काठमाडौंका प्राइम ठाउँका ‘ब्लूचिप’ जग्गाकै भाउ घट्न थाल्यो, जग्गाको भाउ ‘क्र्यास’ नजिक

उन्नत सापकोटा
२०७९ चैत्र १५ गते १६:०९ | Mar 29, 2023
काठमाडौंका प्राइम ठाउँका ‘ब्लूचिप’ जग्गाकै भाउ घट्न थाल्यो, जग्गाको भाउ ‘क्र्यास’ नजिक

काठमाडौं। चुलिँदो आर्थिक संकटले समग्र घरजग्गा बजार नै ‘क्र्यास’ हुने अवस्थामा पुगेको छ। घरजग्गा व्यवसायीदेखि बैंकिङ क्षेत्रका जानकारहरु नै एसेट्स प्राइस नै क्र्यासको मुखमा पुगेको बताउन थालेका छन्।

Tata
GBIME
Nepal Life

जसलाई काठमाडौंका प्राइम मानिने ठाउँहरुमा रहेका ‘ब्लूचिप’ प्रोपर्टीको मूल्यमा देखिएको अस्वभाविक गिरावटले प्रस्ट पार्छ।

त्यसमाथि ठूला व्यवसायी नै डिस्ट्रेस सेलिङमा परेर महँगा जग्गाको मूल्य घटाएर बेच्न बाध्य भएका छन्। चुलिँदो संकटकाबीच बैंक कर्जा भुक्तानी गर्नै धौधौ परेपछि ठुला व्यवसायीसँगै अन्य ऋणी आफूसँग भएका प्रोपर्टीको मूल्य घटाउन थालेका छन्।

जमलको मुख्य सडकसँग जोडिएको जग्गाको मूल्य पहिला आनाको पौने २ करोड रुपैयाँ धनीले तोकेका थिए। पछिल्लो समय बार्गेनिङ गरेरै आनाको १ करोड १० लाख रुपैयाँसम्म दिन तयार रहेको एक घरजग्गा व्यवसायीले बिजमाण्डूसँग भने।

व्यवसायी अजयराज सुमार्गी आफैं संकटमा परेर विशालनगरमा रहेको करिब ६ रोपनी जग्गा बेच्‍न खरिदकर्ता खोजिरहेका छन्। सुमार्गीले नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको बिचमा रहेको विशालनगरको जग्गा बेच्‍न खोजेका हुन्।

तत्कालीन मेगा बैंकले केही वर्षअघि सुमार्गीको त्यही ठाउँको जग्गा आनाको एक करोड १५ लाख रुपैयाँमा किनेको थियो। मेगा बैंकभन्दा अघि तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंकले आनाको ७८ लाख रुपैयाँका दरले जग्गा खरिद गरेको थियो। त्यो ठाउँको पछिल्लो मूल्य मेगाले हालेको मान्ने हो भने एक करोड १५ लाख रुपैयाँ आना हो।

एनबी बैंक नबिलसँग मर्ज भइसकेको छ। मेगा बैंक नेपाल इन्भेष्टमेन्टसँग मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनिसकेको छ। दुवैले विशालनगरको त्यो जग्गामा कर्पोरेट कार्यालय निर्माण गर्न चाहेका छन्। यी दुवै बैंक पनि बीचमा रहेको सुमार्गीको ६ रोपनी जग्गा खरिद गर्न खोजिरहेका छन्।

सुमार्गीले त्यो जग्गा अहिले आनाको ९० देखि १ करोड रुपैयाँ आसपासमा बेच्‍न तयार भएको बुझिएको छ।

त्यसैगरी, रियल इस्टेटका लागि देशकै सबैभन्दा प्राइम स्थान मानिने दरबारमार्गकै जग्गासमेत निकै घटाएर बिक्री गर्न खोजिएको छ। घरधनीहरुले आनाकै ७/८ करोड रुपैयाँदेखि माथि बोली लगाउने दरबारमार्गको घरजग्गा अन्‍नपूर्ण होटलले भने संकटमा पर्ने देखेरै सुरुआती बोली आनाको साढे ५ करोड लगाएको थियो।

तर, सो मूल्यमा जग्गा नबिक्ने भएपछि होटल संचालकहरु बरु भाउ घटाएर आनाको २ करोड रुपैयाँसम्ममा भएपनि जग्गा बेचेर संकट व्यवस्थापन गर्न लागेका छन्।

२०७६ चैतदेखि होटल बन्द छ। जसका कारण ऋण तिर्न नसकेपछि जग्गा बेच्‍न लागिएको छ।

सञ्चालकहरुले पहिलो चरणमा ६ रोपनी जग्गा बेच्ने पक्का भएको छ। होटलको मेन गेटबाट दक्षिणको (केएफसी/पिज्जाहट पछाडि, क्यासिनोको अगाडि) ६ रोपनी जग्गा बिक्री गर्न लागिएको हो।

होटलले कुल ४२ रोपनी क्षेत्र ओगटेको छ। केएफसीलगायतका सटर भएको जग्गा व्यक्तिको नाममा छ। त्योभन्दा पछाडिको जग्गा होटलको हो। केएफसी भएको जग्गा कपिल राणाको व्यक्तिगत नाममा छ। जग्गा हिमालयन रिइन्स्योरेन्स कम्पनीले खरिद गर्दैछ।

यस्तै, काठमाडौं नयाँ बानेश्वर चोक (संसद भवनबाट करिब ४० मिटर) मा करिब १९ आना जग्गा बिक्रीमा राखिएको छ। आनाको २.२० करोड रुपैयाँ सुरुवाती बोली लगाएका जग्गाधनीले अझै ग्राहक पाउन सकेका छैनन्। तत्काल किन्‍न खोज्नेलाई आनाको २ करोड वा केही कममै भएपनि जग्गा बेच्‍न वा त्यो नभए केही समय होल्ड गरेरै बस्ने रणनीतिमा जग्गाधनी रहेको एक जग्गा व्यवसायी बताउँछन्।

पछिल्लो समय काठमाडौंसहित देशभरका चलेका ठाउँमा बिक्रीमा राखिएका महँगा घरजग्गाको भाउमा गिरावट देखिन थालेको छ।

त्यसैगरी, पछिल्लो समय धितो लिलामीदेखि आफ्नै सम्पत्तिसमेत बिक्री नभएर बैंक तथा वित्तीय संस्थाहरु तनावमा छन्। प्राइम ठाउँमै रहेका जग्गाहरुसमेत बिक्री हुन सकेको छैन।

एक बैंकरका अनुसार काठमाडौंका चल्तीका सुकेधारा (मुख्य सडकमै), पेप्सीकोला, बत्तीसपुतलीलगायतमा स्थानहरुमा बैंककै नाममा लालपुर्जा भएको प्रोपर्टी समेत अक्सनमा राख्दा बिक्री नभएर बसेका छन्। उनका अनुसार करिब २५ जना व्यक्तिहरुले बिड डकुमेन्ट लिएपनि कुनै पनि बिक्री नभएको बताएका छन्।

‘सकिन्छ कि धान्न सकिन्छ कि भनेर घाटामा नबेचौं भनेर होल्ड गरिरहेका छन्। तर, ऋणमा रहेका वा संकटमा परेका जोकोहीले अब धेरै धान्‍न सक्ने अवस्था छैन,’ एक घरजग्गा व्यवसायीले भने।