ठमेलको नाइट क्लब सञ्चालक सुप्रिया, ‘काम गर्न सीप, शिक्षा र लगानीसँगै चाहिन्छ इच्छाशक्ति’

बिजमाण्डू
२०७९ चैत्र १९ गते १३:४४ | Apr 2, 2023
ठमेलको नाइट क्लब सञ्चालक सुप्रिया, ‘काम गर्न सीप, शिक्षा र लगानीसँगै चाहिन्छ इच्छाशक्ति’

काठमाडौं। राजधानीको पर्यटकीय क्षेत्र ठमेलमा थुप्रै होटल, रेस्टुरेन्ट, पब र डिस्कोहरु छन्। ठूलो लागतमा सञ्चालित यी व्यवसायलाई मुलुकमा पर्यटक आगमनको दर घटबढमा धेरै चासो रहन्छ। कसरी व्यवसाय बढ्छ भन्नेमा जुक्तिमा लागत थपेर मात्रै काम चल्दैन। काम गर्ने दृढ इच्छाशक्ति भएकाहरु लागिपरेकै हुनुपर्छ। त्यहीमध्येको एउटा हो -गाँसबासको।

Tata
GBIME
Nepal Life

होटलसहितको यो नाइटक्लब सञ्चालक हुन् सुप्रिया कुँवर। हस्पिटालिटी क्षेत्रको अध्ययन भारतमा गरेर उतैका तारे होटलमा केही वर्ष कामको अनुभव लिएर आफैं केही गर्ने सोचसाथ घर फर्किएकी कुँवर हिजोआज ठमेलमा के गर्दैछिन्? उनको सहज जवाफ छ- ‘ड्रीम प्रोजेक्ट सम्हालेकी छु।’

ठमेलको शेर भवनमा ‘गाँसबासको’ छ। जहाँ छ होटल र क्लब। जहाँ धैरैजसो स्टाफ महिला छन्। टुरिजम सिजनअनुसार बिजनेस ग्रोथ ठिकठाक छ। त्यसको व्यवस्थापन गरिरहेकी कुँवर अझै ग्रोथ चाहन्छिन्, जसका लागि उनले निरन्तर समय दिएकी छन्। उनी हस्पिटालिटीको क्षेत्रमा हठात् आइपुगेकी भने होइनन्।

उनको चाहना, पढाइ, सीप र लगानीले समयक्रममा उनलाई यहाँ उभ्याएको छ। ठमेलमा क्लब र पब हाँकिरहेका थुप्रै युवापुस्ताको प्रतिनिधित्व गर्छिन् कुँवर।

‘ठूलो भएर के बन्छौं ?’ स्कूले जीवनमा यो प्रश्नको सामना नगर्ने सायदै कोही बालबालिका होलान्। भविष्यको कुनै स्पष्ट चित्रविना नै कसैले डाक्टर बन्छु भन्छन्, कसैले इन्जिनियर। तर करिअर कसरी अघि बढ्छ भन्नेमा बाल्यावस्थामा दिएका ती उत्तरले तय गर्ने ग्यारेन्टी हुँदैन।

काठमाडौंकी सुप्रिया कुँवरले पनि यस्ता प्रश्नको सामना नगरेकी होइनन्। सात/आठ कक्षा पढ्दादेखि नै हस्पिटालिटी क्षेत्रमा काम गर्छु भनेर उनले चाहना राखिसकेकी थिइन्। शिक्षिका आमा र इन्जिनियर बाबुकी तेस्रो सन्तान सुप्रियाको परपरसम्म पनि हस्पिटालिटी क्षेत्रसँग कुनै नाता थिएन। 

तर उनीलाई यही क्षेत्रले तानिरहन्थ्यो। आज उनले ठमेलको मुटुमा रहेको सपर क्लब तथा गाँसबासको होटेल सञ्चालन गर्दै आएकी छन्। 

‘स्कूलमा हुँदा नै म बारटेन्डरिङको बुक, हस्पिट्यालिटी बुकहरू किन्ने गर्थे। मलाई किचनमा पनि उत्तिकै रूचि थियो। टीएलसी मेरो फेवरेट च्यानल थियो। काइली वाङ, नाइजेला लसन, एन्थनी बर्डन लगायतका शोहरू नछुटाइ हेर्थें। अरूहरू फिल्म सिरियलहरू हेर्ने गर्थे,’ उनले सुनाइन्, ‘टीएलसीबाट नै यस्तो प्रभावित भएँ कि यो बाहेक अरू केही गर्नु छ भनेर कहिले सोच नै आएन। मेरो लक्ष्य केबल एकमात्र थियो। जे गर्छु यही क्षेत्रमा गर्छु।’

