
काठमाडौं। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा शिवनाथ पाण्डे नियुक्त भएका छन्। सानिमा र रिलायन्स मर्ज भएर एकीकृत कारोबार गरेपछि नयाँ सञ्चालक समितिले पाण्डेलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको हो।
पाण्डे केही समयअघि सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी थिए। उनलाई आगामी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरिएको हो। उनले सोमबारबाटै कार्यभार सम्हालेका छन्।
सूर्या लाइफमा कार्यकाल बाँकी छँदै उनी राजीनामा दिएर बाहिरिएका थिए। उनी नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश भएका थिए।
चार्टर्ड एकाउन्टेन्ट पाण्डेसँग राष्ट्र बैंकमा काम गरेको ३० वर्षे अनुभव छ। उनी २० वर्षदेखि व्यवस्थापकीय पदमा थिए।
३० वर्षे कार्यकालका कारण अवकाश भएका पाण्डे डेपुटी गभर्नरका लागि प्रत्यासी थिए। अन्तिम समयमा आएर उनको नियुक्ति रोकिएको थियो।