
काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार ओरालो लागेको छ। अमेरिकामा सिलिकन भ्याली बैंकको पतनले विश्व बजार आर्थिक रुपमा सशांकित भइरहेको छ। त्यसले तेलको मूल्य घट्न थालेको हो।
सिलिकन भ्याली बैंक पतन भएपछि कच्चा तेलको मूल्य प्रति ब्यारल ५ डलरले ओरालो झरिसकेको छ। एसभीवी संकटमा पर्दा अमेरिकन टेक्सास डब्लुटीआई कच्चा तेलको मूल्य प्रति ब्यारल ७५ डलरमा कारोबार भएको थियो।
तर अहिले बुधबार सो डब्लुटीआई कच्चा तेलको मूल्य प्रति ब्यारल ७० डलरमा कारोबार भएको छ।
यस्तै ब्रेन्ट क्रुड आयलको मूल्य एसभीबी पतन हुने समयमा प्रति ब्यारल ८२ डलरमा कारोबार भइरहेको थियो। तर बुधबारसम्म उक्त क्रुडको मूल्य प्रति ब्यारल ६ डलरले घटेर ७६ डलरमा बारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २२ महिना अगाडिको अवस्थामा फर्किएको छ। डब्लुटीआई कच्चा तेलको मूल्य पनि २२ महिना अगाडिको अवस्थामा पुगेको छ। यसको मूल्य सन् २०२१ को जुन महिनामा प्रति ब्यारल ७१ डलरमा कारोबार भएको थियो। बुधबार सो कच्चा तेलको मूल्य प्रति ब्यारल ७० डलरमा कारोबार भएको छ।
यस्तै, सन् २०२१ को सेटेम्बर महिना ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारल ७८ डलरमा कारोबार भएको थियो। यो १९ महिना अगाडिको अवस्थामा पुगेको छ।
नेपाल आयल निगमका अनुसार यस पटक भारतबाट मूल्य घटेर आउने भएको छ। निगमका उपनिर्देशक विनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारका कारण मूल्य घटेर आउने बताए।
उनका अनुसार पेट्रोलियम पदार्थमा प्रति लिटर १ रुपैयाँदेखि २ रुपैयाँले मूल्य घटेर आउन सक्ने देखिएको छ। अहिले निगमलाई पेट्रोलमा ७ रुपैयाँ र डिजलमा १४ रुपैयाँ नाफा छ।