
काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने ५ लाख ६१ हजार ३ सय ७५ सवारीसाधन कारबाहीमा परेका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा उक्त संख्यामा सवारीसाधनलाई कारबाही गरेको हो।
कार्यालयका अनुसार सबैभन्दा बढी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार ४ सय ७२ कारबाहीमा परेका छन्। यस्तै, बढी भाडा लिने २ हजार १ सय ९०, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार ३ सय ४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार ५ सय ९, मादक पदार्थ सेवन गरी चलाउने ३७ हजार ८ सय ९६ सवारी कारबाहीमा परेका छन्।
यसैगरी, क्षमताभन्दा बढी यात्रु बोक्ने २ हजार ४५, रेड लाइटमा सवारी चलाउने १६ हजार ९ सय ६८, निषेध गरेको ठाउँमा सवारी मोड्ने १५ हजार २ सय ५९, लेन अनुशासन उल्लंघन गर्ने १९ हजार ८ सय १७, वानवेमा चलाउने २१ हजार १ सय २३, अवस्था ठीक नभएका सवारी चलाउने २८ हजार ८ सय ९९, चलाउन निषेध गरिएको ठाउँ र समयमा चलाउने १६ हजार २ सय ४७ सवारीलाई कारबाही गरेको हो।
पेटी र हेल्मेट नबाँधी चलाउने चालक २१ हजार ९ सय ८१, लापरवाही साथ सवारी चलाउने ७२ हजार १ सय ४४, कागजपत्र साथमा नराखी चलाउने ४४ हजार ३८, वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको सवारी चलाउने २० हजार ६ सय ६५, जथाभावी हर्न बजाउने १२ हजार ६ सय २२, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी सवारी राख्ने ३७ हजार २ सय ६५ र तीव्र गतिमा चलाउने २५ हजार ७ सय ८२ सवारीसाधन कारबाहीमा परेका छन्।
कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो समय उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको जानकारी दिए।
‘ट्राफिक नियम उल्लंघन गर्दा दुर्घटना संख्या बढेकाले विशेष कडाइ गरेका हौं,’ उनले भने।
हाल काठमाडौं उपत्यकाभित्र २० लाख हाराहारीमा सवारीसाधन आवतजावत गर्छन्। सवारी व्यवस्थापनका लागि काठमाडौं उपत्यका ट्राफिक कार्यालयले १ हजार ७ सय जना ट्राफिक प्रहरी परिचालन गर्दै आएको छ।