बुलेटको एजेन्सी अरुबाट खोसेर पाएसँगै नयाँ बिक्रेता शोरुम विस्तारमा, उपत्यकामा खोल्यो दुई शोरुम

बिजमाण्डू
२०७९ चैत्र ५ गते १३:३३ | Mar 19, 2023
बुलेटको एजेन्सी अरुबाट खोसेर पाएसँगै नयाँ बिक्रेता शोरुम विस्तारमा, उपत्यकामा खोल्यो दुई शोरुम


काठमाडौं। नेपाली बजारमा बुलेट मोटरसाइकलका नयाँ शोरुमहरु सञ्चालनमा आएका छन्। नेपाली बजारमा रोयल इन्फिल्डको नयाँ आधिकारिक बिक्रेता त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभले पाएको छ।

Tata
GBIME
Nepal Life

अरुबाट खोसिएर नेपाल एजेन्सी पाएपछि अल्फा शोरुम विस्तारमा आक्रामक देखिएको छ। कम्पनीले आइतबार उपत्यकाका दुई स्थानमा शोरुम संचालनमा ल्याएको छ।

कम्पनीले उपत्यकाभित्र नक्साल र बालकुमारीमा आफ्नो डेडिकेटेड शोरुम संचालनमा ल्याएको हो। उक्त शोरुमको त्रिवेणी ग्रुपका अध्यक्ष पुरुषोतमलाल संघाईले एक कार्यक्रमबीच उद्‍घाटन गरेका हुन्।

यी शोरुमहरुलाई कम्पनीले बाइकर्स होमको अवधारणामा निर्माण गरेको छ। शोरुमबाट बाइक, राइडिङ गियर, जेनुइन एसेससरिज, स्पेयर पार्ट्स बिक्री तथा बिक्री पछिका सेवाको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

शोरुममा रोयल इन्फिल्ड मोटरसाइकलका अतिरिक्त हेल्मेट, विभिन्न प्रकारका गियर र अन्य एसेसरिज समेत उपलब्ध हुनेछन्।

कम्पनीले हाल नेपालभरी नक्साल र बालकुमारी गरी ६ वटा स्थानमा डिलरहरु विस्तार गरेको छ। कम्पनीले उपत्यका बाहिर बुटवल, धरान, र इटहरीमा पनि शोरुम विस्तार गरी संचालनमा ल्याइसकेको जनाएको छ।

यसैगरी, आगामी चैतभित्र अन्य ४ वटा स्थानमा शोरुम संचालनमा ल्याउने तयारी रहेको कम्पनीले जानकारी दिएको छ। जसमा बिर्तामोड, टाडी, सुर्खेत र भक्तपुर रहेका छन्। साथै, असार महिनाभित्र अन्य ८ वटा स्थानहरुमा पनि शोरुम तथा डिलर विस्तार गरिने कम्पनीले जनाएको छ।

यो अवधिसम्ममा कम्पनीले रोयल इन्फिल्ड बिक्री र सर्भिसको लागि १८ वटा शोरुमहरु स्चालनमा ल्याउने योजना रहेको बताएको छ।

पहिले दुगड ब्रदर्स एन्ड सन्स अन्तर्गतको विवेक अटोमोबाइल्स प्रालिले लामो समय सम्म रोयल इन्फिल्डका बाइक बिक्री/वितरण गरिरहेकोमा हाल अल्फा अटोमोटिभ आधिकारिक बिक्रेता बनेको हो।

हाल नेपाली बजारमा रोयल इन्फिल्ड क्लासिक ३५० बिक्रीका लागि उपलब्ध छ। ब्याटल ग्रिन, गन मेटल ग्रे र ब्ल्याक कलरमा उपलब्ध क्लासिक ३५० को पहिलो दुई कलरको मूल्य ६ लाख ५० हजार र ब्ल्याक कलरको मूल्य ६ लाख ४० हजार रुपैयाँ छ।

नेपाली ग्राहकले रोयल इन्फिल्ड मेटियर ३५० समेत बुकिङ गर्न सक्ने अल्फा अटोमोटिभले जनाएको छ।

कम्पनीले आगामी दिनमा नेपालमा नै रोयल इन्फिल्ड बाइकको एसेम्बल्ड गर्ने योजना रहेको पनि बताएको छ। यसका लागि हाल प्लान्ट निर्माणको काम भइरहेको कम्पनीको भनाइ छ।