
काठमाडौं। पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटनापछि आन्तरिक उडानमा परेको प्रभाव विस्तारै कम हुन थालेको छ। यतीको जहाज पोखरामा दुर्घटना हुँदा ७२ जनाको निधनसँगै आन्तरिक उडानमा चढ्ने यात्रुको संख्या एकाएक घटेको थियो।
विस्तारै यात्रु बढेपनि अझै पुरानो अवस्थामा नपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले यात्रु क्रमश: बढे पनि पुरानै अवस्थामा भने नफर्किएको बताए।
‘एक सातायता आन्तरिक तर्फका उडानको माग उल्लेख्य बढेको छ। तर, अझै पनि यात्रुको संख्या कम नै छ,’ विमानस्थल प्रवक्ता सिटौलाले भने,’दुर्घटनापछि यात्रुमा देखिएको मनोवैज्ञानिक असर कम हुन थालेको भने देखिन्छ।’ उनका अनुसार सडक विस्तार र मर्मतले पनि यात्राको सहज विकल्पका रूपमा हवाई सेवामा यात्रु बढेका हुन्।
‘नारायणगढ-बुटवल, पोखरा-मुग्लिन, नागढुंगा-मुग्लिन सडक विस्तारको काम धमाधम भइरहेको छ। सडकबाट यात्रा गर्दा समयमा पुग्न नसकिने भएपछि यात्रुहरु जहाजमा सिफ्ट भएका हुन्,’ सिटौलाले बिजमाण्डूसँग भने, ‘पर्यटक पनि विस्तार भएकाले जहाजमा यात्रु बढेका हुन्।’
आन्तरिकतर्फ शनिबार १ सय ३५ वटा उडान-अवतरण हुँदै आएको विमानस्थल कार्यालयले जनाएको छ। गत वर्ष यही समयमा १ सय ७० वटा उडान हुने गरेको थियो। कार्यालयका अनुसार अहिले अधिकतम दैनिक १ सय ४५ वटासम्म उडान हुने गरेको छ।
विमानस्थल कार्यालयका अनुसार पछिल्लो समय बुद्ध, यती, श्री, सौर्य लगायत वायुसेवाको दैनिक क्रमशः ७०, २२, ११, ६ वटा उडान गर्दै आएका छन्। ती उडानमा यात्रुको अकुपेन्सी ८० प्रतिशतको हाराहारीमा छ। यतिको दुर्घटनापछि ६० देखि ७० प्रतिशतसम्म अकुपेन्सी झरेको थियो।
पोखरा उडान बढ्दै
यतीको दुर्घटनापछि पोखरा उडान ह्वात्तै घट्यो। बुद्ध वाहेक अरु एयरलाइन्समा उडान गर्नेको संख्या नगण्य भए। त्यही भएर कतिपय कम्पनीको उडान खाली नै थियो।
तर, पछिल्लो समयमा पोखराको उडान विस्तारै बढ्न थालेको छ। अहिले दैनिक दुई दर्जन उडान भइरहेको पोखरा विमानस्थलका संचालन शाखा प्रमुख जशोदा सुवेदीले जानकारी दिइन्।
आजको आजै टिकट काट्दा कुन गन्तव्यको भाडादर कति?
उडान गन्तव्य | सुरुवाती भाडादर |
काठमाडौं-पोखरा | ३५०० |
काठमाडौं-विराटनगर | ४५०० |
काठमाडौं-धनगढी | ६४०० |
काठमाडौं-नेपालगञ्ज | ५४०० |
काठमाडौं-भद्रपुर | ५१०० |
काठमाडौं-भरतपुर | ३५०० |
काठमाडौं-जनकपुर | ३४०० |
विमानस्थलमा रात्रिकालीन उडान सुरु भएसँगै आन्तरिक उडान संख्या बढेको उनले बताइन्। पोखरामा बुद्धले १३, यती ५, श्री र सौर्यले २/२ वटा दैनिक उडान गर्दै आएका छन्। यता पोखराबाट दैनिक ९ वटा स्टल उडान हुँदै आएको उनले जानकारी दिइन्।
उनका अनुसार पोखरामा दैनिक करिब तीन हजार यात्रुको आउजाउ हुँदै आएको छ।