भारतले गाडीमा फुल ट्यांक तेल नभर्न परिपत्र जारी, फुल ट्यांकमा के समस्या हुन्छ ?

शुक्र गिरी
२०७९ चैत्र १४ गते ०७:२४ | Mar 28, 2023
भारतले गाडीमा फुल ट्यांक तेल नभर्न परिपत्र जारी, फुल ट्यांकमा के समस्या हुन्छ ?

काठमाडौं। भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्रालयले सवारी साधनमा फुल ट्यांक इन्धन नभर्न आग्रह गर्दै नयाँ परिपत्र जारी गरेको छ।

Tata
GBIME
Nepal Life

यसअघि मन्त्रालयमा पेट्रोलियम डिलर एसोसिएसनबाट दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारी साधनको सेवा पुस्तिकामा ट्यांकीको क्षमता गलत लेखिएको भन्दै नापतौल महाशाखामा गुनासो पुगेको थियो।

इन्धन ट्यांकी क्षमता वास्तविक भोल्युम भन्दा १५-२० प्रतिशत कम रहेको गुनासो थियो। तर सवारी साधन उत्पादक कम्पनीहरुले भने ट्यांकीमा राखेको सो खाली स्पेस सुरक्षाका केही विषयमा ध्यान दिएरै राखिएको बताएपछि मन्त्रालयले सो निर्देशन जारी गरेको हो।

मन्त्रालयले सवारी चालकहरूलाई आफ्नो पेट्रोल ट्यांकीलाई पूर्ण रुपमा नभर्न आग्रह गरेको हो। सरकारले अटो उत्पादक कम्पनीहरुलाई पनि त्यहीअनुसार सुरक्षाको विषयलाई ध्यानमा राखेर कति क्षमता निर्धारण गर्ने भन्ने बारे निर्णय गर्न सुझाव दिएको छ।

त्यही अनुसार ग्राहकहरुलाई इन्धन भर्न सुझाव दिन पनि सरकारले अटो निर्माताहरूलाई आग्रह गरेको छ।

यस्तै, उत्पादक कम्पनीहरुले तोकेको ट्यांकीको क्षमता अनुसार इन्धन भर्दा ग्राहक र इन्धन पम्पहरुबीच लफडा हुने गरेको छ। नेपालमा पनि यस्ता घटनाहरु धेरै रिपोर्ट गरिएका छन्।

एक अटोमोटिभ इन्जिनियरका अनुसार फ्युल ट्यांकमा हुने अतिरिक्त स्पेयर भोल्युमको ठाउँमा केही सुरक्षाका उपायहरू समावेश गरिएका छन्। जस्तै भोल्युम विस्तारको अवस्थामा इन्धनलाई चुहावट हुनबाट रोक्न मद्दत गर्छ। फुल ट्यांक इन्धन हालियो भने ट्यांकीमा हुनुपर्ने उक्त खाली ठाउँ हुँदैन र इन्धन चुहावट हुने सम्भावना रहने ती इन्जिनियर बताउँछन्।

‘इन्धन पम्पहरूमा भूमिगत ट्यांकीहरूमा वायुमण्डलभन्दा कम तापक्रम हुन्छ। त्यसैले पेट्रोललाई गाडीको ट्यांकीमा हालेपछि त्यसलाई सामान्य तापक्रममा ल्याउन बाफ सिर्जना गर्नुपर्छ,’ उनले दावी गरे, ‘त्यसका लागि पनि ट्यांकीमा ठाउँ चाहिन्छ। यदि त्यो ठाउँ भएन भने इन्जिनको काम गराइमा असर पर्छ।’

यस्तै, फुल ट्यांक इन्धन भर्दा नोजलमा भएका इन्धनले पनि अत्यधिक हाइड्रोकार्बन प्रदूषण निम्त्याउने ती इन्जिनियर बताउँछन्। भन्छन, ‘यदि कुनै गाडी फुल ट्यांक गरिएको छ भने त्यो ओरालोतिर पार्किङ गर्दा चुहावट हुन सक्छ। जुन खतरनाक हुन सक्छ, किनभने पेट्रोल अत्यधिक ज्वलनशील पदार्थ हो।’

‘हामीले प्लाष्टिकको भाडामा पेट्रोल/डिजल भण्डारण गर्दा केही स्पेस राखेको अवस्थामा मात्र हावा बन्द हुन्छ, पछि भाँडा खोल्ने बित्तिकै ग्यास निस्कन्छ र हामीले उक्त भाँडा खोल्दा केही आवाज पनि सुनिन्छ। त्यो ग्यास इन्धनबाट निस्कने बाफ हो,’ ती इन्जिनियरले भने।

इन्जिनियरका अनुसार यसरी बाफ अट्नेगरी ट्यांकी खाली राखिएन भने सो बाफ उडेर वायुमण्डलमा जान्छ। यसो हुँदा ट्यांकमा भएको इन्धनलाई प्रेसर पुग्दैन। ट्यांकमा केही खाली ठाउँ राखेर इन्धन भरियो भने इन्धन पम्पको काम गर्ने प्रक्रियाबाट पाइपहरू मार्फत इन्धनसँगै कारको इन्जिनमा जान्छ।

यस्तै, ट्यांक फुल गर्दा स्वास्थ्यमा पनि जोखिम हुने उनी बताउँछन्।

‘जब इन्धन फुल ट्यांक गरिन्छ त्यसबाट आउने बाफ वायुमण्डलमा वाष्पीकरण हुन्छ, कारको वरपरको हावामा मिसिन्छ र कारको क्याबिनमा पनि पस्छ। भित्र तपाईले चालक वा यात्रुको रूपमा यसैमा सास फेर्नुहुन्छ,’ ती इन्जिनियरले भने।

उनका अनुसार यो पेट्रोलबाट चल्ने सवारीसाधनमा बढी लागु हुन्छ।

नेपालमा पनि सरकारले यसरी परिपत्र जारी गर्नुपर्ने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनको भनाइ छ। नेपाल आयल निगम, गुणस्तर तथा नापतौल विभाग, वाणिज्य विभाग वा अटोमोबाइल आयातकर्ताले सुरक्षालाई ध्यानमा राख्दै यस्तो परिपत्र जारी गरिनुपर्ने एसोसिएसनको धारणा छ।