‘क्यास रिच’ सुमार्गी पनि संकटमा: विशालनगरको जग्गा आनाको २५ लाख घटाएर बिक्री गर्न खोज्दै

सुदर्शन सापकोटा
२०७९ चैत्र १५ गते १३:०९ | Mar 29, 2023
‘क्यास रिच’ सुमार्गी पनि संकटमा: विशालनगरको जग्गा आनाको २५ लाख घटाएर बिक्री गर्न खोज्दै


काठमाडौं। कुनैबेला ‘क्यास रिच’ ब्यवसायीका रुपमा चिनिएका अजयराज सुमार्गी आर्थिक संकटमा फस्दै गएका छन्। अरु अप्ठेरोमा पर्दा सम्पति खरीद गरेर उद्धार गर्दै आएका सुमार्गी अहिले आफैं सम्पति बिक्री गरेर संकट टार्नेतिर लागेका छन्।

Tata
GBIME
Nepal Life

सुमार्गीको काठमाडौंस्थित मीनभवनको घरजग्गा राखेर लिएको ऋण अहिले समस्यामा छ। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋण तिर्नका लागि सात दिने सूचना जारी गरिसकेको छ।

उनले लिएको करिव ३६ करोड रुपैयाँ ऋण अहिले तिरेनन् भने बैंकले लिलाम गर्ने अवस्था छ। त्यही सकसका बीच उनी आफ्नो जग्गाहरु बिक्री गरेर संकट टार्ने अवस्थामा पुगेका हुन्।

कुनैबेला उनले अप्ठेरोमा परेका सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङलाई उद्वार गर्न सुन्धारास्थित फाइभ स्टार होमटेल नाम दिइएको यो सिभिल लक्जरी रेसिडेन्स अपार्टमेन्ट खरीद गरिदिएका थिए। सुमार्गीले साढे तीन वर्ष अगाडि एक अर्ब ३० करोडमा त्यो सम्पति खरीद गरेका थिए।

पछिल्लो समय अर्थतन्त्र समस्यामा गएसँगै बैंक ब्याज बढेको र ब्यापार व्यवसाय पनि चल्न छाडेकाले सुमार्गी आर्थिक संकटमा परेका हुन्।

सुमार्गी अहिले विशालनगरस्थित ६ रोपनी जग्गा बिक्री गर्नका लागि खरिदकर्ता खोजिरहेका छन्।

उनले नबिल बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको बीचमा रहेको विशालनगरस्थितर जग्गा बिक्री गर्न खोजेका हुन्।

टेलिकम क्षेत्रका लगानीकर्ता रहेका सुमार्गी पछिल्लो दशक घरजग्गामा लगानी गर्नेमध्येका ठूला ब्यवसायी हुन्। उनको हिमालयन स्प्रिङ वाटर कम्पनी पनि छ। 

नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जामा गरेको कडाइसँगै एउटा क्षेत्रमा लिएको ऋण अर्कोमा प्रयोग गरेका सुमार्गी अप्ठेरोमा परेका हुन्। उनले चलेको मूल्यभन्दा घटाएर जग्गा बिक्रीमा राखेका छन्।

तत्कालीन मेगा बैंकले केही वर्षअघि सुमार्गीको त्यही ठाउँको जग्गा आनाको एक करोड १५ लाख रुपैयाँका दरमा खरिद गरेको थियो।

मेगा बैंकभन्दा अघि तत्कालीन नेपाल बंगलादेश (एनबि) बैंकले आनाको ७८ लाख रुपैयाँका दरले जग्गा खरीद गरेको थियो। त्यस ठाउँको पछिल्लो मूल्य मेगाले हालेको मान्ने हो भने एक करोड १५ लाख रुपैयाँ आना हो।

एनबि बैंक नबिलसँग मर्ज भइसकेको छ। मेगा बैंक नेपाल इन्भेष्टमेन्टसँग मर्ज भएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बनेको छ। दुवैले विशालनगरस्थित त्यो जग्गामा कर्पोरेट कार्यालय निर्माण गर्न चाहेका छन्। यी दुबै बैंक पनि बीचमा रहेको सुमार्गीको ६ रोपनी जग्गा खरिद गर्न इच्छुक छन्।

सुमार्गी त्यो जग्गा अहिले ८५ देखि ९० लाख रुपैयाँ आनाका दरले बिक्री गर्न तयार रहेको उनले प्रस्ताव गरेका कम्पनी तथा ब्यक्तिले बिजमाण्डूलाई बताए।

‘अहिले ८० लाख रुपैयाँ आनामै दिए पनि त्यति ठूलो प्रोपर्टी किन्न सक्ने पैसा ब्यक्तिहरुसँग छैन’ सुमार्गीले प्रस्ताव गरेका एक ब्यवसायीले सुनाए ‘ब्यक्तिगत रुपमा बिक्री नहुने देखिएपछि उनी संस्थागत लगानीकर्ता खोजिरहेको भन्ने सुनेको छु।’

सुमार्गीले आनाको १ करोड १५ लाख रुपैयाँको जग्गा ९० लाख रुपैयाँका दरले बिक्री गरेमा यसको कुल मूल्य ८६ करोड ४० लाख रुपैयाँ हुन आउँछ। ‘अहिले जग्गाको किनबेच छैन। ब्यक्तिगत रुपमा किन्न सक्ने हैसियत पनि अहिले कमै छ’ ती ब्यवसायीले भने, ‘उनले बीमा कम्पनीहरुलाई प्रस्ताव गरिरहेका छन्।’