाझ धेरै ग्राहक आकर्षित गर्ने नेटफ्लिक्सले विभिन्न तरिकाहरू खोजिरहेको छ। नेटफ्लिक्सले सन् २०२२ को पहिलो ६ महिनामा नै १० लाख सब्स्क्राइबर गुमाएको थियो। 

त्यस्तै गत वर्ष नेटफ्लिक्सले एसिया, युरोप, ल्याटिन अमेरिका, सब-सहारा अफ्रिका र मध्यपूर्वका गरी ११६ देशहरूमा सब्स्क्रिप्सन शुल्क घटाएको थियो।

१९० भन्दा बढी देशहरूमा सञ्चालनमा रहेको  नेटफ्लिक्सले‍ हाल अमेजन, एजबीओ र डिज्‍नी लगायतका स्ट्रीमिङ प्रतिद्वन्द्वीहरूबाट बढ्दो प्रतिस्पर्धाको सामना गरिरहेको छ। 

गत हप्ता मात्रै नेटफ्लिक्सले पासवर्ड सेयरिङमा अर्को महिनादेखि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। आफ्नो परिवार बाहिरका व्यक्तिहरूसँग पासवर्ड सेयरिङ गर्न चाहने सदस्यहरूले अतिरिक्त शुल्कको तिर्नुपर्नेछ। सब्स्क्रिप्सन बढाउनको लागि नेटफ्लिक्सले यो कदम चालेको जनाएको छ। (एजेन्सीको सहयोगमा)