अपर तामाकोशी हाइड्रोपावरको सीइओमा मोहन गौतम, २२ मेगावाटको रोल्वालिङ बनाउने

बिजमाण्डू
२०७९ चैत्र २१ गते १८:०१ | Apr 4, 2023
अपर तामाकोशी हाइड्रोपावरको सीइओमा मोहन गौतम, २२ मेगावाटको रोल्वालिङ बनाउने


काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा मोहनप्रसाद गौतम नियुक्त भएका छन्।

Tata
GBIME
Nepal Life

कम्पनी सञ्चालक समितिको चैत १४ गते बसेको २७२औं बैठकले नेपाल विद्युत प्राधिकरणको ११औं तह (निर्देशक) का गौतमलाई सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो। अपर तामाकोशी हाइड्रोपावर स्वदेशी लगानीमा निर्माण भएको राष्ट्रिय गौरवको ४५६ मेगावाट जडित क्षमताको योजना हो। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण, सञ्चालन र व्यवस्थापन गर्न यो कम्पनी स्थापना भएको हो। कम्पनीले प्रवर्द्धन गरेको आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमा छ।

नवनियुक्त सीइओ गौतमले कम्पनीले अगाडि बढाएको २१ मेगावाट क्षमताको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माणलाई तीव्रता दिने, संस्थागत सुशासन कायम गर्ने र आयोजना निर्माणका क्रममा बाँकी रहेका विषयहरुलाई फरफारक गर्ने काम आफ्नो प्राथमिकतामा रहेको बताए।

रोल्वालिङ खोलाको पानीलाई पथान्तरण गरी माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको जलाशयमा मिसाउँदा प्राप्त हुने हेडलाई प्रयोग गरी कम्पनीले २१ मेगावाटको छुट्टै आयोजना निर्माण गर्न लागेको छ।

इन्जिनियरिङ, खरिद र निर्माण ढाँचामा आयोजना निर्माणका लागि ठेक्का सम्झौता भइसकेको छ। आयोजनाबाट थप १० करोड ५० लाख युनिट वार्षिक ऊर्जा प्राप्त हुने छ। साथै, रोल्वालिङ खोला माथिल्लो तामाकोसीमा मिसाउँदा २१ करोड ६० लाख युनिट थप ऊर्जा प्राप्त हुने छ। योसँगै प्रणालीमा वार्षिक रुपमा ३२ करोड १० लाख युनिट ऊर्जा थप हुनेछ।

रसियाको मस्को विश्वविद्यालयबाट इन्जिनियरिङ विषयमा स्नातकोत्तर गौतमसँग जलविद्युत क्षेत्रमा २५ वर्षभन्दा बढी काम गरेको अनुभव छ। उनीसँग बुटवल पावर कम्पनीमा कार्यरत रहँदा नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती-१ जलविद्युत आयोजनाको डिजाइन र निर्माण सुपरीवेक्षण गरेको अनुभव छ।

२०६० सालमा प्राधिकरणको सेवा प्रवेश गरेका उनले २०६४-२०७२ सम्म माथिल्लो तामाकोसी जलविद्युत आयोजना मै विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए। सीइओ गौतमले २०७२-२०७३ सम्म ६३५ मेगावाटको दूधकोशी जलाशययुक्त आयोजनामा आयोजना प्रबन्धक भएर काम गरिसकेका छन्।

उनले २०७३-२०७९ सम्म ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत कम्पनीको प्रबन्ध-सञ्चालक भएर काम गरिसकेका छन्। उनले प्राधिकरणको प्रतिनिधित्व गर्दै हाल त्रिशूली र जगदुल्ला हाइड्रोपावर कम्पनीको सञ्चालकसमेत छन्।

चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको अपर तामाकोसी हाइड्रोपावरमा प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) को ६ प्रतिशत र नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक सेयर स्वामित्व रहेको छ।

कम्पनीमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताको १७.२८ प्रतिशत, आयोजनामा ऋण प्रवाह गर्ने कर्मजारीहरुको २.८८ प्रतिशत, कम्पनी र प्राधिकरणका कर्मचारीहरुको ८.८४ प्रतिशत, दोलखाबासीको १० प्रतिशत र सर्वसाधारणको १५ प्रतिशत साधारण सेयर स्वामित्व छ।