अर्थमन्त्रालयमा एफएनसीसीआई अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठबीच नोकझोक

बिजमाण्डू
२०८० बैशाख ५ गते १२:२९ | Apr 18, 2023
अर्थमन्त्रालयमा एफएनसीसीआई अध्यक्ष चन्द्र ढकाल र वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठबीच नोकझोक

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल अर्थमन्त्री डा. प्रकाशशरण महत भेट्न अर्थमन्त्रालय जाँदै थिए।

Tata
GBIME
Nepal Life

मन्त्रालय परिसरमा सांसद ज्ञानेन्द्र शाही पनि अर्थमन्त्रालय भित्रिँदै थिए। ढकाल र शाहीबीच मन्त्रालय परिसरमा भेटघाट भएर बधाई साटासाट भइरहेको थियो।

त्यही बेलामा महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ आइपुगे। उनले ढकाललाई कोषाध्यक्षको चुनाव कहिले गर्नुहुन्छ ? भन्दै कड्किएर प्रश्‍न गरे। लगत्तै उनले चुनाव नै नगर्न आँट्नुभएको हो भनेर अर्को प्रश्‍न गरे।

महासंघ अध्यक्ष ढकालले भने ‘चुनाव हुन्छ’ भन्दै तर्किने प्रयास गरे। महासंघ अध्यक्ष ढकाल र वरिष्ठ उपाध्यक्ष श्रेष्ठबीच सार्वजनिक स्थलमै भएको यो नोकझोकका साक्षी बनेका थिए शाही। उनी त्यसपछि केही नबोली बाहिरिए। तर, यो नोकझोकको सिलसिला भने रोकिएन। अर्थमन्त्रालयको पार्किङमै ढकाल र श्रेष्ठबीच बाझाबाझजस्तो भइसकेको थियो।

त्यहाँ पनि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले निर्वाचन अनिश्चितकालका लागि स्थगित गरेर कोषाध्यक्षविहीन बनाउन लागेको हो भन्दै प्रश्‍न गरेका थिए। उनीहरुबीचको चर्को कुराकानी देखेर अर्थका कर्मचारी पनि अचम्मका परेका थिए। अर्थमन्त्रालयमा भएको नोकझोकका बारेमा ढकाल र श्रेष्ठले सामान्य छलफल मात्रै भएको भन्दै उम्किने प्रयास गरे।

‘त्यस्तो कुनै नोकझोक भएको होइन। निर्वाचनका बारेमा सामान्य छलफल मात्रै भएको हो,’ अध्यक्ष ढकालले बिजमाण्डूसँग भने। वरिष्ठ उपाध्यक्ष श्रेष्ठ पनि आफूले कोषाध्यक्षको निर्वाचनका बारे सामान्य प्रश्‍न गरेको बताउँछन्। ‘ठूलो विषय होइन। सामान्य छलफल मात्रै भएको हो,’ श्रेष्ठले भने।

अर्थमन्त्रीको भेटघाटमा देखिएको वैमनस्यता

नेपाल उद्योग वाणिज्य महासंघ नवनिर्वाचित कार्यसमितिले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग सोमबार बिहान साढे ११ बजे भेट्ने तालिका थियो।

महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकाल र सचिवालयमार्फत टेलिफोन गरेर भेटका लागि अनुरोध भएपछि अर्थमन्त्री महतको सचिवालयले समय तोकेको थियो। समयमा अर्थमन्त्री महत महासंघका नवनिर्वाचित कार्यसमितिलाई भेट्न अर्थमन्त्रालयको सुवर्ण हल पुगे।

तर सुवर्ण हलमा महासंघ अध्यक्ष ढकालसहित तीन जनामात्रै थिए। हलमा तीन जना मात्रै देखेपछि अर्थमन्त्री महतले ‘किन तीन जना मात्रै ?’ भनेर प्रश्‍न गरेका थिए। त्यसपछि महासंघ अध्यक्ष ढकालले आउने क्रममा रहेको जानकारी दिए।

