कोभिडमा अवसर छोप्दा संकटमा परेकी सृजना राणा, रणनीति फेल खाँदा समस्यामा 

सुदर्शन सापकोटा
२०७९ चैत्र १३ गते १४:५५ | Mar 27, 2023
कोभिडमा अवसर छोप्दा संकटमा परेकी सृजना राणा, रणनीति फेल खाँदा समस्यामा 

काठमाडौं। कोरोना महामारी रोकथामका लागि २०७६ चैत ११ देखि सरकारले कडा लकडाउन गरेपछि होटल तथा पर्यटन क्षेत्र मात्र होइन, देशभरका उद्योगधन्दा बन्द भएका थिए। त्यसबेला व्यक्तिगत जीवन पनि कोठाभित्र खुम्चिन पुगेको थियो।

Tata
GBIME
Nepal Life

यो कठिन अवस्थालाई दरबारमार्गस्थित होटल अन्नपूर्णका संचालकले अवसर देखे। सरकारले नै होटल बन्द गरेका बेला लामो अवधि काम गरेका कर्मचारीलाई स्वैच्छिक अवकाश दिने र त्यहाँ सपिङ कम्प्लेक्ससहितको होटल निर्माण गर्ने रणनीति बनाए।

त्यही रणनीतिअनुसार चार सय कर्मचारीलाई अवकाश दिइयो। ५७ वर्षअघि स्थापना भएको यो होटल बन्द हुँदा लामो अवधिका कर्मचारीको दायित्वबाट मुक्त पनि भयो। तर त्यही रणनीति होटल संचालकका लागि बुमर्‍याङ हुन पुग्यो।

अरु होटलले पनि पुराना कर्मचारी हटाएका थिए तर व्यवसाय बन्द गर्ने निर्णय गरेका थिएनन्। तर अन्नपूर्णले भने सबै सेवा बन्द गर्‍यो।

कोभिड संक्रमणको जोखिम घटेपछि भएपछि होटल व्यवसाय विस्तारै चल्न थाले। काठमाडौंमा रहेका अरु तारे होटलको व्यापार राम्रो हुन थाल्यो। उनीहरुले धेरथोर कमाए। तर अन्नपूर्ण होटल बन्द भएकाले आम्दानी ठप्प नै भयो।

अन्नपूर्ण संचालक सृजना राणा र कपिल राणाको होटलबाहेक अरु व्यवसाय थिएन। अरु व्यवसाय नभएपछि होटलका लागि लिएको ऋणको किस्ता समेत तिर्नसक्ने अवस्था रहेन। ‘क्यासकाउ’ को रुपमा रहेको होटल बन्द गर्ने निर्णय राणाहरुका लागि प्रतिकूल बन्न पुग्यो।

राष्ट्र बैंकको सुविधा कटौतीको निर्णय र बैंकले बढाएको ब्याजका कारण बन्द भएको होटल अन्नपूर्ण ठूलो आर्थिक संकटमा परेको हो। होटलको हिमालयन बैंकमा एक अर्ब ३० करोड रुपैयाँ हाराहारी ऋण छ। लामो समयदेखि सावाँ-ब्याज भुक्तानी रोकिएका कारण बैंकले ऋण तिर्न तारन्तार ताकेता गरिरहेको छ। 

कोभिडकालमा नेपाल राष्ट्र बैंकले ल्याएको राहत प्याकेजबाट लाभ उठाएको अन्नपूर्ण त्यो सुविधा खोसिएपछि झनै अप्ठेरोमा परेको छ। ५ प्रतिशत ब्याजको पुनर्कर्जा लिएको होटलले बैंकहरुबाट पनि सस्तो ब्याज दरमा ऋण लिएको थियो।

८/९ प्रतिशतको व्यवसायिक ऋणको ब्याज १३/१४ प्रतिशत पुगेको छ भने पुनर्कर्जा सुविधा पूर्ण रूपमा खोसिइसकेको छ। होटल संघकी अध्यक्षसमेत रहेकी राणा आफ्ना निकटलाई अहिले आएर होटल बन्द गर्ने निर्णयले ठूलो समस्या आएको बताउने गरेकी छन्।

चर्को ब्याजबाट मुक्ति पाउन संघको आड

होटल अन्नपूर्णकी कार्यकारी निर्देशक सृजना राणा होटलहरुको छाता संगठन होटल संघ नेपालको अध्यक्ष पनि हुन्।

उनको नेतृत्वमा गत चैत ६ गते एक कार्यक्रम गरिएको थियो, जसको उद्देश्य थियो- ‘कोभिड महामारीपछि सेवा संचालनमा आएपनि होटल उद्योग बैंकको चर्को ब्याजदरका कारण बन्द हुने अवस्थामा पुगेको’ जानकारी दिनु।

