
काठमाडौं। होटल संघ नेपालले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई चार बुँदे ज्ञापनपत्र बुझाएको छ। बुधबार संघकी अध्यक्ष सिर्जना राणाको प्रतिनिधिमण्डलले नवनियुक्त अर्थमन्त्री डा. महतसँग भेटी ज्ञापनपत्र बुझाएको हो।
संघकी अध्यक्ष राणाले कोभिड–१९ बाट अतिप्रभावित होटल तथा पर्यटन उद्योग अझै पनि लयमा आउन नसकेको र अरु उत्पादनमूलक उद्योग सरह जगेर्ना गर्न आवश्यक रहेको सुझाव दिइन्। पर्यटन व्यवसाय पुनरुत्थान हुन नसकी व्यवसायीहरु व्यवसाय बन्द गरी पलायन हुने अवस्थामा पुगेको उनले जानकारी गराइन्।
अध्यक्ष राणाले कोरोनाको प्रकोप पहिलेको अवस्थामै नभए तापनि क्षमताको तुलनामा पर्यटकको आवागमन तथा गतिविधिको कमीले अझै सञ्चालन खर्च धान्न मुस्किल परेको बताइन्। दैनिक रुपमा घाटामा संचालनमा रहेको पर्यटन उद्योग पुनरउत्थानका लागि संघले होटल उद्योगलाई अन्य उत्पादनमूलक उद्योग सरह आगामी बजेट र कानूनमै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा समावेश गर्न सुझाव दिएको छ।
यसैगरी संघले बैंकको बढ्दो ब्याजदरले धान्नै नसकेका कारण यसलाई घटाएर व्यवसाय सञ्चालनमैत्री बनाइदिनु हुन अनुरोध गरेको छ।
होटल उद्योगले यो समयमा कुनै पनि हालतमा बैंकलाई सावाँ र ब्याज बुझाउन सक्षम नरहेको अवस्थामा तोकिएको समयसीमा बढाई थप सहजिकरणका लागि अनुरोध गरेको छ ।
मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत सम्बोधन हुन नसकेको पुनतालिकीकरण र पुनर्कर्जा सुविधा अब आउने अर्धवार्षिक समीक्षामार्फत सुविधा प्रदान गर्न संघले आग्रह गरेको छ।
बुधबार आयोजित भेटघाट कार्यक्रममा संघका प्रथम उपाध्यक्ष विनायक शाह, द्वितीय उपाध्यक्ष प्रविणबहादुर पाण्डे, महासचिव साजन शाक्य, कार्यसमिति सदस्य युवराज श्रेष्ठ तथा कानुनी सल्लाहकार गान्धी पण्डितको उपस्थिति रहेको थियो।