त्यसपछि अर्थमन्त्री सबै जना आएपछि भेट्न आउने भन्दै फर्किए। अर्थमन्त्री महत राजस्व र बजेटसँग सम्बन्धित मन्त्रालयको बैठकमा सहभागी भए। झण्डै एक घण्टापछि फेरि महासंघको टोलीलाई भेट्न भन्दै सुवर्ण हलमा पुगे। तर, त्यो बेलामा पनि उद्योगी व्यवसायी सोचेअनुसार थिएनन्। दोस्रोपटक पनि पुरै नवनिर्वाचित पदाधिकारी र कार्यसमिति नभएपछि अर्थमन्त्री महतले भेटघाटलाई निरन्तरता दिँदै कार्यक्रम अघि बढाए।

अर्थमन्त्री महत बोलिरहेका बेला महासंघका पदाधिकारी र कार्यसमिति सदस्यहरु हलभित्र छिरेका थिए। अर्थमन्त्री महतले कार्यक्रम सकिएपछि केही रिसाउँदै आफ्नो सचिवालयलाई बजेट निर्माण प्रक्रियामा रहेका बेला समय हेरेर मात्रै सेड्युल तयार पार्न निर्देशन दिएका थिए।

किन भएको थियो नोकझोक ?

महासंघको कोषाध्यक्षको निर्वाचन सोमबार तोकिएको थियो। आइतबार नवनिर्वाचित पदाधिकारी र कार्यसमितिको शपथ र पदबहाल कार्यक्रम थियो। त्यही दिन कोषाध्यक्षको निर्वाचन गर्ने सेड्युल तोकिएको थियो। आइतबार अध्यक्ष ढकालले सर्वसम्मत रुपमा कोषाध्यक्ष चयन गर्ने भन्दै एक दिनको समय मागे। उनले आइतबार नै नवनिर्वाचित कार्यसमितिलाई आफ्नै घरमा वेलकम डिनरमा पनि बोलाए।

त्यो डिनरमा अध्यक्ष ढकालले सहमतिको प्रयास गरेका थिए। उनले अन्जन श्रेष्ठको तर्फबाट कोषाध्यक्ष उम्मेदवार बनेका प्रवलजंग पाण्डेलाई आधा कार्यकाल निरक केसी र आधा कार्यकाल पाण्डेलाई कोषाध्यक्ष बनाउने प्रस्ताव गरे। तर पाण्डेले पूरै कार्यकाल कोषाध्यक्ष हुनुपर्ने जिकिर गरे।

पाण्डेले ढकाललाई कार्यकालभरी नै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। पाण्डे अहिले कोषाध्यक्ष बनेर सिधै वरिष्ठ उपाध्यक्ष लड्ने दाउमा थिए। वेलकम डिनरमा ढकाल र पाण्डेबीच सहमति बनेन। सोमबार बिहान फेरि ढकाल र पाण्डेबीच एक घण्टा ‘वान टु वान मिटिङ’ भयो। तर त्यो मिटिङबाट पनि सहमति जुटेन।

सोमबार बिहान ९ बजे कोषाध्यक्षको निर्वाचन प्रक्रिया अगाडि बढ्नुपर्ने थियो। दोस्रो पटक पनि अध्यक्ष ढकालले सहमति गर्ने भन्दै निर्वाचन प्रक्रिया स्थगित गर्न लगाए। निर्वाचन प्रक्रिया स्थगितपछि ढकालले आफ्नै होटल ले हिमालयमा केसीको पक्षमा कार्यसमिति सदस्यलाई कन्भिन्स गराउन थाले। यो थाहा पाएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ढकाल प्रति आक्रामक बनेका हुन्।

अर्थमन्त्रालयको नोकझोकले पाण्डेको हार

मन्त्रालयमा नोकझोक भएकै कारण कोषाध्यक्षका उम्मेदवार पाण्डे हारेको अनुमान गरिएको छ। सार्वजनिक स्थानमै वरिष्ठ उपाध्यक्ष श्रेष्ठले चर्को स्वरले आफूलाई अपमानित गरेको भन्दै ढकालले कोषाध्यक्षको निर्वाचनलाई ‘डु अर डाइ’ को रुपमा लिए।

त्यसपछि केसीलाई जिताउन उनी मरिमेटेर लागेको स्रोतले बतायो। त्यसमा पनि यो चर्काचर्कीपछि पाण्डेलाई भोट हाल्न तयार भएका केही कार्यसमिति सदस्यले केसीलाई मत दिए। ‘मन्त्रालयमा भएको त्यो नोकझोककै कारण चारदेखि पाँच भोट पाण्डेको घट्यो,’ एक कार्यसमिति सदस्यले भने।