
काठमाडौं। दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णले जग्गा बिक्रीमा राखेको छ। २०७६ चैतदेखि बन्द भएको होटलले ऋण तिर्न नसकेपछि जग्गा बेच्न लागेको छ।
सम्भावित खरिदकर्ताहरुसँग ८/९ महिनायतादेखि निरन्तर कुराकानी गरिरहेको अन्नपूर्णका सञ्चालकहरुले पहिलो चरणमा ६ रोपनी जग्गा बेच्ने पक्का भएको छ।
होटलको मेन गेटबाट दक्षिणको (केएफसी/पिज्जाहट पछाडि, क्यासिनोको अगाडि) ६ रोपनी जग्गा बिक्री गर्न लागिएको हो। होटलले कुल ४२ रोपनी क्षेत्र ओगटेको छ। केएफसीलगायतका सटर भएको जग्गा व्यक्तिको नाममा छ। त्योभन्दा पछाडिको जग्गा होटलको हो। केएफसी भएको जग्गा कपिल राणाको व्यक्तिगत नाममा छ।
स्रोतका अनुसार, आनाको २ करोड रुपैयाँका दरले जग्गा बिक्री गर्न लागिएको छ। जग्गा हिमालयन रिइन्स्योरेन्स कम्पनीले खरिद गर्दैछ। जग्गाका लागि होटलले ‘मेन गेट’ बाटै बाटो दिने छ।

जग्गामा हदबन्दीको अप्ठेरो छ। त्यो कसरी फुकुवा गर्ने भनेर दुवै पक्षबीच छलफल चलिरहेको छ।
अन्नपूर्णको कार्यकारी अध्यक्ष कपिल शम्शेर राणा हुन् भने कार्यकारी निर्देशक उनकी श्रीमती सृजना राणा हुन्। सृजना होटल संघ नेपालको अध्यक्ष पनि हुन्।
कोभिड महामारी बढेपछि सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन गरेको थियो। त्यसपछि अन्नपूर्णलगायत देशभरका सबै होटल व्यवसाय बन्द भएका थिए।
लकडाउन खुकुलो हुँदै गर्दा अन्य होटलहरु खुले भने अन्नपूर्णले फरक रणनीति लिएर बन्दलाई नै निरन्तरता दियो। अन्नपूर्णमा सुरुदेखि कर्मचारीको लफडा थियो। होटल बन्द भएपछि कर्मचारीलाई निकाल्न सहज हुन्छ भन्ने रणनीतिले उल्टो काम गर्यो।
होटलले हिमालयन बैंकसँग करिब १ अर्ब ३० करोड रुपैयाँ ऋण लिएको छ। कोभिडकालमा होटलले राष्ट्र बैंकबाट ५ प्रतिशत ब्याजको पुनर्कर्जा लिएको थियो भने सरकारबाट सहुलियतपूर्ण कर्जा पनि लिएको थियो। त्यसबाहेक हिमालयन बैंकसँग व्यवसायिक कर्जा लिएको थियो।
कोभिडकालमा दिइएको सुविधा राष्ट्र बैंकले पछि कटायो भने हिमालयन बैंकले पनि तरलता अभावका कारण ब्याज दर बढाउँदै लग्यो। एकै पटक दोहोरो मारमा परेपछि अन्नपूर्णले बैंकको ऋण तिर्न सकेको छैन।
अन्य होटलहरु ऋणमा भए पनि कोभिड लगत्तै खुलेका कारण आम्दानी गर्न सफल भए, जसका कारण उनीहरुले ऋण तिरिरहेका छन्। अन्नपूर्णले भने सम्पूर्ण सेवा बन्द गरेका कारण ऋण तिर्ने क्षमता गुमायो।

होटलले ऋण तिर्न छाडेपछि बैंकले तत्काल भुक्तानी गर्न दबाब दिइरहेको छ। राष्ट्र बैंकको नियामकीय प्रावधान अनुसार, ऋण तिर्न छाडेपछि समय अवधि हेरेर एक वर्षभित्र शतप्रतिशत नोक्सानी ब्यवस्थापन गर्नुपर्छ भने सम्पत्ति लिलाम गर्ने प्रक्रिया पनि थाल्नु पर्छ।
राष्ट्र बैंकको नियामकीय प्रावधानका कारण हिमालयन बैंकले होटल सञ्चालक कपिल र सृजनालाई तत्काल ऋण भुक्तानी गर्न दबाब दिइरहेको छ। यही दबाबका बीच सम्पत्ति बेचेर तिर्ने रणनीति अनुसार उनीहरुले नौ महिनादेखि खरिदकर्ता खोजिरहेका थिए।
तरलता अभाव, अर्थतन्त्रमा मन्दी र नगद प्रवाह अभावका कारण व्यक्तिले किन्ने क्षमता गुमाएका छन्। अहिले ठूलो सम्पत्ति जगेडा कोष (रिजर्भ) बैंक, बीमा कम्पनी लगायतले मात्र किन्न सक्ने अवस्था छ। त्यसै अनुसार हिमालयन रिइन्स्योरेन्सलाई जग्गा बिक्री गर्न लागिएको हो।
६ रोपनी जग्गामा ९६ आना हुन्छ। आनाको २ करोडका दरले किनबेच हुँदा कुल कारोबार १ अर्ब ९२ करोड रुपैयाँ पुग्छ। यसबाट १ अर्ब ३० करोड रुपैयाँ हिमालयन बैंकको तिर्नुपर्ने हुन्छ। बाँकी पैसा व्यवसाय सञ्चालनमा लगाउने राणाको योजना छ।
सुरुवातमा अन्नपूर्ण सञ्चालकहरुले आनाको साढे ५ करोड रुपैयाँ जग्गाको मूल्य तय गरेका थिए। ९ महिनाको अवधिमा मूल्य घटाउँदै दुई करोडमा झारिएको हो। राणा परिवारले अन्पूर्ण कफीसपदेखि पछाडिको (कुमारी हल) को जग्गा बिक्री गर्न खोजेका थिए। मूल्य महँगो भएकोले बिक्री भएन।

पछाडि (जमलको माउन्टेन होटल) को जग्गा पनि बिक्री गर्न खोजिएको थियो। मूल्य महँगो भएको र खरिदकर्ताहरुको चाहना अगाडिपट्टिको जग्गा भएकाले किनबेच भएन। अन्तत: एकजना व्यवसायीको पहलमा ६ रोपनी जग्गा किनबेच अगाडि बढ्न लागेको हो।