
काठमाडौं। वित्तीय संस्थाहरुको विरोध बढ्न थालेपछि ऋण असुलीमा समस्या देखिन थालेको छ। लगानी उठाउन हम्मे हम्मे पर्न थालेपछि पुस मसान्तमा लघुवित्तहरुको निष्क्रिय कर्जा उल्लेख्य बढेको छ।
राष्ट्र बैंकका अनुसार असार मसान्तमा २.५६ प्रतिशत रहेको खुद्रा कर्जा प्रदायक लघुवित्तहरुको निष्क्रिय कर्जाको अनुपात ८२.६२ प्रतिशत बढेर ४.६८ प्रतिशत पुगेको हो।
सञ्चालनमा रहेका ६० वटा खुद्रा लघुवित्तको निष्क्रिय कर्जा पुस मसान्तमा १८ अर्ब ३४ करोड रुपैयाँ नाधेको छ। असोज मसान्तमा उनीहरुको खराब कर्जा १४ अर्ब ७३ करोड अर्थात ३.७१ प्रतिशत थियो।
पुस मसान्तसम्म आइपुग्दा थोक कर्जा प्रदायक लघुवित्तहरुको निष्क्रिय कर्जाको अनुपातमा वृद्वि भएको देखिन्छ। कुल कर्जा तथा सापटीमध्ये निष्कृय कर्जा ५२ करोड अर्थात ०.८७ प्रतिशत पुगेको छ।
असार मसान्तमा ४ वटा थोक लघुवित्तहरुको खराब कर्जा अनुपात ०.४१ प्रतिशतमा सीमित थियो।
पुस मसान्तमा समग्रमा लघुवित्तहरुको जोखिम भारित सम्पत्तिको अनुपातमा प्राथमिक पुँजी १२.२३ प्रतिशत र पुँजीकोष १३.४५ प्रतिशत रहेको छ।