बाबुआमालाई भने छोरीलाई आर्मी बनाउन रहर थियो। ‘म स्वभावले हक्की भएकाले पनि होला उहाँहरूले यस्तो सोच्नु भएको। तर उहाँहरूले कहिले पनि ममाथि आफ्नो इच्छा थोपर्नु भएन। सधैं जे बन्न मन छ त्यही गर भनेर हौस्याउनु भयो,’ उनी करिअर छनोट सहज हुनुको कारण खोतल्छिन्।

आफ्नो लक्ष्य पछ्याउँदै सुप्रिया भारतको आइएजएम पुसा कलेज पुगिन्। बीएचएम पढ्दै गर्दासम्म उनले यति धेरै बारटेन्डरिङ र हस्पिट्यालिटी किताबहरु पढिसकेकी थिइन् कि कोर्समा पढाइ हुने सबैजसो पक्षबारे थाहा पाइसकेककी थिइन।

यसबीच सुप्रियाले स्कूल टिचर, बार टेन्डर लगायतका कामहरू पनि गरिन्। उनी १२/१३ वर्षको उमेरदेखि नै आफ्नो पकेट खर्चको पनि आफैं जोहो गर्थिन्। कसैसँग निर्भर हुन उनलाई मन पर्दैनथ्यो। त्यसैले पनि उनले आफू स्कूल पढ्दादेखि नै साना बच्चाहरूलाई पढाएर आफ्नो खर्च निकाल्थिन्।

पढाइमा ध्यान थियो। भारतमा उनले पूर्ण छात्रवृत्तिमा आफ्नो पढाइ पुरा गरिन्। होटेल म्यानेजमेन्टमा स्नातक गरेपछि उनले भारतकै नाम चलेका होटेलहरूमा कामका लागि अन्तर्वार्ता दिइन्। 

‘मैले करिब ११/१२ वटा होटलहरूमा अप्लाइ गरेको थिएँ। एउटा न एउटामा त होला भनेर मैले धेरै वटा अप्सनहरू खुल्ला राखेको थिएँ। सबै ठाउँबाट सकारात्मक जवाफ आउँदा म त अलमल्लमा परेँ। आफ्नो लागि बेस्ट काम खोज्न मैले परिवारको सल्लाह लिए,’ उनी भन्छिन्।

उनले सन् २०१३ मा भारतको पहिलो लक्जरी होटल ताजमा ट्रेनी-म्यानेजरका रूपमा काम गरिन्। त्यसपछि केही समय भारतकै अर्को तारे होटल रेडिसन ब्लुजमा काम गरिन्। ट्रेनी-म्यानेजरबाट म्यानेजर हुँदै उनी ट्रेनिङ म्यानेजरसम्म पनि बनिसकेकी थिइन्। 

‘टिममा धेरै केटाहरू थिए, केटी म एक्लै थिएँ। एक्लैले नै सबै आउटलेट हेरिरहेकी थिएँ,’ उनी भन्छिन्, ‘काम गर्दै जाँदा मलाई के कुरा महसुस भयो भन्दा यहाँ त म एक्लैले पुरा आउटलेट सम्हाल्न सक्छु भने आफ्नै केही सुरू किन नगर्ने? मैले सोचें।’

उनले त्यो सोचलाई सोचमा सीमित राखिनन्। नेपाल फर्किन् र आफ्नो ड्रिम प्रोजेक्टमा काम गर्न सुरू गरिन्। ठमेलको पर्पल हेज रक बारको एडमिनिस्ट्रेसन पनि सम्हाल्न सुरु गरिन्। 

‘हाम्रो मुख्य उद्देश्य भनेको नै अफोर्डेबल लक्जरी होटल प्रदान गर्नु थियो। पर्पल हेजमा आबद्ध भइराख्दा हामी कति धेरै स्टेकेसनको क्वेरिज आउने गर्थ्यो। त्यसैले पनि हामीले होटेलसहितको क्लब बनाउने सोच्यौं,’ उनी भन्छिन्।