अहिले देशभरीका होटलहरु समस्यामा छन्, तर पाँचतारे होटलहरुले भने राम्रो कारोबार गरिरहेका छन्। कार्यक्रममा राणाले ‘सरकारले तथ्यांक नै नहेरी होटल तथा पर्यटन उद्योग लयमा फर्किएको भन्दै गरेको दाबी गलत भएको’ बताएकी थिइन्।

पाँचतारे होटलको सन्दर्भमा भने राणाको दाबी पुग्दैन। किनभने राजधानीका सबै पाँच तारे होटलले धेरथोर आम्दानी गरिरहेका छन्, केहीले नाफाबाट लाभांश बाँड्ने योजना बनाएका छन्।

अन्नपूर्ण होटललाई केन्द्रमा राखेर पत्रकार सम्मेलन गरिएको त्यहाँ सहभागी होटल व्यवसायीहरुले नै बिजमाण्डूलाई बताएका थिए। होटल बन्द गरेर ऋणको भारमा थिचिएकी राणा चाहन्थिन् – अन्नपूर्ण होटललाई राष्ट्र बैंकले पुनर्कर्जा देओस् र सरकारले पनि अन्य राहत प्याकेज ल्याओस्। 

कार्यक्रममा उनले भनेकी थिइन् ’पर्यटन क्षेत्रलाई अरु उद्योगसरह सुविधा दिइएको छैन। अहिले पनि बिजुलीको पैसा घरले जसरी तिर्नु परिरहेको छ।’ 

कोभिडयता पर्यटन क्षेत्र झन् झन् धरासायी हुँदै गएको उनले बताइन्। यस क्षेत्रका समस्याबारे पटक-पटक विभिन्न मन्त्रालयमा कुरा राख्दा पनि सुनुवाइ नभएको भन्दै उनले सरकारी संयन्त्र बलियो नभएको अवस्थामा उद्योग व्यवसाय अझै धरासायी हुँदै जाने बताइन्।

सृजनाको दाबी यसकारण गलत छ

कान्छोमध्येको पाँचतारे होटल अलफ्ट नाफामा छ। कोभिडजस्तो संकटलाई पार लगाउँदै छाया सेन्टरमा रहेको होटल अलफ्टले नाफा गरेर यसपालि लाभांश बाँड्ने योजना बनाएको छ।

नागपोखरीमा रहेको पाँच तारे होटल मेरियटले आम्दानी बढाएर ऋण घटाउँदै लगेको छ। साढे तीन अर्ब रुपैयाँसम्म ऋण पुगेको कम्पनीले अहिले २ अर्ब रुपैयाँमा झारेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ओरियन्टल (र्‍याडिसन) होटल, चन्द्रागिरी हिल्स, तारागाउँ (हायात) रिजेन्सी होटल र सोल्टी होटलको पनि आम्दानीमा सुधार भएको चालु वर्षको पुस मसान्तसम्मको वित्तीय विवरणमा देखिन्छ।

सूचीकृत नभएका याक एण्ड यती होस् या हिमालयन होटलले पनि राम्रो कारोबार गरिरहेका छन्। 

नौ महिनादेखि छटपटी

अन्नपूर्ण होटलको कार्यकारी अध्यक्ष कपिल शम्शेर राणा हुन् भने कार्यकारी निर्देशक सृजना राणा। सृजना होटल संघ नेपालकी अध्यक्षसमेत हुन्।

होटललाई आर्थिक भार परेको र बैंकले च्याप्दै लगेपछि सञ्चालकहरुले सम्पत्ति बिक्री गरेर ऋण तिर्ने रणनीति लिएको नौ महिना भइसकेको छ।

यो बीचमा उनीहरु सम्भावित खरीदकर्ता (पैसा छ भन्ने स्टाटस बनाएका) हरुसँग पुगेका छन्। सृजना राणाले प्रस्ताव गरेका तीन जना सम्भावित खरिदकर्तालाई बिजमाण्डूले भेटेको छ। उनीहरुका अनुसार, राणा अन्नपूर्ण होटलले ओगटेको ४२ रोपनी जग्गामध्ये जुनसुकै कुनाबाट पनि बिक्री गर्न तयार रहेको प्रस्ताव राणाले गरेकी छन्।

अन्नपूर्ण कफीसपदेखि पछाडि कुमारी हलसम्मको जग्गा, जमलतिरको पार्किङ क्षेत्रको जग्गा, मेनगेटबाट दक्षिणतिरको जग्गालाई टुक्र्याएर बिक्री गर्ने प्रस्ताव गरेकी छन्। 

सुरुमा जग्गाको मूल्य आनाको साढे ५ करोडसम्म राखिएको थियो। खरिदकर्ता नभेटिएपछि विस्तारै मूल्य घटाउन थालिएको छ।