सन् २०१८ देखि नै सुप्रिया र उनका साथी अशोक सेन गाँसबासको होटल नै निर्माण गर्न लागिपरेका थिए। सधैं झै यसमा उनको परिवारले पनि उनको साथ दियो। यस अर्थमा उनी आफूले आफैंलाई भाग्यमानी ठान्छिन्।

क्लब र होटल कस्तो बनाउने भनेर सुप्रियाको दिमागमा चित्र स्पष्ट थियो। उनीहरूले नामी आर्किटेक सिद्धार्थ गोपालनलाई गाँसबासको डिजाइन गर्न जिम्मेवारी दिए। उल्लेख्य रकमको लगानीसँगै चार वर्षको परिश्रमपछि गत वर्ष गाँसबास पूर्ण स्वरुपमा तयार भयो।

सन् १९७० को दशकको डिस्को थिममा खोलिएको गाँसबासको ‘सप्पर क्लब’ अरू क्लबहरूभन्दा निकै फरक छ। भिन्टेज आर्क्ड विन्डो, भिन्टेज लेदरका आर्कषक बार स्टुलहरू लगायतका सिटिङ, क्लबको सिलिङमा झुण्डिएका डिस्को बल र रंगीचंगी डिस्को लाइटले चम्किएको डान्स फ्लोरले यस क्लबलाई अरू भन्दा निकै फरक दर्साउँछ।

गाँसबासको भवनमा माथि ‘सप्पर क्लब’ र तल होटल छ। खाने-बस्ने सुविधा रहेको होटलमा ४२ कोठा छन्। फाइन डाइनिङसहितको क्लब निर्माणमा करिब २० करोड रुपैयाँ लगानी भएको सुप्रिया बताउँछिन्। दैनिक सयौं मानिसहरू १९७० का संगीतमा झुम्न आउने यो ठाउँलाई उनले सम्हाल्दै आएकी छन्। उनीमाथि ५७ जना स्टाफको जिम्मेवारी छ। 

‘यहाँ हरेक किसिमका मानिसहरू आउने गर्छन्, सेलिब्रिटी, राजघराना, व्यापारिक घरानादेखि सामान्य युवाहरुसम्म। सबैको सोच एउटै हुँदैन। कतिले त मेरो बडीमा भएको ट्याटु र पियर्सिङहरूले मलाई जज गर्ने गर्छन्। मलाई यस्तो कुराले फरक पनि पर्दैन,’ उनी सुनाउँछिन्।

धेरैजसो पुरूषको हातमा रहेको क्लब र होटल क्षेत्रमा सुप्रियाले आफ्नो लागि राम्रो ठाउँ बनाएकी छन्। सन् १९७० को दशकमा रक एण्ड रोल म्युजिकमा पुरूष आर्टिस्टहरूको एकछत्र हुँदा अमेरिकी गायिका, कलाकार जोन जेटले धेरै संघर्ष गरेर आफ्नो छुट्टै ख्याति बनाएकी थिइन्। 

‘मलाई जोन जेटको म्युजिकल जर्नीले निकै इन्स्पायर गर्छ। मेरो मम्मीको जीवन यात्राले पनि साहस मिल्छ,’ उनले भनिन्।

गाँसबासको होटेलमा सबैभन्दा धेरै महिला म्यानेजर रहेको सुप्रिया दाबी गर्छिन्। सेक्युरिटीको प्रमुखदेखि एडमिन करिब १५ जना महिला म्यानेजर रहेको उनले बताइन्। 

‘मैले उनीहरूलाई महिला भएकै कारणले काममा राखेको भने होइन। उनीहरू डिजर्भिङ भएकाले हो र यहाँ हरेकलाई स्टाफको लागि एउटै नियम लागु हुन्छ,’ उनले भनिन्, ‘महिला बोस भएको भएर महिला स्टाफलाई खुल्नको लागि भनेर केही सहज हुनसक्छ। हामीले काम गर्नको लागि साथै यहाँ आउने हरेक महिलाहरूको लागि सेफ स्पेस बनाएका छौं।’

आफूलाई मन परेको क्षेत्रमा रम्दै सुप्रियाको दैनिकी बितिरहेको छ। अनवरतरूपमा लागिरहने उनले बताइन्। आफ्नो सपना बाँचिरहेकी सुप्रिया भन्छिन्, ‘हामीसँग आफ्नो सपना पुरा गर्न केबल एक मात्र जीवन छ। त्यसैले आफ्नो सपनालाई नमार्नु। आफूलाई मन लागेको कुरा पुरा गर्नू।’